हुन त खुसीका अनेक प्रकार हुन्छन् । गाई ल्याउँदा दूध खान पाउने खुसी, गाई मर्दा घाँस काट्नु नपर्ने खुसी … । ३ जेठ २०७५ मा एउटा खुसीमा मैले मैनबत्ती जलाएँ, राष्ट्रिय सभागृहको बाहिर । सभागृहभित्र बृहत् कम्युनिष्ट एकताको घोषणा हुँदैथियो, जेट प्लेनका दुई पाइलटको खुसीमा हामी हाम्रो खुसी भेटिरहेका थियौं ।
२३ फागुन २०७८ मा अर्को खुसीमा मैनबत्ती जलाएँ, प्रधानमन्त्री निवास बालुवाटारको परिसरमा । अदालतले दुवै पाइलटलाई आफ्नो आफ्नो प्लेन चलाउन आदेश गरेको थियो ।
यी दुई वटा घटना एकापसमा विल्कुलै फरक थिए, एउटाले एकताको उद्घोष गरेको थियो, अर्कोले विभाजनको घोषणा… । तैपनि खुसी कुनैमा कम थिएन । यी दुई घटनाको बीचमा हाम्रो देशको राजनीतिमा कुन स्तरको खिचडी पाक्यो, सबैलाई थाहै भएको कुरा हो ।
नेपाली राजनीतिमा आज फेरि कोर्स दोहोरिने तरखर भइरहेको छ, एमाले र माओवादी बीच पुनः एकता हुनुपर्ने किसिमका आवाज सुनिन थालेका छन् ।
लक्ष्मण गाम्नागेको एउटा कवितांश छ :
मुख फेरी फेरी खाऊ प्रिय
अहिले आलु र मुला पकाऊ
भरे मुला र आलु पकाऊ
एमाले र माओवादीको एकतामा मुला र आलु हामीले खाएकै हो । यतिबेला भान्सामा आलु र मुला पाकेको छ, हामी मुख फेरी–फेरी खान उद्यत भएका छौं । उही भान्से, उही तरकारी, उही मसला, उही भान्सा …, नयाँ स्वाद आउने कुनै आधार छैन, निश्चित जस्तै छ कि ढिलोचाँडो उही पुरानै स्वादको पुनरावृत्ति हुनेछ ।
कहिलेकाहीं बदाम खाँदै गर्दा मिठो भइरहेकै बेला बिग्रेको बदाम चपाइन्छ र मुखभरीको सबै बदाम थुक्ने अवस्था आउँछ, ठिक वाम एकताजस्तै । उत्साह… उत्साह… उत्साह…, विवाद… विवाद… विवाद…, पश्चात्ताप… पश्चात्ताप… पश्चात्ताप … ।
राजनीतिक अस्थिरताले हामी यति विक्षिप्त भएका छौं कि हामीलाई हरेक पटक आशा जाग्छ र हरेक पटक कुठाराघात हुन्छ । हिजोको तितो स्वाद हामीले बिर्सिसक्यौं, त्यही तत्वबाट नयाँ स्वाद आउँछ कि ? भन्ने अपेक्षा गरिरहेका छौं ।
इतिहासबाट पाठ सिक्ने हो भने एमाले र माओवादीको एकता भइहालेमा पनि सफल हुँदैन । कम्युनिष्ट पार्टी भनेर मात्र हुँदैन, एमालेलाई लाग्ने गरेका आरोपहरू माओवादीले खेप्न सक्दैन न त माओवादीलाई लाग्ने गरेका आरोपहरूको जिम्मा नै एमालेले लिन सक्छ ।
सबैभन्दा उत्तम विकल्प भनेको यी दुई पार्टीहरूले एकअर्कासँग कार्यगत एकता गर्ने र कम्युनिष्ट शक्तिलाई बलियो बनाउने नै हो । पार्टी एकता भन्ने बित्तिकै कार्यकर्ता व्यवस्थापनको चुनौती सबैभन्दा अगाडि आउँछ, अध्यक्षमा कुरा मिलाउन नसकेर दुई जना अध्यक्ष राख्ने नेतृत्वले तल कार्यकर्ता पंक्तिमा एकताको भावना दिलाउन सक्छ भनेर पत्याउने ? पार्टी भनेको संगठन पनि हो, झन् कम्युनिष्ट पार्टी भन्ने बित्तिकै तल्लो इकाइसम्म बलियो संगठन बनाएको पार्टी भनिरहन पर्दैन ।
