ब्रेकिङ न्युज

6/recent/ticker-posts

वर्ल्ड यु-२० एथ्लेटिक्स च्याम्पियनसिप : अजित यादवको सन्तोषजनक प्रदर्शन

३ भदौ, काठमाडौं । वर्ल्ड यु-२० एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवको प्रदर्शनबाट आफू सन्तुष्ट भएको प्रशिक्षक धनिराम चौधरीले बताएका छन् ।

केन्याको नैरोबीमा भइरहेको च्याम्पियनसप अन्तर्गत बुधबार भएको मेन्स ३००० मिटर फाइनलमा १८ वर्षीय अजितले १६ खेलाडी मध्ये १४औं स्थान हात पारे ।

उनले निर्धारित दूरी ९ मिनेट १५.२७ सेकेण्डमा पूरा गरे । अजितको यो सिजनल बेस्ट टाइमिङ हो । तर उनको व्यक्तिगत टाइमिङ भने ८ मिनेट ३०.३० सेकेण्ड छ ।

व्यक्तिगत टाइमिङ सुधार गर्न नसके पनि दौड पूरा गरेकोमा भने प्रशिक्षक धनिरामले सन्तुष्ट रहेको बताए । अजित बिरामीबाट पूर्ण रुपमा रिकभर नभइसकेकोले दौड पूरा गर्नु नै महत्वपूर्ण भएको धनिरामले नैरोबीबाट बताए । ‘सोचेको भन्दा राम्रो भयो । ऊ पूर्ण कन्डिसनमा थिएन । दौड पूरा गर्दैन कि जस्तो शंका भाथ्यो तर पूरा गर्‍यो । सन्तुष्ट छु ।’

केन्या जानुअघि अजित बिरामी भएकोले औषधि खाएर गएको प्रशिक्षक धनिरामले बताए । ‘यहाँको अल्टिच्युट पनि १८०० सय छ । अब हामीले धेरै ट्रेनिङ पनि गर्न पाएनौँ । त्यहीमाथि औषधि खाएर आएको थियो । बिरामी हुँदा पनि गर्न सक्यो खुशी छु ।’

यस दौडले धेरै अनुभव हासिल भएको उनले बतायो । ‘यसबाट राम्रो अनुभव भएको छ । अब लङ टर्म योजना बनाएर ट्रेनिङ गर्‍यो भने अझ राम्रो नतिजा आउँछ ।’

अजितले सन् २०१८ मा हङकङमा भएको एसियन जुनियर च्याम्पियनसिपमा ३००० मिटरमा स्वर्ण जितेका थिए । त्यसैका आधारमा उनी सिधै वर्ल्ड यु-२० च्याम्पियनसिपमा छनोट भएका हुन् ।

३०० मिटर दौडमा १६ जना दौडेकोमा एक खेलाडीले दौड पूरा गर्न सकेनन् भने अर्का एक जना क्वालिफाई भएनन् ।

यस इभेन्टमा इथिओपियाका टाडेसे वर्कुले ७ मिनेट ४२.०९ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जिते । इथिओपियाकै अली अब्दिलमायाले रजत र एरिट्रेटाका अब्टोन सामुएलले कांस्य जिते ।



from Online Khabar https://ift.tt/3y0e9RC

Post a Comment

0 Comments