असारको महिना । अर्थात खेती-किसानीको याम । भनिन्छ, मानो खाएर मुरी उब्जाउने बेला हो यो । यतिबेला अन्नबाली लगाउने चटारोले छोप्छ, किसानलाई ।
मनसुन सक्रिय भइसकेको छ । दर्के झरी परिरहेको छ । यस्तोबेला हिलोमा खेल्दै धान रोपेको, मकैको पात बजाउँदै मेलापात हिँडेको कुराले धेरैलाई नोस्टाल्जिक बनाउँछ । जस्तो कि, प्रकास सपूतलाई ।
अहिलेका चल्तापूर्जा गायक हुन्, प्रकास । उनको गीत र गायकीको तारिफ गर्नै पर्दैन । भनिन्छ नि, अकबरी सुनलाई कसी लगाउनु पर्दैन । ‘बोल माया’, ‘गलबन्दी च्यातियो’ हुँदै ‘मेरो पनि होइन र यो देश’सम्म आइपुग्दा उनले दर्बिलो र गर्बिलो चिनारी बनाइसकेका छन् ।
हरेक पटकको सिर्जनामा फरकपन ल्याउन सक्नु र गीतको मर्म अनुसार आफैले भिडियो तयार गर्नु उनको अर्को विशेषता हो । गाउँघरको भाका र लवजलाई टपक्कै टिपेर गीत रचना गर्ने खुबी छ उनीसँग । त्यसो त संगीतकर्मबाटै उनले आफ्नो गाउँघरलाई पनि चिनाएका छन् । गीतको सन्दर्भ र दृश्यांकनका लागि समेत उनले गाँउ छाडेका छैनन् । आफ्नै घर आँगन, छिमेकीसँग एकाकार भएरै संगीतकर्ममा रमाएका छन् ।
उनै प्रकासले यसपाली मेलापात वा खेती किसानीको कुरा सम्झिएका छन् । सामाजिक सञ्जालमा ‘गाउँका कुरा, घाउका कुरा’ शीर्षकमा उनले सम्भिmएका छन्, खेती किसानीसँग जोडिएका आफ्ना अतित ।
पर्मका कुरा
प्रकास सपूत लेख्छन्, ‘हामी पर्म लगाउँथ्यौं । यो भनेको चाहिँ सप्पै मिलेर पालै पालो सप्पैकोमा काम सकने उपाय हो । हुद्दा पनि भनिन्छ यसलाई । कसैले बारीमा मल बोकाउथे, कसैले बाली कटाउथे, कसैले दाउरा बोकाउथे । कसैले के कसैले के । ८/१० जना उमेर मिल्ने, मन मिल्ने वैंशका हमी केटाकेटीहरु भएपछि हाँसिमजाकमा काम सकिन्थ्यो ।
बिहान ९ बजेभित्र पर्म सकेर हतार हतार तयार भएर त्यही ग्रुप स्कुल गइन्थ्यो । हल्ला गर्दै । दुःखका दिन थिया ति । दुःखमै रमाइलो पनि ।’
पुष-माघको दिनमा चाहिँ कठिन हुने उनको अनुभव छ । कठ्यांग्रिने जाडो याम, त्यसमाथि छोटो दिन । विद्यालय पुग्नै हतारो । घाँस दाउरा गर्दा हात खुट्टा कक्रिएर चोट लाग्ने जोखिम । प्रकास लेख्छन्, ‘लास्टै गाह्रो चाहिँ पुस माघमा हुन्थ्यो । खेतीपातीको काम कम हुने भएकाले पर्म लगाउँदा धेरैले दाउरा स्याला कटाउन पठाउँथे । हामी बिहान ४ बजे उठेर हुल बाँधेर जंगल जान्थ्यौं । ३/४ बजे उठेर हिँडिएन भने स्कुल भ्याउन सकस पथ्र्यो । बढि कटानी भयो भनेर गाउँ नजिकको जंगल पुरै बन्द गरिएको थियो । ठाडै उकाले चढेर नजिक नजिकका दुई वटा डाँडा काटेपछि बल्ल दाउरा स्याला लिन पाइने बन आउथ्यो ।
हिँउदको छोटो दिन भएकाले बिहान झिसमिसे अँध्यारो हुन्थ्यो भने हिँउ बराबर शितले हात खुट्टा कक्रक्कै हुन्थ्यो । त्यसमाथि कहिले काहिँ झुक्किएरी आसि (हँसिया)ले हात काट्थ्यो । चिसोमा चोट लाग्नु साहर््रै पीडादायक हुन्छ । यसरी ग्रुपमा कसैले हात काट्यो भने हाम्रो सुझाव हुन्थ्यो, तीतेपाती (एक प्रकारको वनस्पती झार) लगाउनु च्वाट्टै निको हुन्छ ।’
उनी तीतेपातीको औषधिय गुणबारे लेख्छन्, ‘हुनपनि काटेको ठाउँमा तीतेपाती दलेर अजंगको भारी बोकर हामी घर र्फकन्थ्यौं । दुखाई कम हुन्थ्यो यसले । तर काटेको ठाउँमा तीतेपाती लगाउन ठूलै हिम्मत गर्न पर्छ । किनभने यसले घाउ साह्रै चहराउँछ । एक राउन्ड त खपिनसक्नु हुन्छ । मुर्छै पार्छ । तर, केही बेरमा विस्तारै घाउलाई सितल पार्दै लान्छ ।’
यही प्रसंगलाई जोड्दै उनले जीवन दर्शनका कुरा उप्काएका छन् । ‘हाम्रा जीवनमा पनि कतिपय सम्बन्धहरुले, कतिपय परिस्थितीहरुले मनमा लगाउने घाउहरु हामी दुखाएरै बस्छौं । निको पार्ने उपाय भेटाउँदैनौं । कि त घाउलाई झन बढि दुखाउने डरले भेटाएका उपाय पनि अनपनाउँदैनौं । तर, मनको घाउ निको पार्न हिम्मत नै गर्नुपर्छ । जसरी चोट लागेर दुखेको ठाउँमा तीतेपाती लगाउँदा झन बढी दुख्छ र विस्तारै घाउको दुखाई कम गर्छ । मनको घाउका लागि पनि एकपटक खपिनसक्नु दुखाउने तर पछि सकैका लागि च्वाट्टै पार्ने उपायहरु छन् कि ? खोज्नुहोस् है ।’
from Online Khabar https://ift.tt/3d0TXYa


0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।