ब्रेकिङ न्युज

6/recent/ticker-posts

अध्यक्षमा दाबी गर्दै डा.केसीले भने : एनआरएनए हाक्नलाई म परिपक्क छु

१ भदौ, बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आफू एनआरएन हाक्नलाई परिपक्क भएको बताएका छन् । गैरआवासीय नेपली संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका डा.केसीले आफू परिपक्क उम्मेदवार भएको बताएका हुन्।

अनलाइनखबरसँग विशेष कुराकानी गर्दै उनले भने, ‘म आफैं पनि एनआरएनए हाक्नलाई म परिपक्क छु भन्नेमा मभन्दा पनि बढी तपाईंहरु जानकार हुनुहुन्छ,’ डा. केसीले सन् २००३ देखिनै आफू अभियानमा रहेको बताउँदै एनआरएनएको रुपरेखा कोरिसकिएकाले त्यसलाई पूरा गर्ने जिम्मेवारी आफूले लिने बताएका छन्।

‘दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र अहिले उपाध्यक्ष छु । मैले जाने ठाउँ नै बाँकी एउटा अध्यक्ष मात्रै नै हो,’ डा. केसीले थपे। नेतृत्व सम्हालेर नै एनआरएनका अधुरा कामहरु पूरा गर्ने वचनबद्वता उनले व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि बेलायत निवासी व्यवसायी कुल आचार्य र अमेरिका निवासी रविना थापाले पनि उम्मेदवारी दिने बताएका छन्।

यसपटक डा. केसी र आचार्यबीच नै मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । आचार्य नवौं महाधिवेशनमा अध्यक्षमा कुमार पन्तसँग पराजित भएका थिए । डा.केसीलाई नेकपा एमाले निकट र आचार्यलाई नेपाली कांग्रेस निकटको उम्मेदवारको रुपमा पनि हेरिएको छ।

डा. केसीका मुख्य एजेन्डा के हुन् ?

‘एनआरएनले के गर्ने भन्ने रुपरेखा वा खाका त कोरिसकिएको नै छ । ८ वटा डिपार्टमेन्टहरु छन्। के कसरी काम गर्ने वा काम गराउने भन्ने कुरा नै महत्वपूर्ण हो । ती विषयमा नै म केन्द्रित रहने छु,’ उनले भने।

पहिलेदेखिनै उठाउँदै आएका कतिपय मुद्दाहरुले पूर्णता पाइनसकेको भन्दै त्यसमै जोड दिने बताए । डा. केसीले थपे, ‘जस्तो नागरिकताको निरन्तरताको कुरा त्यसलाई हामीले कायम नै राख्छौं। वैदेशिक रोजगारमा भएका समस्याहरुलाई समाधान गर्ने हाम्रो सधैँ प्राथमिकता रुपमा आइहाल्छ।’

बौद्विक वर्ग र दोस्रो पुस्ताका युवाहरुलाई एनआरएनमा आबद्व गराउने पनि उनको प्रमुख लक्ष्य रहेको छ। नेपालमा लगानी भित्र्याउनको लागि यसपटक कोसेढुंगा सावित भएको भन्दै उनले १० अर्ब रुपैयाँ लगानीका लागि कम्पनी खडा भइसकेको बताए। ‘हामी द्रुत गतिमा काम गर्नेछौं। ८ वटा डिपार्टमेन्टहरु छन्। के कसरी काम गर्ने वा काम गराउने भन्ने कुरा नै महत्वपूर्ण हो। ती विषयमा म केन्द्रित रहने छु,’ केसीले भने।

उनले आफ्नो उम्मेदवारी बारेको छिट्टै औपचारिक घोषणा समेत हुने बताएका छन्।

डा. केसीको प्यानलमा को-को छन् ?

अध्यक्षका उम्मेदवार डा. केसीको समूहबाट मुख्य पदहरुमा उठ्ने उम्मेदवारहरुको टुङ्गो लागिसकेको केसीले जानकारी दिए ।

प्यानलबारे अनलाइनखबरले राखेको जिज्ञासामा डा. केसीले भने, ‘हामी संस्थापन पक्ष भएका कारणले पनि अहिले काम गरिरहनु भएका साथीहरु सहितको मेरो समाबेशी टिम बन्छ। त्यसमा विभिन्न विचारधारा भएका साथीहरुलाई एकै ठाउँमा राखेर एनआरएनलाई राजनीतिमुक्त समाबेशी टिम बनाउँदै छौ।’

डा. बद्री केसी प्यानलबाट खुल्ला उपाध्यक्षतर्फ बेलायतवाट डा. हेमराज शर्मा, जापानबाट महेश श्रेष्ठ, मध्यपूर्वबाट डिबी क्षेत्रीले उम्मेदवारी दिने पक्का भएको छ।

अहिलेको कार्यसमितिमा डा. शर्मा महासचिव, श्रेष्ठ कोषाध्यक्ष र क्षेत्री संघको प्रवक्ताको जिम्मेवारीमा रहेका छन्।

यस्तै उपाध्यक्षमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीको नाम चर्चामा रहेको छ। हाल संघको संसोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था रहेको छ। यस्तै महिला उपाध्यक्षमा साउदी अरबबाट यासिम बेगमलाई उठाउने तयारी केसी समूहले गरेको छ।

संघको महासचिवमा अमेरिका निवासी गौरीराज जोशीको उम्मेदवारी पक्का भएको डा. केसीले बताए।जोशी हाल सचिवको जिम्मेवारीमा रहेका छन्।

वर्तमान सह-कोषाध्यक्ष लोकप्रसाद दाहाललाई कोषाध्यक्षको उम्मेदवारको रुपमा अघि सार्ने तयारी केसी समूहले गरेको छ।

यता सचिव पदमा भने १०-१५ जनाको नै नाम आएको डा. केसीले बताए। कोषाध्यक्षभन्दा तलका पदहरुमा अहिले नै निर्णय भइनसकेको पनि उनले बताए। ‘‘समय अझै बाँकी छ। आफूहरुले मिलेर काम गर्न सक्ने मजबुत टिम बनाउने छौ,’ केसीले थपे।

एनआरएन वृत्तमा सधैं चर्चा र महत्व पाउने युरोप संयोजक पदमा पनि केसी समूहले निर्णय गरिसकेको छैन। बेलायतका कृष्ण तिमिल्सिना र स्पेनका मुक्तबहादुर गुरुङको नाम चर्चामा रहेको छ। यी दुई मध्ये एक जनालाई अघि सार्ने तयारी डा. केसीले गरेका छन्। अध्यक्ष अर्का प्रत्यासी आचार्यले पनि आफ्नो समूहलाई अन्तिम रुप दिन छलफललाई तीव्र पारेका छन्।

संघको विधानले प्यानल बनाउन बर्जित गरेको भए पनि आईसीसी तथा एनसीसीका निर्वाचनहरुमा विधानको उलङ्घन हुँदै आएको छ।



from Online Khabar https://ift.tt/3xS3ys9

Post a Comment

0 Comments