११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज आइतबारदेखि तीनदिसम्म राष्ट्रिय सम्मेलन गर्ने भनेको थियो । तर त्यही सम्मेलनलाई एकास्सी आठौं महाधिवेशमा रुपान्तरण गरेपछि उद्घाटन शत्रको माहौल फेरियो, रौनक बदलियो ।
राष्ट्रिय सम्मेलनमात्रै हुन्थ्यो भने माओवादी केन्द्रका नेताहरुले पार्टीभित्रको तितामीठा कुरा गरेरै उद्घाटन शत्र सक्थे । महाधिवेशन भनेर अन्य राजनीतिक दलका नेताहरुलाई निम्त्याइएपछि प्रज्ञा भवन, कमलादी राष्ट्रिय राजनीतिबारे विमर्श गर्ने थलो बन्यो । माओवादीले छोड्दै गएका मुद्दादेखि संविधान संशोधन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदनसम्मका मुद्दामा नेताहरुले दहलफसल गरे, आ–आफ्ना तर्क र टिप्पणी राखे ।
प्रमुख अतिथि थिए–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, राप्रपाका महामन्त्री कुन्ती शाही र माले महासचिव सीपी मैनाली पनि आमन्त्रित भए ।
जसमा पूर्व सहकर्मी धेरै थिए । पूर्वसहकर्मीहरुले माओवादी केन्द्रलाई महाधिवेशनको शुभकामना दिँदै गर्दा विगतको सहकार्य स्मरण मात्र गरेनन्, पुनः सहकार्यको प्रस्ताव राखे ।
माओवादी– एमाले
माओवादी केन्द्रका अध्यक्षका प्रचण्डले नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर उद्घाटन सत्रको निम्तो दिएका थिए । तर पूर्व निर्धारित कार्यक्रमका लागि झापा पुगेका ओलीले आफू आउन नसक्ने भन्दै महासचिव शंकर पोखरेल थिए ।
एमाले, माओवादी केन्द्रको पछिल्लो समयमा छुट्टिएको सहकर्मी हो । शुभकामना दिँदै गर्दा पोखरेलले एमाले र माओवादी केन्द्रसँगको एकता टुटेको स्मरण गरे । ‘नेकपा गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो, तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ’ महासचिव पोखरेलले भने ।
माओवादी केन्द्र र नेकपा एमाले २०७४ सालको प्रदेश र संघको निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर गएको थियो । वाम गठबन्धनलाई जनताले झण्डै दुई तिहाई बहुमत दिए । निर्वाचनपछि माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ गते एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । तर ५ पुस २०७७ को संसद विघटनसँग राजनीतिक रुपमा विभाजित नेकपा २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलासँगै औपचारिक रुपमा भंग भएको थियो ।
एमाले महासचिव पोखरेलको बोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोली मिलाए । अध्यक्ष प्रचण्डले थपे, ‘(महासचिव पोखरेलको) मन परेको भित्र कुरा के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं । फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं’ प्रचण्डको प्रस्ताव छ ।
नेकपा विवादमा प्रचण्डसँगै रहेका, तर सर्वोच्चको फैसलासँगै एमालेमा फर्किएर हाल आफ्नै अध्यक्षतामा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालले पनि विगतको सहकार्य सम्झिाए । सबैले विधि बिधानको पालना गर्नुपर्नेमा त्यसो हुन नसकेकाले नेकपा एकता भंग भएको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घुमाउरो शैलीमा आरोपित गरे । फेरि पनि कम्युनिस्ट एकतामा जोड दिएका उनले भने, ‘व्यक्तिको तानाशाहलाई स्वीकार्न सकिन्न ।’
