ब्रेकिङ न्युज

6/recent/ticker-posts

हनुमानढोका संग्रहालय-महानगर टकराव : पर्यटकबाट संग्रहालयले पनि शुल्क उठाउने

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र हनुमान ढोका दरबार संग्रहालय विकास समितिबीच पर्यटक प्रवेश शुल्क लेनदेनको विषयमा टकराव बढेको छ ।

पूर्वसहमति अनुसार महानगरपालिकाले पर्यटकबाट उठाएको साढे तीन करोड रुपैयाँ नदिएको आरोपसहित समितिले सम्झौता खारेज गर्दै आफैँले पर्यटकबाट प्रवेश शुल्क उठाउने निर्णय गरेको हो । अब असोज १ गतेदेखि सार्क मुलुक र तेस्रो देशका नागरिकले संग्रहालय प्रवेशका लागि अतिरिक्त तीन सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सम्झौता अनुसार महानगरपालिकाले प्रत्येक विदेशीलाई हनुमानढोका दरबार क्षेत्र र संग्रहालयमा प्रवेशको लागिसार्क मुलुकका नागरिकलाई १५० रुपैयाँ र सार्क बाहिरका विदेशीलाई ७५० रुपैयाँ उठाउने निर्णय भएको थियो । जसमध्ये सार्क मुलुकका नागरिकको जनही ५० रुपैयाँ र बाहिरका पर्यटकबाट उठेको रकमको जनही २५० रुपैयाँ संग्रहालयलाई दिने सहमति भएको पुरातत्व विभाग अन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालले जानकारी दिए । पछि सार्क बाहेकका मुलुकबाट आउने पर्यटकबाट महानगरले एक हजार रुपैयाँ उठाउन थालेको थियो ।

महानगरपालिकाले पर्यटक सेवा शुल्क शीर्षकमा २०७६ साल चैत ११ गते लकडाउन हुनुअघि नै साढे ३ करोड रुपैयाँ तिर्न बाँकी रहेको भनेर पत्र पठाए पनि महानगरपालिकाले पैसा तिर्न अटेरी गरेको आरोप हनुमानढोका दरबार संग्रहालयले जनाएको छ । संग्रहालयको वार्षिक १० करोड आम्दानी मध्ये यो शीर्षकमा मात्रै वार्षिक पाँच करोड आम्दानी हुन्छ । यसरी बजेटको मुख्य स्रोत नै अनियमित भए पछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको नेतृत्वमा बसेको समितिको बैठकले महानगरसँगको सम्झौता रद्द गर्दै आफैँले शुल्क उठाउने निर्णय गरेको खनालले बताए ।

हनुमान ढोका दरबार संग्रहालय विकास समिति एउटा स्वायत्त संस्था हो । यही निकायले नै दरबार क्षेत्रभित्रका विभिन्न मन्दिर एवं सम्पदाको पुनर्निर्माण गर्ने गर्छ । यसले स्वदेशी पर्यटकबाट प्रतिव्यक्ति ३० रुपैयाँको दरमा संकलन हुने शुल्क, विदेशी पर्यटकको प्रवेश शुल्क, दरबार क्षेत्रमा रहेका पसल कबोलबाट उठ्ने बहाल रकम र मौज्दात रकम बैंकमा राख्दा प्राप्त हुने व्याजबाट आफ्नो वार्षिक बजेट बनाउने गर्छ । तर मुख्य हिस्साको रुपमा रहेको महानगरपालिकाबाट आउने बजेट रोकिँदा आगामी आर्थिक वर्षदेखि सबै पुनर्निर्माणको काम ठप्प हुने जोखिम बढेकोले आफैँ शुल्क उठाउने निर्णय गर्न बाध्य भएको खनालले जानकारी दिए ।

पैसा दिने कुरा चल्दैछ : महानगर

उता काठमाडौं महानगरपालिकाले हनुमान ढोका संग्रहालय विकास समितिले एकलौटी निर्णय गरेर आफैँ शुल्क उठाउने निर्णय गर्नु दु:खद रहेको बताएको छ । महानगरको हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले महानगरले दिन बाँकी पैसा लकडाउनका कारण आर्थिक स्रोत कमजोर भएकोले दिन नसकेको स्पष्ट पारे । उनले संग्रहालयलाई पैसा दिने विषयमा कुराकानी भइरहेको बेलामा यसरी एकलौटी निर्णय गर्नु दु:खद रहेको बताए ।

शाक्यले आफैँ पैसा उठाउने निर्णयको बोधार्थ आफूहरुलाई आएको भन्दै यस विषयमा मेयर विद्यासुन्दर शाक्यलाई समेत जानकारी दिइसकिएको बताए । उनले यो निर्णय कुन तहबाट भएको हो र त्यो कानुनी रुपमा कति जायज छ ? भन्ने विषयमा छलफल गरेर आवश्यक निर्णय गर्ने तयारीमा महानगर रहेको उनले बताए ।

संग्रहालय खुल्यो

यसैबीच हनुमान ढोका दरबार संग्रहालय सर्वसाधारणको लागि खुला भएको छ । भदौ २२ गतेदेखि संग्रहालय खोल्ने नेपाल सरकारको निर्णयसँगै सर्वसाधारणको लागि संग्रहालय खुला गरिएको दरबार हेरचाह अड्डाका प्रमुख खनालले जानकारी दिए ।



from Online Khabar https://ift.tt/2Xk9FsQ

Post a Comment

0 Comments