२१ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई खेल खेल्दैछ ।
त्यस अन्तर्गत नेपाल र पपुवा न्यु गिनीबीचको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)आज हुँदैछ ।
नेपाल र पीएनजीबीच पहिलो ओडीआई मंगलबार बिहान नेपाली समय अनुसार ११:१५ बजे ओमान एकेडेमीस्थित अल अम्रित क्रिकेट मैदानमा हुनेछ ।
खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ ।
यस्तै शुक्रबार हुने दोस्रो खेल भने डे नाइट हुनेछ । नेपालले पहिलोपटक डे नाइट ओडीआई खेल्न लागेको हो ।
त्रिकोणात्मक सिरिज र पीएनजीसँगको खेलका लागि नेपाली क्रिकेट टोली अगष्ट २४ मा ओमान पुगेको थियो । त्यसपछि नेपालले ओमानमै अभ्यास गरिरहेको छ ।
नेपालले पीएनजीसँग पहिलोपटक ओडीआई खेल्न लागेको छ । संयोगबस सन् २०१८ मा जिम्बाब्वेमा भएको एक दिवसीय विश्वकप छनोटमा पीएनजीलाई नै हराएर नेपालले पहिलो पटक ओडीआई मान्यता पाएको थियो ।
त्यसपछि नेपाल र पीएनजीबीच पहिलोपटक खेल हुन लागेको हो । नेपालले त्यसपछि नेदरल्याण्ड्स, युएई, ओमान र अमेरिकासँग मात्र ओडीआई म्याच खेलेको छ । पीएनजी नेपालले ओडीआई खेल्न लागेको पाँचौ टिम हो ।
नेपालले अहिलेसम्म पीएनजीसँग चार खेल खेल्दा एकपटक मात्र जित हात पारेको छ । सन् २००५ मा भएको एक दिवसीय विश्वकप छनोट र २०१५ मा भएको र विश्वक क्रिकेट लिगको दुई खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो ।
पछिल्लो पटक २०१८ मा भएको खेलमा भने नेपाल विजयी भएको थियो ।
सन् २०२० फेब्रुअरीमा काठमाडौंमा भएको विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजपछि नेपालले पहिलोपटक ओडीआई खेल्न लागेको हो । काठमाडौमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र अमेरिकाले प्रतिस्पर्धा गरेका थिए ।
नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज यही सेप्टेम्बर १३ देखि ओमानमै हुँदैछ ।
from Online Khabar https://ift.tt/3lgRCfp
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।