ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपाल, बंगलादेश र भारतको नजर उपाधिमा, अरू टोलीको लक्ष्य के ?

३० असोज, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ । कात्तिक १ देखि १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

साफ वुमन्स च्याम्पियनसिप लगातार तेस्रो पटक नेपालमा आयोजना हुन लागेको हो र यो सातौं संस्करण हो ।

भारत साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो । उसले ५ पटक उपाधि जितेको छ । साविक विजेता बंगलादेश हो । भारत बाहेक साफ वुमन्स च्याम्पियनसिप जित्ने अर्को टोली बंगलादेश हो । नेपाल भने ६ मध्ये पाँच संस्करणको फाइनल पुगेर पनि सधैँ उपविजेतामै सिमित छ ।

तीन टिम बाहेक बाँकी टिमका लागि नकआउट चरण पुग्नु नै ठूलो उपलब्धी हुने गर्दछ ।

च्याम्पियनसिप सुरु हुनुअघि बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा सातवटै टोलीका कप्तान र प्रशिक्षकले आफ्नो टोलीको तयारी, लक्ष्य र उत्साहबारेर आफ्नो धारणा राखेका थिए ।

नेपालको उपाधि जित्ने लक्ष्य

नेपाली महिला फुटबल टोलीलाई उपविजेताको ट्याग लागेको छ । साफमा ५ पटक र अहिलेसम्म कूल ११ पटक फाइनल पुगेको नेपालले उपाधि भने जित्न सकेको छैन । यसअघि दुई पटक घरेलु मैदानमा प्रतियोगिता आयोजना हुँदा फाइनल पुगेपनि नेपालले उपाधि जित्न सकेन । यो पटक नेपाल त्यसलाई पार गर्दै च्याम्पियन बन्न चाहन्छ ।

यस पटक त्यो उपविजेताको ट्याग हटाउने र उपाधि जित्ने लक्ष्य रहेको कप्तान एन्जिला तुम्बापो सुब्बा र मुख्य प्रशिक्षक राजेन्द्र तामाङको दावी छ ।

तयारी भने ठीकै मात्र छ । महिला लिगले गर्दा लामो तयारी हुन पाएन, दुई साता मात्र प्रशिक्षण भयो । इन्डुरेन्स र फिजिकल पार्टमा काम गर्न नपाएको मुख्य प्रशिक्षक तामाङले बताए ।  ‘फरवार्डहरु पनि नभएकाले त्यसमा काम गर्न पाएनौं’ तामाङले भने, ‘पाएको समयमा हामीले उपाधि केन्द्रित भएर तयारी गर्‍यौं । हामी च्याम्पियनसिपका लागि तयार छौँ ।’

भारतमा भएको चौथो संस्करण बाहेक सबै पाँच संस्करणमा फाइनल खेलेको नेपालले उपाधि जित्न नसक्दा खेलाडीहरुलाई मानसिक रुपमा जित्नुपर्ने दबाब पनि हुन सक्छ । प्रशिक्षक तामाङ खेलाडीहरु पनि हामी जित्छौं भनेर सेल्फ मोटिभेट हुनुपर्ने बताउँछन् । ‘हामीले पाँच पटक साफको फाइनल खेलिसकेका छौं । खेलाडीहरु पनि सेल्फ मोटिभेट हुनुपर्छ, हामी सक्छौँ भनेर खेल्नुपर्छ’उनले भने ।

कप्तान एन्जिलाले भने टिमले कडा मिहिनेत गरेको र उपाधि नै लक्ष्य रहेको बताइन् । ‘तयारी छोटो समय भएपनि महिला लिगले केही सहयोग गरे जस्तो लाग्छ’ एन्जिलाले भनिन्, ‘यसपटक टिम सन्तुलित छ र हामी च्याम्पियन बन्नकै लागि खेल्नेछौं । ‘

 बलियो भारत शाख फर्काउने तयारी

दक्षिण एसियामा भारत पावर हाउस नै हो । अन्य टिममाथि भारतको दबदबा कायम छ । सर्वाधिक ५ पटक उपाधि जित्नुले पनि त्यसलाई पुष्टि गर्छ । भारतले चार पटक नेपाललाई र एक पटक बंगलादेशलाई फाइनलमा हराएको थियो ।

