ब्रेकिङ न्युज

6/recent/ticker-posts

हेभी मेसिन चलाउन तयार १० महिला

२४ भदौ, काठमाडौं । इटहरीकी दीपा अधिकारी अहिले भक्तपुरको सानोठिमीस्थित सीटीजन प्राविधिक शिक्षालयमा ब्याकहोय लोडर चलाउन सिकिरहेकी छिन् । दुई छोराछोरी हुर्काउँदै इटहरीमा ई-रिक्सा चलाइरहेकी उनी एस्काभेटर लगायत हेभी मेसिन उत्पादक कम्पनी जेसीबीको ब्याकहोय चालक बन्ने मौका पाउनासाथ भक्तपुर आएकी हुन् ।

महिलाहरु घरमै सीमित हुनुहुँदैन भन्ने बिचार राख्ने उनले यसअघि इटहरी उप-महानगरपालिकाको ब्याकहोय लोडर चलाउन सिक्नकै लागि केही समय सह-चालक भएर काम गरेकी थिइन् ।

त्यसरी इटहरीमा सिक्दासिक्दै जेसीबीले छात्रवृत्तिमा महिलालाई ब्याकहोय लोडर चलाउन सिकाउन लागेको सूचना पाएर भक्तपुर आएको उनले बताइन् । एक महिनाको सैद्घान्तिक र प्रयोगात्मक ज्ञानले ब्याकहोय मेसिन चलाउन आफूलाई सिपालु बनाएको उनी बताउँछिन् ।

‘अब लाइसेन्स पनि लिएर यो सिपलाई व्यवहार उतार्ने, अरु महिलालाई पनि सिकाउने हो’, उनी भन्छिन् ।

दीपाकै समूहमा ब्याकहोय चालक बनिरहेकी छन्, दोलखाकी इन्दिरा तामाङ पनि । सिलाइ-कटाइ सिकेर सामान्य आम्दानी गरिरहेकी उनी ‘नयाँ’ काम गर्ने सोचमा थिइन् । ‘सिलाइ-कटाइ सिकाउने दिदीले नै जेसीबीले तालिम दिन लागेको सुनाएर फारम भरेकी थिएँ’, उनी भन्छिन्, ‘अब त अरु नौजना दिदीबहिनीसँगै म पनि डोजर चलाउन सक्ने भइसकें ।’

ब्याकहोय लोडर (डोजर) चलाउन सिक्छु भन्दा टिपर चालक श्रीमानले नपत्याएको इन्दिरा बताउँछिन् । ‘कुनै पनि काम सिकेरै गर्ने हो, सिकेपछि नसक्ने कुरै हुँदैन भन्दै तालिमको फारम भरें’, उनी भन्छिन्, ‘अब डोजर चलाएरै कमाइन्छ भन्ने विचार छ ।’

दोलखाकी इन्दिरा तामाङ ।

इन्दिराले ब्याकहोय चलाएको भिडियो फेसबुकमा राखेकी थिइन् । त्यसमा आएको सबैजसो कमेन्टले आफूलाई उत्साहित र अझ आँटिलो बनाएको अनुभव उनले सुनाइन् ।
दीपा र इन्दिरासहित १० महिलाले चलाउने ब्याकहोय पूर्वाधार निर्माणमा प्रयोग हुने हेभी मेसिनभित्र पर्छ । उनीहरुमा यो काममा हात हाल्ने आत्मविश्वास पनि पलाइसकेको छ । ‘अब पहिला लाइसेन्स लिने हो’, इन्दिरा भन्छिन्, ‘त्यसपछि भिरपहरा खनेर सडक बनाउन निस्कने हो ।’

तालिम दिने संस्थाले लिने अन्तिम परीक्षाको तयारीमा जुटेका यी १० महिला त्यसपछि ब्याकहोय/एस्काभेटर चालक अनुपमति पत्र लिन जुट्नेछन् । यीमध्येकी एक मन्जु राई यसअघि साइकल चलाउन पनि जान्दैनथिइन् । पहाडी जिल्ला खोटाङकी उनी ब्याकहोय सिक्न डराउँदै सानोठिमी आएपछि प्रशिक्षकहरुले ब्याकहोय चलाउन साइकलको सिप चाहिन्न भन्दै आँट भरिदिएको बताउँछिन् ।

‘नभन्दै, विस्तारै पारा आउन थाल्यो’, उनी भन्छिन्, ‘अब त एस्काभेटर पनि मजाले चलाइन्छ । मेरो लागि यो नसोचेको सीप हो । अब त वैदेशिक रोजगारीमै गएपनि हेभी मेसिन नै चलाउने हो ।’

प्रशिक्षकलाई नयाँ अनुभव

जेसीबीका वरिष्ठ प्रशिक्षक रसिन महर्जनले तालिममा सहभागी सबै महिलाले रुचिका साथ मेसिन चलाउन सिकेको बताए ।

‘कुनै पनि सिप सम्बन्धी तालिमको सफलता सहभागीहरुले कत्तिको रुचिका साथ सिके भन्नेमा भर पर्छ’, उनले भने, ‘यो पटक हामीले महिलालाई हेभी मेसिन चलाउने सिप सिकाउन गाह्रो हुँदैन भन्ने नयाँ अनुभव गर्न पायौं ।’

उनका अनुसार, एमएडब्लु अर्थ मुभर्स प्रा.लिद्वारा संचालित स्किल्स एकेडेमी, स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम नेपाल -सीप) र न्यूनतम सुविधाविहीन बालबालिका लागि शैक्षिक कार्यक्रम नेपाल (युसेप) को सहकार्यमा पहिलो पटक यो निःशुल्क तालिम संचालन गरिएको हो ।

तस्विर तथा भिडियो शंकर गिरी



from Online Khabar https://ift.tt/3E3etDq

Post a Comment

0 Comments