ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपालमा गाँजाबाट समृद्धि सम्भव छ

हामी नेपालीहरूको सनातन धर्मअनुसार तीनवटा देवताहरू ब्रहृमा, विष्णु र महेश्वरको विशेष महत्व रहेको बुझिन्छ । महेश्वर भनेका शिव र उनले मन पराउने वस्तु गाँजा हो भने उनको क्रीडास्थल हिमालय पर्वत हो । अतः गाँजाको उद्गमस्थल सेन्ट्रल एसिया र विशेषतः हिमालयको वरपर मानिन्छ । गाँजा भगवान् शिवले सेवन गर्ने भएकाले विैदिक सनातन संस्कृतिमा यसको विशेष महत्व छ र यसले सनातन धर्मावलम्बी जनमानसमा जरो गाडेको छ । महाशिवरात्रिमा विश्वभरका साधु जोगीहरू पशुपतिनाथको दर्शन तथा गाँजा सेवन गर्न नेपाल आउने गर्छन् र नेपाली घरघरमा अद्यापि भगवान् शिवका नाममा गाँजाबाट निर्मित विशेष प्रकारको भाङ् सेवन गर्ने चलन छ । त्यसैले गाँजाको उपयोग गर्ने क्षेत्र पनि विशेषतः हिमाली क्षेत्र र त्यसको सेरोफेरो मात्र हुनसक्छ । अनि गाँजाले यहाँका संस्कृतिको झल्को दिन्छ ।

परिचय :

क्यानाविनेसी वानस्पतिक परिवारमा पर्ने झार वर्गको वनस्पति हो गाँजा । यसको वानस्पतिक नाम क्यानाविनस सटिभा हो । क्यानाविनस यसको जेनेटिक नाम र सटिभा यसको स्पेसिज नाम हो । क्यानाविनेस वर्गभित्र खासमा कति प्रजाति छन् भन्ने कुरामा वनस्पतिविद्हरूबीच नै मतैक्य छैन । यसबारे दुई प्रकारको मत देखिन्छ । पहिलो मतअनुसार एक मात्र प्रजाति (स्पेसिज) र यस अन्तर्गत ३ उपप्रजातिहरू क्रमशः सटिभा, इन्डिका र रुड्रेलिस हुन् भनिएको छ । अर्काे मतअनुसार यिनीहरू उपप्रजाति नभई तीनवटा प्रजाति क्यानविनेस इन्डिका, क्यान्विनस सटिभा र क्यानविनस रुड्रेलिस हुन् भनिएको छ । वनस्पति गाँजामा भाले र पोथीे छ । त्यसकारण यसलाई वानस्पतिक भाषामा डिओसिस् वनस्पति भनिन्छ । गाँजाका पात, फल, फूल, सबै औषधीका रूपमा प्रयोग गरिन्छ भने डाँठबाट निकालिने रेसा (पाट) बाट डोरी र कपडासमेत बनाइन्छ ।

गाँजाको ऐतिहासिक महत्त्व

नेपालमा गाँजा परापूर्वकालदेखि नै दुई रूपमा प्रयोग हुँदै आएको छ । औषधीय प्रयोगबाहेक गाँजाको पात र फूलसमेतको झुप्पा सुकेपछि चिलिममा भरेर धुम्रपानका रूपमा पिउने चलन थियो भने आधुनिक कपडाको विकास हुनुभन्दा पहिले कपासबाहेक यसका रेसाबाट बनेका कपडा पनि लगाउने गरिन्थ्यो । विशेषतः शिवरात्रिमा गाँजाको प्रयोग गर्ने चलन शिवकालदेखि नै चल्दै आएको मानिन्छ ।