तर पछिल्लो पटक २०२२ मा काठमाडौंमा भएको साफमा भने भारतको दबदबा तोडिएको थियो । त्यसबेला भारत दुई पटक पराजित भयो । समूह चरणमा बंगलादेशले भारतलाई हराइदियो । सेमिफाइनलमा घरेलु टोली नेपालले भारतलाई पराजित गर्दै घर पठायो ।

साफ इतिहासमै भारत पहिलो पटक त्यही बेला हारेको थियो भने नेपालले पनि भारत विरुद्ध साफमा पहिलो जित निकालेको थियो ।

भारत यस पटक बलियो टोलीका साथ पुरानो साख फर्काउने लक्ष्यसहित नेपाल आएको छ । नयाँ प्रशिक्षक सन्तोष कस्यप छन् भने टोलीको नेतृत्व अनुभवी अशलता देवीले गर्नेछिन् । यस्तै फरवार्ड बाला देवीले पनि टिममा पुनरागमन गरेकी छन् । उनको आगमनले टिम बलियो बनेको प्रशिक्षक सन्तोष कस्यप बताउँछन् ।

बाला देवीसँगै पछिल्लो संस्करण नखेलेका संगिता बासफोरे, डांगमाई ग्रेस जस्ता खेलाडी यस पटक टिममा छन् ।

मुख्य प्रशिक्षक कस्यपले आफूले महिला टिम हेरेको थोरै समय भएपनि अट्यकिङ र  इन्ट्रेस्टिङ फुटबल खेल्ने बताए । ‘मैले यो टोली राम्ररी हेर्न पाएको छैन । जम्मा २० दिनको समय थियो । तर २० दिन अघिको भन्दा टिम राम्रो भएको छ’, सन्तोषले भने, ‘बंगलादेश पनि बलियो बनेको छ । च्याम्पियनसिप प्रतिस्पर्धात्मक हुनेछ । ‘

उनका अनुसार भारतको लक्ष्य उपाधि जित्ने नै हो । ‘हामीले पाँच पटक जित्यौं, त्यो इतिहास भइसक्यो । पछिल्लो पटक हार्‍यौं, त्यो पनि इतिहास भयो । अब हामी अट्याकिङ फुटबलको नमुना पस्कत तयार छौँ । मुख्य कुरा हाम्रो लक्ष्य उपाधि हो ।’

कप्तान अशलता देवीले सिनियर र जुनियर खेलाडीको मिश्रण रहेको टोलीक तयारी राम्रो भएको बताइन् । अन्तर्राष्ट्रिय खेलहरु खेल्ने अवसर पाएको भन्दै उनले भनिन्, ‘हामी राम्रो प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने लक्ष्यमा छौँ ।’ कप्तान अशलताले पाकिस्तान विरुद्धको पहिलो खेलमा आफ्नो एक सयौं क्याप पूरा गर्नेछिन् ।

बंगलादेशको उपाधि रक्षा गर्ने चाह

दक्षिण एसियामा बंगलादेश नयाँ शक्ति बनेर उदाएको छ, जसलाई बंगलादेशले पछिल्लो संस्करणमा एकै पटक भारत र नेपाललाई हराएर प्रमाणित गर्‍यो ।

सन् २०२२ मा भएको साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले भारतलाई समूह चरणमा ३-० र फाइनलमा नेपाललाई ३-१ ले हराएर पहिलो पटक च्याम्पियन बनेको थियो । त्यस बेला सविना खातुन बेस्ट प्लेअर र हाइएस्ट स्कोरर बनेकी थिइन् । यस पटक पनि उनै खातुनको नेतृत्वमा बंगलादेशी टोली उपाधि रक्षा गर्न चाहन्छ । तर त्यो काम सजिलो भने छैन । किनभने बंगलादेशी टिममा पनि खेलाडीहरु परिवर्तन भएका छन् भने प्रशिक्षक पनि नयाँ छन् ।

यस पटक इंग्ल्याण्डका पिटर बटलरको प्रशिक्षणमा बंगलादेशले प्रतियोगिता खेल्दैछ । प्रशिक्षक पिटर बटलरले टोलीमा युवा र सिनियर खेलाडीहरुको मिश्रण रहेको र टोली अहिले लयमा रहेको बताए । ‘हामीले वर्षको सुरुआती दुई खेल हारेका थियौं, पछि जितको लयलाई फर्कियौं’ उनले भने, ‘टिममा युवा, अनुभवी खेलाडीको समिश्रण राम्रो छ ।