सीपी गजुरेलका शर्तहरु
माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी पूर्वमाओवादी नेताहरुले विगत सम्झिए । ‘हामी कुनै समयमा नेकपा माओवादी हुँदाखेरि हामी बर्षौंसम्म संगै बसेको अनुभूति मलाई यहाँ भइराखेको छ । यहाँ सहभागि भइरहँदा मलाई ती पुराना दिनहरु सम्झना भइरहेको छ’ नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले अभिव्यक्ति सुरु गर्दै गर्दा हलमा गडगडाहड ताली बज्यो ।
पूर्वमाओवादीहरु एकजुट हुनुपर्छ भन्ने प्रचण्डको सार्वजनिक अभिव्यक्तिहरु स्मरण गर्दै नेता गजुरेललले त्यसलाई आफुहरुले सकारात्मक अर्थमा बुझ्ने गरेको बताए । साथसाथै जारी ‘महाधिवेशनले पुर्वमाओवादीहरुको एकताको ढोका खोलोस’ भन्ने शुभकामना दिए । तर, त्यसका लागि नेता गजुरेलका शर्तहरु छन् ।
‘साच्चै पूर्वमाओवादीहरु एकजुट हुने हो भने यसका लागि केही आधार तयार पारौं’ भन्दै गजुरेलले शर्त तेर्साए,
पहिलो– जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकमा हामीले जे प्रतिवद्धता जाहेर गरेको थियौं, त्यसलाई पुर्नस्थापित गर्नुपर्छ ।
दोस्रो ः हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अहिले पनि अधुरो र अपुरो छ । ‘नेपाललाई जनगणतन्त्र बनाउन अगाडि बढौं, त्यो कार्यक्रम पारित गरौं, म अनुरोध गर्न चाहन्छु,’ गजुरेलले भने ।
तेस्रो ः राष्ट्रिय स्वाधीनताका विषयमा केही महत्वपूर्ण निर्णय लिनुस् । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न तपाईंहरुले जोड लगाउनु होला । हामीले गुमाएका भूभागहरु कालापानी लिनुलेक, लिम्पियाधुरा हासिल गर्ने प्रतिवद्धता होस्’ नेता गजुरेलले भने, ‘यी सबै भयो भने पार्टी एकताका लागि बहस गर्ने, छलफल गर्ने ढोका खुल्छ । यो महाधिवेशनले त्यो ढोका खोलोस् ।’ एकताको ढोका खोल्न गजुरेलले गरेको आग्रहमा सहभागीहरुले ताजी बजाएर साथ दिए ।
१० वर्षे जनयुद्ध र शान्ति प्रक्रियामा आएपछि पनि प्रचण्डसँगै रहेका गजुरेल मोहन बैद्यले ४ असार २०६९ नयाँ पार्टी गठन गर्दा छुट्टिएका थिए । बैद्यसँगै गएका गएका विप्लवले अर्को पार्टी खोले । रामबहादुर थापा बादलहरु माओवादीमा फर्किएर नेकपा बने, तर नेकपा खारेज हुँदा उनी नेतृत्वको एउटा समूह एमालेमै बस्यो ।
कुनै समय माओवादी छाडेर छुट्टै पार्टी बनाएका मात्रिका यादव भने अहिले माओवादी केन्द्रमै छन् । महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गरेका यादवले पार्टी छोडेर गएको र फर्किएको स्मरण गर्दै पूर्वमाओवादीहरुको एकतामा जोड दिए ।
‘प्रचण्डपथ’ छाडेपछि क्रान्ति रनभुल्लमा परेको र त्यसले पार्टी फुटलाई सघाएको उनको टिप्पणी छ । प्रचण्डपथ त्यसलाई विकास गर्नुको साटो छाडेपछि प्रचण्डले क्रन्ति गर्दैनन् भनेर आफूले पार्टी छाडेको स्मरण गर्दै उनले भने, गर्दा गर्दा सिपी (गजुरेल)जी, मोहन (बैद्य) सबै हिड्नुभयो । हाम्रो हविगत के भयो ?’