गाँजा सम्बन्धी अनुसन्धाकर्ताहरूले करीब १२ हजार वर्ष पहिलेदेखि गाँजाको प्रयोग विविध रूपमा हुँदै आएको प्रमाण फेला पारेका छन् । वैज्ञानिक तथ्यअनुसार सर्वप्रथम १२ हजार वर्षपहिले मध्यएसिया अहिलेको पूर्वी चाइनामा गाँजालाई पहिलो पटक घरेलु प्रयोग गरिएको थियो । त्यहाँबाट ईपू २००० तिर पश्चिमी चीनतर्फ लगियो । त्यहाँबाट पनि तीनवटा बाटा भएर अन्य देशहरूमा विस्तार हुँदैगयो । एउटा बाटाबाट पूर्वी हिमाली क्षेत्र, दक्षिणपूर्व एसियातिर भयो भने अर्काे बाटाबाट युरोप र तेस्रो बाटाबाट अफ्रका महादेशमा विस्तार भयो । सन् १७औं, १८ औं शताब्दीमा अफ्रिकाबाट दक्षिण अमेरिका पुग्यो र सन् १९२० पछि मात्रै क्यानाडामा पुगेको मानिन्छ ।

उपर्युक्त तथ्यका आधारमा दक्षिणपूर्व एसियामा ईशापूर्व २००० वर्षपहिले आइपुगेको देखिन्छ । सायद भगवान् शिवले सर्वप्रथम प्रयोग गरेकाले र उनको पि्रय भएकाले यसलाई शिवबुटी पनि भनिन्छ । त्यसर्थमा गाँजा यस दक्षिण एसियाको हिमाली क्षेत्रमा उत्पत्ति भएको मान्नु पर्ने हुन्छ भनी एकजना वायोपत्रकारको भनाइ छ । तसर्थ यस क्षेत्रमा पाइने गाँजाको विविधता पहिचान र सङ्कलन गरी त्यसको डिएनए सिक्वन्सिङ् गरेर वैज्ञानिक आधार तयार गरी गाँजाको उत्पत्तिस्थल नेपालनै रहेको तथ्य पेस गर्नसके नेपाली गाँजा संसारभरका लागि आकर्षणको विषय हुनजान्थ्यो । त्यसका लागि यहाँ एउटा गाँजा अनुसन्धान निकाय तयार गर्नुपर्छ ।

नेपालमा सन् १९७० को दशकसम्म गाँजाको खेती गर्न, औषधी र आनन्दप्रदका रूपमा सेवन गर्न र ओसार पसार गर्न कानुनी बन्देज थिएन । त्यसैले ६० को दशकमा गाँजाबाट आनन्द लिन पश्चिमेली युवकहरू, इन्डियन जोगीहरू नेपाल आउने गर्थे । त्यसबेला नेपाली गँाजाका लागि विश्वप्रसिद्ध थियो । त्यसैले त्यसबेला पर्यटन पनि समृद्ध थियो । अहिलेका झोंछे र बसन्तपुर पर्यटकका लागि विशेष आकर्षणका केन्द्र थिए । त्यहाँका होटेल र रेस्टुराँहरूमा गाँजाका परिकारहरूको मेन्यु देख्न पाइन्थ्यो । त्यसबेला गाँजाको बिक्री वितरणबाट नै राजस्वमा लाखौं डलर रकम जमा हुन्थ्यो । नेपालको गाँजा अब्बल दर्जाको मानिन्थ्यो र नेपालबाट विदेशतिर निर्यात पनि हुन्थ्यो । नेपालबाट निकासी हुने गाँजा इन्डिया, युरोप, अमेरिकासम्म पुग्थ्यो ।

यसरी नेपालको गाँजाको प्रभाव बाहृय मुलुकसम्म परेको भएपनि त्यतिबेलासम्म गाँजाबारे अहिले जस्तो अनुसन्धान भइसकेको थिएन । त्यसैले दबाबमा यसलाई लागू पदार्थका रूपमा मात्र लिन थालियो । त्यसैले पश्चिमेली देशहरूका दबाबमा वि सं २०३३ अर्थात् सन् १९७६ मा नेपालले लागू औषध नियन्त्रण ऐन पास गरेर गाँजाको सबै प्रकारको प्रयोग, निर्यात तथा खेतीमा समेत प्रतिवन्ध लगाइयो । गाँजाको उत्पादन र व्यापारको खुला परिवेश अन्त्य गरियो । गाँजाका कारण कृषि र पर्यटनबाट जनस्तरमा हुने आम्दानी समाप्त भयो ।