अघिल्लो पटक च्याम्पियन बनेका टिमका खेलाडीहरु पनि अहिले टिममा रहेको भन्दै खेलाडीहरु जितका लागि तत्पर रहेको उनले बताए । ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको देशको प्रतिनिधित्व गर्दा सबैको दायित्व राम्रो प्रदर्शन गर्नु हुनुपर्छ । खेलाडीले यो कुरा बुझेका छन् । टोली यसपालि पनि उपाधि जित्न प्रेरित छन्, उनको दाबी छ, ‘प्राविधिक र रणनीतिक रुपमा हामी बलियो छौं ।’

विगतको उपाधि इतिहास भइसकेकाले त्यसले अर्थ नराख्ने बताए । उनले अहिले नै लक्ष्य बनाउने भन्दा पनि हरेक खेललाई लिएर अघि बढ्ने बताए । ‘हामीले सेमिफाइनलमा को आउँछ भनेर सोचेका छैनौं, हाम्रो लागि पहिलो खेल महत्वपूर्ण हुनेछ ।’

कप्तान सबिना खातुनले च्याम्पियनसिपका लागि उत्सहित रहेको र राम्रो तयारी रहेको बताइन् ।

 फेरिएको भुटान

भुटानले पछिल्लो समय उमेर समूहदेखि सनियर टिमसम्म प्रगति गरिरहेको छ र मैदानमा पनि त्यो प्रदर्शन देखिएको छ ।

चाहे उमेर समूह होस् वा सिनियर टिम अनि क्लब लेभल सबैमा भुटानले अन्य टिमलाई ठूलो चुनौती पेश गरिरहेको छ । पछिल्लो समय भुटानले ग्रासरुटदेखि नै फुटबल विकासमा ध्यान दिइरहेको छ भने प्राय टिममा विदेशी प्रशिक्षकहरु अनुबन्ध गरिरहेको छ ।  त्यसैले पनि भुटानको फुटबलको ग्राफ उकालो लागिरहेको छ ।

पछिल्लो पटक २०२२ मा भएको साफमा भुटानले पहिलो पटक सेमिफाइनल पुगेर इतिहास रचेको थियो । अहिले पनि भुटानले त्यही किसिमको प्रदर्शनलाई दोहोर्‍याउने लक्ष्य राखेको छ ।

भुटान, घरेलु टोली नेपालसँगै श्रीलंका र माल्दिभ्स रहेको समूह बी मा परेको छ । नेपाल सेमिफाइनलको लागि फेभरेट रहेपनि अर्को एक स्थानका लागि तीन टिमबीच सेमिफाइनल पुग्ने होड चल्नेछ । त्यसमा भुटान केही हदसम्म अघि देखिन्छ ।

यस पटक भुटानको प्रशिक्षकमा अष्ट्रेलियन निकोला डेमाइन छिन् । उनी यस पटक साफ वुमन्स च्याम्पियनसिपमा एक्ला महिला प्रशिक्षक हुन् । भुटानले साफ वुमन्स च्याम्पियनसिपका लागि एक वर्षदेखि तयारी गरिरहेकाले राम्रो नतिजा ल्याउने आशा राखेको छ ।

‘हामीले विगत एक वर्षदेखि यस प्रतियोगिताका लागि तयारी गरिरहेका छौं किनकी हाम्रो क्षेत्रमा यो महत्वपूर्ण प्रतियोगिता हो’ मुख्य प्रशिक्षक निकोलाले भनिन् ।

आफूले भुटानमा आएर त्यहाँको फुटबल संस्कृति सिकिरहेको बताउने उनी समूह बीको समिकरण रोचक रहको बताइन् । भनिन्, ‘समूह चरण पार गर्ने अवसर छ ।’

कप्तान पेमा छोडेन छिरिङले एक वर्षको तयारी रहेको र आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्न उत्साहित रहेको बताइन् ।

पाकिस्तान, माल्दिभ्स र श्रीलंका राम्रो गर्ने लक्ष्य

बाँकी तीन टोलीले साफ वुमन्स च्याम्पियनसिपका लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताएको छ ।

पाकिस्तान, श्रीलंका र माल्दिभ्स च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् ।