‘सबैभन्दा पहिले म छोडे । सबैभन्दा पहिले म आएर अध्यक्ष कमरेड यसरी हुँदैन एकजुट होऊँ । आज बडा राम्रो कुरा (पूर्व माओवादीहरुबीचको एकता)हरु भएको छ ।’
संविधान संशोधनको आशा
माओवादीका पूर्वसहकर्मीहरुले विगतको सहकार्य मात्रै स्मरण गरेनन्, पुनः सहकार्यको सम्भावना पनि केलाए । मधेस केन्द्रीत पूर्वमाओवादी नेताहरुले अध्यक्ष प्रचण्डसँग संविधान संशोधनका लागि पहलमदमीको आश समेत राखेका छन् ।
‘यो पार्टीमा कमरेड प्रचण्डजी, सीपी गजुरेलजी, उता साथीहरु यी सबै साथीहरु हामीहरु कुनै जमानामा एक समयमा भिषण लडाईंको मैदानमा भूमिगत, अर्धभूमिगत, बिभिन्न ठाउँ रहेर संगै काम गरेको सम्झना अहिले आइरहेको छ । संगै हामी लडेका थियौं । त्यहि जगबाट उभिएर पछि ऐतिहासिक मधेश जनविद्रोह भएको हो,’ जसपाका अध्यक्ष उपेन्द्र यादवले विगत सम्झिए ।
नेता यादव पनि माओवादी जनयुद्धमा सामेल थिए । तर माओवादी छाडेर मधेसी जनअधिकार फोरम बनाए, अन्तरिम संविधानको विरोधमा मधेस आन्दोलन गरेका उनी नेताका रुपमा उदाए । त्यससता प्रचण्डसँग कहिले सहकार्य र संघर्ष गरेका उनी अहिले सत्तारुढ गठबन्धनमा एकै ठाउँमा छन् । ‘…अब संविधानलाई दिपावली गर्नेको मात्रै होइन, जसले ब्ल्याक आउट गरेका थिए ति सबै शोषित पीडित जनताको संविधानको रुपमा रुपान्तरित गर्नुपर्छ । त्यसका लागि संविधान संशोधन अत्यावश्यक कार्य भएको छ’ अध्यक्ष यादवले भने ।
मधेसमा मुद्धा सम्बोधन नभएको भन्दै संविधान जारी गर्ने क्रममा मधेस केन्द्रित दलहरुले आन्दोलन गरेका थिए र संविधान जारी भएको दिन ३ असोज २०७२ मा अरुले दिपावली गर्दा मधेसमा ब्लाकआउट गरिएको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि संविधान संशोधनमा माओवादी केन्द्रले पहल गर्ने विश्वास व्यक्त गरे । माओवादी जनयुद्धले उठाएका माग र आफुहरुको माग मिलेका कारण जनयुद्धलाई कहिल्यै ‘आतंककारी’ नभनेको स्मरण गरे । मागमुद्दा मिल्दा माओवादी केन्द्रसँग बिभिन्न समयमा अनिल झाहरुले ३३ दलीय मोर्चा लगायतका नाममा सहकार्य गरेका थिए । ‘यो संविधानमा सबैथोक छ, तर केही पनि छैन, उनले भने, हामीले मधेस आन्दोलन ग¥यौँ, तर त्यो आन्दोलनका माग अझै सम्बोधन हुन सकेको छैन ।’
सीपी मौनालीको प्रश्नै प्रश्न
नेकपा मालेका तर्फबाट महासचिव सिपी मैनाली उपस्थित थिए । उनले माओवादी केन्द्रलाई अनेक प्रश्न गरे ।
जनताले पटकपटक व्यवस्था बदलिएको तर, आफुहरुको अवस्था नबदलिएको भनी प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले ‘नेपालको राजनीति र परिवर्तनको आन्दोलनलाई प्रयोगशालामा मात्रै दर्ता गरिदिने त होइन ? भनी माओवादी नेताहरुलाई प्रश्न गरे ।
१० बर्षे सशस्त्र जनयुद्ध गरेर आएको माओवादी केन्द्रको महाधिवेशनले ‘जनताका यी असन्तोष र इतिहासको फैसलालाई सम्बोधन गर्नेछ भनेर ‘मैले किन आशा नगरौं ?’ मैनालीले प्रश्न छ ।
माओवादी केन्द्रका अगाडि ठूला ठूला प्रश्नहरु उभिएको आफूले देखेको भन्दै नेता मैनालीले अन्य विषय पनि थपे । र सबै प्रश्नका सही जवाफ महाधिवेशनमा हुने समीक्षाबाट ननिकालिए देशमा अन्योल कायमै रहने उनको भनाइ छ ।
‘एउटा लक्ष्य प्राप्तीको निम्ति सुरु गरिएको एउटा आन्दोलन जसको निम्ति राष्ट्र र जनताले अकुत बलीदान गरेका छन् । अर्कै बस्तु लिएर दिशा मोड्न पुगेको छ’ मैनाली थप्छन्, ‘नमेटिने गरी जिज्ञासाहरु उठेका छन् । किन तत्कालिक लक्ष्य प्राप्त भएन ?’