गाँजा वास्तवमा लागू पदार्थ हैन

वर्तमान समयमा गाँजा चमत्कारी विशिष्ट गुणले भरिपूर्णं वनस्पति प्रमाणित भइसकेको छ । अतः गाँजा लागू पदार्थ मात्र सीमित रहेन बरु औषधी साबित भइसकेको छ । यसबाट थुप्रै रोगहरू निको हुने कुरा प्रमाणित भइसकेको छ । गाँजाको प्रयोग र यसमा हुने रसायनबाट निको हुने प्रमुख रोगहरू- मस्तिष्क रोग, क्यान्सर, जीउ दुख्ने, मुटुरोग, श्वासप्रश्वास सम्बन्धी रोग, टाउकाको समस्या, विषाक्तता र अन्य औषधिबाट हुने नकारात्मक प्रतिक्रिया (साइड इफक्ट) कम गर्नु आदि हुन् ।

गाँजामा ४०० भन्दा बढी रासायनिक क्यानाविनोबाइड तत्त्वहरू पाइन्छन् । तीमध्ये झण्डै ६० वटा तत्वहरू क्यानाविनोबाइड नै हुन् । मानव जातिले गाँजाको ईपू १२००० वर्षदेखि खेती गर्दै र सेवन गर्दै आएको भएपनि आधुनिक युगमा फर्मास्युटिकल्सगत महत्त्वबारे वैज्ञानिक रूपमा उन्नाइशौं शताब्दीका अन्त्यपछि मात्र प्रमाणित भएको छ ।

गाँजाको रसायन सम्बन्धी अनुसन्धानका लागि १८९९ मा उड नामक रसायनशास्त्रीले क्यानाविनोल नामक नसा दिने रसायन तत्व पत्ता लगाएपछि गाँजाले वैज्ञानिकहरूको ध्यान आकषिर्त गरेको थियो । त्यसपछि सन् १९६५ मा इजरायलको हिब्रु विश्वविद्यालयका वैज्ञानिक मेकोअलम् र इजरायलकै इज्म्यान इस्टिच्युटका वैज्ञानिक चिचेल गाउनीले संयुक्त रूपमा यसमा टेट्राहाइड्रा.क्यानाविनोल नामक नसा दिने पदार्थ (मादक तत्त्व) पत्ता लगाएपछि झन् ठूलो तहल्का मच्चिएको थियो । यिनै दुई रसायनको अस्तित्वका कारण नै गाँजा औषधि निर्माण र अन्य खाद्यपदार्थका रूपमा प्रयोग हुनथाल्यो । यी दुई रसायनहरूमध्ये क्यानाविनोललाई छोटकरीमा CBD टेट्राहाइड्रो क्यानाबिनोललाई THC भनिन्छ । यी दुई रसायन गाँजामा मात्रै सीमित नभई मानव शरीरभित्रै पनि उत्पन्न हुने कुरा पत्ता लागेको छ ।

मानव शरीरको मस्तिष्क, मुटु, फोक्सो, कलेजो, प्रजनन प्रणाली, मांसपेसी, हड्डी र छालामा समेत यस्तो रसायन उत्पादन गर्ने प्रणालीलाई इन्डोक्यानाविनाइड प्रणाली भनिन्छ र यो यस्तो आणविक प्रणाली हो जसमा शरीरभित्र थुप्रै प्रक्रियाहरू हुन्छन्, जस्तै: रोगसँग लड्ने क्षमता, कोशहरूबिचको सञ्चार भोक, मेटाबोलिक प्रक्रिया र मेमोरी आदिलाई सन्तुलित राख्नु । मानव शरीर स्वस्थ रहन यो इन्डोक्यानाविनाइड प्रणाली स्वस्थ र सन्तुलित हुनुपर्छ । यदि यसमा असन्तुलन भयो भने टाउको दुख्ने, वाथ, स्ट्रोक, मोटोपन, अल्जाइमर, क्यान्सर, आँखाको मोतियाबिन्दु जस्ता घातक रोग लाग्दछन् ।