समय हिजोको जस्तो रहेन; पद, लाभ केही नभनी ज्यान हत्केलामा राखेर लड्ने नेताहरू त अहिले लाभको लोभमा लिप्त छन्, झनै अलि अलि काम गरेको हिसाब देखाउँदै लाभको दाबी गर्ने नयाँ कार्यकर्ता पंक्तिलाई मिलाउने कुनै मन्त्र भेट्न सम्भव नै छैन ।
कसैले पनि न्यायपूर्ण व्यवस्थापन गर्नै सक्दैन न त लोकतान्त्रिक पद्धतिबाट मिलाउने कुरा नै न्यायसंगत हुन्छ । लोकतान्त्रिक पद्धति अपनाउने मात्र हो भने माओवादी विलय नै हुन्छ ।
बेला–बेला एमाले महासचिव शंकर पोखरेलको तर्क सुनिन्छ— ‘हामीले नेताहरूको टाउको जोडेर वाम एकताको प्रयास गर्यौं र असफल भयौं, अब कार्यकर्ताको भावना जोडेर एउटै सिंगो कम्युनिष्ट पार्टी निर्माण गर्ने संकल्प लिएर हामी अघि बढ्छौं ।’
पोखरेलको कुरा सुन्दा मीठो लाग्छ, यसको अन्तर्य माओवादीका कार्यकर्तालाई एमालेमा ल्याउने भन्ने हुन्छ तर हिजो प्रचण्डका लागि मर्न तयार भएको एउटा समूहले सजिलै प्रचण्ड छोडेर आउँछ ? यो कल्पनै नगरौं ।
अर्कोतर्फ यसरी आए भने पनि उनीहरूको व्यवस्थापनको चुनौती त रहन्छ नै, बादल समूहको व्यवस्थापनको विषयमा समेत एमालेमा हजार प्रश्न उठेका छन् ।
अर्को एउटा कोणबाट हेरौं–
अहिले बनेको एमाले र माओवादीबीचको सहज अवस्था कम्युनिष्ट आन्दोलन जोगाउने भावबाट प्रेरित भएर बनेको हैन । देउवाले गरेको चिची–पापाको लोभ, प्रचण्डको प्रधानमन्त्री मोह, ओलीको प्रचण्डलाई झुकाउनैपर्ने इगो जस्ता तमाम कुराहरूले यो परिस्थिति आउनुमा महत्वपूर्ण भूमिका खेलेका छन् । बगलीमा छुरा बोकेर कम्युनिष्ट एकता गर्नु भनेको सिंगो कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाउनुबाहेक केही पनि हैन ।
एकअर्काको नेतृत्वप्रतिको यो स्तरको अविश्वासले जस्तो अवस्थामा पनि शंका जन्माउँछ, दुवै नेतृत्व स्वच्छ भावनासहित एकतामा जाने हो भने पनि कार्यकर्ता पंक्तिले यसलाई स्वीकार गर्न सक्ने अवस्था छैन, अझ भनौं कार्यकर्ता बिजुली चम्किंदा तर्सिने अवस्थामा छन् । यसो भनिरहँदा एकले अर्कोलाई सधैं धारेहात लगाउने भन्ने हैन, एकअर्का मुद्दाहरूमा सहकार्य आवश्यक छ ।
दुई पार्टीको संरचना नै एक बनाउनका लागि सिंगो पार्टी पंक्तिमा त्यागको भाव चाहिन्छ जुन दुवैभित्र छैन, र यसको बीउ दुवै पार्टीका नेतृत्वले रोपेका हुन् ।
अव्यवस्थित पार्टी संगठन, निराशा, द्विविधा र निष्क्रियता, चरम गुटबन्दी, आरोप–प्रत्यारोप यी सबै सबैदेखि पहिल्यै दिक्क भइसकियो । सहकार्य गरौं, वाम एकताको रटान छोडौं । कांग्रेसको पछि लाग्न छोडौं । राप्रपालाई पछि लगाउन छोडौं ।
यत्ति गरियो भने मुलुकमा कम्युनिष्ट शक्ति बलियो बन्छ, संगठनलाई खोलाजस्तो बग्न दिऊँ, पोखरी जस्तो जमाएर राखेको नभुलौं ।
एकता सम्झिंदा अहिले पनि मुख तितो हुन्छ ।
(लेखक एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी खोटाङका अध्यक्ष हुन् ।)
from Online Khabar https://ift.tt/Ngipb4o
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।