विश्वमा उत्पीडक शासकहरुद्धारा सञ्चालित राष्ट्रहरु पनि रहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘उत्पिडक शासकहरुबाट सञ्चालित राष्ट्रको परोक्ष संलग्नतामा सञ्चालित आन्दोलनले उत्पिडित राष्ट्रलाई स्वतन्त्रता र मुक्ति दिन सक्दैन भन्ने माक्र्सवादी मान्यता विपरित आचरण गर्ने शक्तिले कसरी आफुलाई चौबिस क्यारेट माक्र्सवादी हो भन्ने दाबीलाई प्रमाणित गरिरहन सक्छ ?’
‘यस्तो आरोपलाई माओवादी केन्द्रको महाधिवेशनले सम्बोधन गर्न छ भन्ने किन आशा नगर्ने ?’ उनको प्रश्न छ ।
नेपालमा माक्र्सवादलाई नेपालको राष्ट्रिय जनवाद र त्यसको जनवादी सत्ता प्राप्तीको आन्दोलनमा संगठित ढंगले एकाकार गर्न खोजिएको ७२ बर्ष पुगिसकेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘यस प्रयत्नमा काहीँ कतै ठूला ठूला भ्वाङहरु रहेको प्रतित भइहेको छ । हाम्रो आफ्नै राष्ट्रिय जनवादी जनक्रान्ती सम्पादन गर्ने बाटो कुन हो ?’
‘जति राजनीतिक आन्दोलन गरे पनि, जनताका अधिकार जति बढाए पनि किन हामीलाई झन झन आन्तरिक गोलमा र बाह्य चक्रब्युहमा फसिरहेको अनुभव भइरहेको छ ?’ मैनालीको प्रश्नमाथि प्रश्न छ, ‘के हामी साच्चै हाम्रा अन्तरराष्ट्रिय गुरुहरुका यस्ता शिक्षा र अनुभवहरुलाई नेपालको बस्तुस्थिति र विशेषता अनुरुप सटिक ढंगले लागू गरिरहेका छौं ?’
बिशिष्ट आन्दोलनबाट खारिएका, साहसी, नवपरिवर्तनकारी नेता भएको महसुस गर्ने माओवादी केन्द्रका नेताहरुबाट आफुले उठाएका प्रश्नहरुको सम्बोधन हुन्छ भन्ने आशा किन नगरौं ? भन्ने पनि मैनालीको जिज्ञासा छ । यस्ता प्रश्नहरुको जवाफ खोज्नमा महाधिवेशन सफल होस भन्ने नेता मैनालीको शुभकामना छ ।
तर, प्रचण्डलाई पछिल्ला समय तितो लाग्ने गरेको नेकपा मालेका महासचिव मैनालीको अभिव्यक्ति महाधिवेशनमा भने खासै तितो लागेन । बरु गम्भीर लाग्यो । त्यसैले मैनाली सम्बोधन सकेर मञ्चमा आउनासाथ सोधे, ‘तपाईंको नोट रहेछ, मलाई दिनुहुन्छ ?’
दोहोरिएको इतिहास
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्ने भनेर वडादेखि पालिका, जिल्ला र प्रदेश गर्दै आएको थियो । तर, एक्कास्सी राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्यो ।
महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिने क्रममा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले २०३१ सालमा भारतको बनारसमा न्युक्लियसले अहिले माओवादी केन्द्रले जस्तै अन्तिममा निर्णय लिएको स्मरण गरिन् । ‘२०३१ सालमा न्युक्लियसले प्रतिनिधिहरु आइसकेपछि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेका थियो । त्यस्तै आज माओवादी केन्द्रले इतिहास दोहो¥याएको सम्झिन मन लाग्यो’ पौडेलले भनिन् ।
त्यसबेला न्युक्लियसले पुष्पलाल श्रेष्ठको समूहसँग एकताको पहल गरेको थियो । एकता पहल प्रयास सफल हुन सकिरहेको थिएन । त्यहि मेलोमा राष्ट्रिय सम्मेलनको तयारी भयो । अन्तिममा गएर राष्ट्रिय सम्मेलनलाई चौथो महाधिवेशनमा परिवर्तन गरिएको थियो । तर माओवादी केन्द्रमा भने खास कारण छैन, बरु निर्वाचन आयोगमा पार्टीको बैधता जोगाउन सहज होस् भन्ने चाह देखिन्छ ।
from Online Khabar https://ift.tt/3erGGbK
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।