तसर्थ आज पश्चिमेली देशहरू गाँजाबाट प्राप्त हुने सिबिडी र टिएस्सी जस्ता रसायनहरूलाई विभिन्न अनुपातमा मिसाएर औषधी र अन्य पेय पदार्थ बनाइरहेका छन् । यस्तो फर्मास्युटिकल र औद्योगिक पदार्थ बनाउने कार्यका लागि क्यानाडा अग्रपङ्तिमा रहेको छ । गाँजा उत्पादन गर्ने र गाँजाबाट विभिन्न फर्मास्युटिकल र औद्योगिक पदार्थ बनाउन क्यानाडामा दर्जनौं कम्पनीहरू स्थापित भएका छन् र अरबौं डलर लगानी भएको छ ।

यसरी गाँजाका प्रयोगबाट संसारका कैय्यौं मुलुक समृद्धि प्राप्त गर्ने अभियानमा छन् । अतः गाँजा अब लागू पदार्थ नभई औषधी साबित भइसकेको छ । संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण अङ्ग विश्व स्वास्थ्य सङ्गठनले गाँजालाई लागू पदार्थको सूचीबाट २ डिसेम्बर २०२० मा हटाएर औषधीका सूचीमा राखेपछि यसले विश्वमै तरङ्ग नै पैदा गरेको छ । गाँजाको उपयोगबाट देशमा समृद्धिको नयाँ आयाम थपिने निश्चित छ ।

परापूर्व कालदेखि नै गाँजाको सेवन नेपाली संस्कृतिको अभिन्न अङ्ग रहेको छ । गाँजाबाट एक प्रकारको नसा प्राप्त हुने भएपनि त्यसले रक्सी वा अन्य लागूपदार्थले जस्तै गम्भीर अवस्थामा पुर्‍याउँदैन । यसका डाँठबाट निकालिने रेसा कपडा बनाउन पनि प्रयोग गरिन्छ । तसर्थ पात, फल, तेल र रेसा यसबाट प्राप्त हुने महत्वपूर्ण भौतिक तत्व हुन् । गाँजाबाट प्राप्त हुने रसायनबाट प्राणघातक रोगहरू जस्तै ः क्यान्सर, डिप्रेसन, डायबिटीज, अनिद्रा, अल्जाइमर र छारे रोगहरूका लागि औषधी बनाउन सकिन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।

वैधानिकताको विश्वव्यापी अभियान

जति बेला नेपालमा गाँजा सेवनको एकप्रकारको संस्कृति नै स्थापित भइसकेको थियो त्यसबेला कसैलाई यसका महत्वपूर्ण गुणको खासै जानकारी नै थिएन । क्रमशः यसमाथि पश्चिमेली राष्ट्रहरूमा अनुसन्धान सुरु भयो र महत्त्व पनि बढ्दै गयो । उनीहरूले गाँजा सम्बन्धी पाठ्यक्रम नै तयार गरेर कलेजहरूमा पढाउन थाले र त्यहाँका विश्वविद्यालयले डिग्री नै दिन थालेका छन् । जसरी सन् १९६०-७० का दशकमा गाँजा सेवन र ओसारपसारमा प्रतिबन्ध लगाउने अभियान चलेको थियो त्यसरी नै अहिले त्यसका ठिक विपरीत प्रतिबन्ध फुकुवा गर्दै औषधीका रूपमा मान्यता दिने अभियान चलेको छ ।