सुरुवाती तीन संस्करण लगातार खेलेको पाकिस्तानले  सन् २०१६ र २०१९ मा साफ खेलेन । २०१२ मा पाकिस्तान सेमिफाइनलसम्म पुगेको थियो । २०२२ मा नेपालमै भएको छैंटौ संस्करणबाट पाकिस्तानले साफमा पुनरागमन गरेको थियो । विभिन्न आरोह अवरोहका बीच पाकिस्तान लगातार दोस्रो साफ वुमन्स च्याम्पियनसिप खेल्दैछ ।

अन्तिम समयमा पाकिस्तान स्पोर्ट्स बोर्डबाट स्वीकृति पाएपछि पाकिस्तानले साफ खेल्न नेपाल आएको हो । अन्य टोलीभन्दा छिटो नेपाल आएको पाकिस्तानले यहाँको वातावरणमा घुलमिल हुने अवसर पाएको थियो र प्रशिक्षण पनि गरेको थियो ।

पहिलो खेलमै पाकिस्तानले भारतसँग खेल्दैछ र यो पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक खदिल रिज्कीले बताए । ‘पहिले भन्दा टिम राम्रो भएको छ । नयाँ खेलाडी आएका छन्’ रिज्कीले भने, ‘पहिलो खेल नै भारत र पाकिस्तानको बीच छ । यो भन्दा राम्रो के होला ? हामी दबाबभन्दा पनि इन्जोए गरेर खेल्छौं ।’

रिज्कीले गत वर्ष पाकिस्तानले राम्रो खेलहरु खेलेको र ठूला टिमविरुद्ध खेल्न अझ धेरै उत्सहित रहेको बताए ।  नादिया खान चोटबाट निको भएर फर्कुन सुदख भएको उनले बताए

कप्तान मारिया खानले साफ च्याम्पियनसिप खेल्न उत्सहित रहेको बताइन् । ‘निलम्बनपछि हामीले दुई वर्षअघि साफ खेलेका थियौं । दुई वर्षपछि हामी च्याम्पियनसिप खेल्न उत्साहित छौँ ।’ निलम्बन फुकूवापछि पहिलो प्रतियोगिता भएकाले पछिल्लो संस्करणमा राम्रो गर्न नसकेपनि यसपटक टिमको मनोबल उच्च रहेको मारियाले बताइन् ।

श्रीलंकाका मुख्य प्रशिक्षक मोहम्मद हुसेन रुमीले च्याम्पियनसपका लागि ४० दिन दिन प्रशिक्षण गरेर आफ्नो टिम तयार रहेको बताए । ‘प्रशिक्षणमा खेलाडीले सुधार गरेका छन्,उनले भने, ‘टिम अहिले सेपमा छ र टोली साफका लागि तयार छ ।’

श्रीलंकन कप्तान थुसानी मदूसीले पनि आफ्नो टोली साफका लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने बताइन् । ‘हाम्रो समूह खुल्ला छ । हामी पहिलो खेल माल्दिभ्ससँग छ र त्यसमा केन्द्रित हुनेछौं, उनले भने । ‘

श्रीलंकाले सन् २०१२, २०१९ र विराटनगरमा भएको २०१९ को साफमा सेमिफाइनल खेलेको थियो । तर पछिल्लो समय श्रीलंकाले त्यो लय देखाउन सकेको छैन ।

माल्दिभ्सका मुख्य प्रशिक्षक मोहम्मद निजामले इमान्दार भएर भन्दा भारत र नेपाल बाहेक बाँकी टिमको तयारी राम्रो नभएको बताए । उनले माल्दिभ्सले परिस्थिति अनुसार राम्रो तयारी गरेको र प्रतियोगिता खेल्न तयार रहेको बताए ।

कप्तान हवा हानिफाले माल्दिभ्समा घरेलु लिग भएकाले टिम तयार पार्न गाह्रो भएको बताइन् । यस्तै माल्दिभ्स फुटबल संघमा समस्या रहेकोले पनि स्थिति कठिन भएको बताइन् ।

माल्दिभ्सले सन् २०१६ मा एक पटक सेमिफाइनल खेलेपनि त्यसयता समूह चरणबाटै बाहिरिएको छ ।



from Online Khabar https://ift.tt/6LxgEtu

Post a Comment

0 Comments