१५ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड नपाएपछि एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै ज्यान गएको छ ।
देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती थिइन् ।
मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा उच्च ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या थियो । उनलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो ।
देवदहका मेयर हिरा खत्रीले बिहानैदेखि बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालदेखि काठमाडौंको नर्भिक र ह्याम्स अस्पतालसम्म बेडको लागि कुरा गरेका थिए तर कतै पाएनन् । केही सीप नलागेपछि प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै राख्न बाध्य भए । तर अत्यावश्यक उपचारको अभावमा संक्रमित महिलाको दिउसो ४ बजे मृत्यु भयो ।
‘बिहानैबाट एउटा बेड मिलाउन बुटवलदेखि काठमाडौंसम्म प्रयास गरियो तर कतै पाइएन,केही उपाय नलागेपछि फिभर क्लिनिकमा राख्नुप¥यो, त्यहाँ राख्न पनि ठूलै पापड बेल्नुप¥यो,’ मेयर खत्रीले भने, ‘प्रदेश सरकारले एक वर्षको बीचमा एउटा बेड पनि थप्न सकेको छैन, गफ मात्रै ठूला गर्दा आफ्नै आँखा अगाडि एक सहकर्मीको श्रीमतीले उपचार नपाएर ज्यान गुमाउनुप¥यो ।’
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ७५ पुगेको छ । जिल्लामा २ सय ९५ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् भने १३ सय १७ जना होम आइसोलेसनमा छन् ।
from Online Khabar https://ift.tt/3eGo0Vr
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।