अहिलेसम्ममा मोरक्को, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजील, कोलम्बिया, डेनमार्क, जर्मनी, इजरायल, इटाली, श्रीलङ्का, बेलायत लगायतका विश्वका ४३ भन्दा बढी मुलुकहरूले गाँजालाई औषधीका रूपमा मान्यता दिइसकेका छन् । संयुक्त राज्य अमेरिकाका ३५ राज्यहरूले पनि सोही मान्यता दिइसकेका छन् र अब सङ्घीय सरकार पनि त्यसको तयारीमा छ । उरुग्वेले त सन् २०१३ देखि नै औषधि र मनोरञ्जनको साधनका रूपमा मान्यता दिइसकेको छ ।

सन् २०१८ मा क्यानाडाले पनि दुवै प्रकारको मान्यता प्रदान गरिसकेको छ । परिणामतः क्यानाडामा अहिले दर्जनौं क्यानाविस -गाँजा) उत्पादन कम्पनी स्थापित भइसकेका छन् । जसले हजारौंलाई रोजगारी दिनाका साथै अरबौं लगानी गर्ने बाटो खोलिदिएको छ ।

नेपालले सिक्नुपर्ने कुरा

नेपाल गाँजाको मूल थलो हो । नाश नगर्ने हो भने गाँजा यहाँ सहज रूपमै बनमा आफै हुर्किरहेको हुन्छ र यसको आजभन्दा झण्डै ३००० वर्ष पहिलेदेखि आयुर्वैदिक औषधीका रूपमा नेपालमा प्रयोग हुँदै आएको छ । सिंहदरबार बैद्यखानाले पनि प्रतिबन्ध लाग्नुभन्दा पूर्व यसलाई औषधी उत्पादन गर्दै आएको थियो तर २०३३ सालको लागूपदार्थ सम्बन्धी ऐनले प्रयोग, उत्पादन र ओसारपसारमा प्रतिबन्ध लगाएपछि त्यो सबै बन्द हुनपुग्यो ।

गाँजाको सबैभन्दा ठूलो बजार उत्तर अमेरिका हो जसले कूल उपभोगको ८८∞ भाग ओगट्छ । त्यसपछि यूरोप र त्यसमा पनि जर्मनी दोस्रो ठूलो बजार मानिन्छ । त्यसपछि आउँछन्- इटाली, अस्ट्रेलिया, इजरायल र ब्राजील आदि । यस सन्दर्भमा अहिले आएर थाइल्याण्डले सन् २०२० मा गाँजा फेस्टिबल नै मनाइसकेको छ भने नेपाल आˆनै संस्कृतिको अभिन्न अङ्ग रहँदै आएको गाँजामाथि प्रतिबन्ध हटाउन हिचकिचाइरहेको छ । यो बिडम्बना हो । यहाँको उत्कृष्ट गाँजालाई खुला गरिदिने हो भने पर्यटक आगमनमा पनि व्यापक बृद्धि हुने निश्चित छ । त्यो कुरा सन् १९६० तिरको पश्चिमेली हिप्पी कल्चरले त्यस कुरालाई प्रमाणित गरिसकेको छ । वास्तवमा जनताको आयस्तरमा बृद्धि गर्ने र रोजगारी सिर्जना गरी देशलाई समृद्धिका बाटातिर डोर्‍याउन चाहने हो भने नेपालले पनि यथाशीघ्र गाँजामाथिको प्रतिबन्ध हटाई औषधी र मनोरञ्जनको साधनका रूपमा यसलाई मान्यता दिन ढिलो गर्नुहुँदैन । त्यति मात्र हैन खेती र निर्यातको उचित व्यवस्था पनि गरिदिनुपर्छ । अनि क्यानाविस इभेन्टस् जस्ता फेस्टिबलहरूको आयोजना गरी प्रचार प्रसार गर्नुपर्छ । अभागी सुनका असिना बर्सिन्छ रे भन्ने सुनेपछि चोट लाग्छ भन्ने डरले घरभित्र लुक्नजान्छ रे भनेझैं गर्नु नेपालका लागि आत्मघात हो । चेतना भया ।

(डा. खेमराज भट्टराई वनस्पतिशास्त्री हुन् र गाँजाको अनुसन्धानमा कार्यरत छन्)



from Online Khabar https://ift.tt/3EsvyWz

Post a Comment

0 Comments