ब्रेकिङ न्युज

6/recent/ticker-posts

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा पनि गठबन्धन अगाडि

१९ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को निर्वाचनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

दुई पक्षको मतान्तर कम भएका कारण कडा प्रतिस्पर्धा हुने भएको हो । प्रदेश १ मा तीन जना सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख/उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता छन् ।

३६७ मतदातामध्ये तीन सदस्य रिक्त छ । माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य टङ्क आङ्बुहाङ पदमुक्त भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिकाका अध्यक्ष ङमि दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएका कारण स्थानीय तहको दुई मतदाताको पद रिक्त छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । जसअनुसार ९२ प्रदेश सभा सदस्यको मतभार ४४१६ छ र २७२ स्थानीय तह प्रमुख/उपप्रमुखको मतभार ४८९६ छ । प्रदेश १ मा ३६४ मतदाताको मतभार जम्मा ९३१२ छ ।

मतभार कसको पक्षमा ?

प्रदेश १ मा ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख/उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख/उपप्रमुख रहेको एमालेसँग मतभार ४५२४ छ ।

एक सांसद र चार प्रमुख/उपप्रमुख रहेको राप्रपासँग १२० मतभार छ । प्रदेश १ को प्रतिपक्षी दल राप्रपा कुनै पक्षमा खुलेको छैन ।
राप्रपाले एमालेलाई सघाएको अवस्थामा प्रदेश १ मा सत्ता गठबन्धन मात्र २४ मतभारले अगाडि हुनेछ ।

प्रदेश १ मा ९६ प्रमुख/उपप्रमुख र २१ प्रदेश सांसद रहेको कांग्रेसको कुल मतभार २७३६ छ ।

१५ जना प्रदेश सभा सदस्य र १६ प्रमुख/उपप्रमुख रहेको माओवादी केन्द्रको मतभार १००८ छ ।

नेकपा (एकीकृत समाजवादी)को मतभार ६६० छ । एकीकृत समाजवादीमा १० सांसद र १० प्रमुख/उपप्रमुख छन् ।

तीन सांसद र चार प्रमुख/उपप्रमुख रहेको जनता समाजवादी पार्टीको मतभार २१६ छ । सत्ता गठबन्धनको सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मतभार ४८ छ । मञ्चसँग एक जना सांसद छन् ।

एमालेलाई आश, गठबन्धनका नेता भन्छन- हामी जित्छौं

१२ माघमा १९ जना राष्ट्रिय सभा सदस्यका लागि सातवटै प्रदेशमा निर्वाचन हुँदैछ । सातै प्रदेशमा बहुमत नरहेका कारण एमालेले जितिहाल्ने कुनै प्रदेश नरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रेस चौतरी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले पार्टी विभाजन भएका कारण सातै प्रदेशमा गाह्रो भएको बताएका हुन् । अन्य प्रदेशको तुलनामा प्रदेश १ मा सम्भावना रहेको उनको भनाइ छ ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका नेता महेश रेग्मी गठबन्धनले प्रदेश १ मा क्लिनसिप गर्ने बताउँछन् । गठबन्धनसँग बहुमत मतदाता रहेको बताउँदै उनले सहजै जित्ने बताए ।

अन्तरघातको डर

प्रदेश १ मा सत्ता पक्ष र प्रतिपक्षबीचको मतभार अन्तर धेरै नभएका कारण दुवै पक्षलाई अन्तरघातको डर छ ।

नेकपा एमालेलाई लामो समय माधवकुमार नेपाल पक्षमा रहेर पार्टी विभाजनपछि नगएका प्रमुख/उपप्रमुखले अन्तरघात गर्ने डर छ । सत्ता गठबन्धनमा पनि अन्तरघातको डर छ ।

‘हिजो नयाँ दल रोज्दा काम गर्न अफठ्यारो हुने भयले एमाले नै बसेकाहरुबाट अन्तरघात हुनसक्छ’ नेकपा एमालेका एक प्रदेश सदस्यले भने,’ अन्तरघात नभए हामीलेे जित्न सक्ने अवस्था रहन्छ ।’ ती नेताको दाबी अनुसार गठबन्धनबाट केही भोट क्रस हुनसक्छ ।

गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित रंगेली नगरपालिकाका मेयर दिलीप बगडीय पछिल्लो समय एमालेसँग नजिकिएका थिए । यद्यपि उनले दल त्याग गरेका छैनन् । उनले सपोर्ट गर्ने एमालेको विश्वास छ । तर एमालेको आफ्नै मतदाता मतदानमा सहभागी नहुने डर छ ।

एमाले प्रदेश सांसद गुलेफुन खातुन फौजदारी अभियोगमा दोषी ठहर भएका कारण फरार छिन् । पक्राउ पर्ने भएकाले उनी मतदानमा सहभागी हुने अवस्था कम छ ।

एकीकृत समाजवादीका नेता महेश रेग्मी एमालेका केही जनप्रतिनिधको समर्थन गठबन्धनलाई हुने दाबी गर्छन् । ‘हाम्रो कुरा भइरहेको छ’ उनले भने, ‘साथीहरूले हामीलाई सहयोग गर्नुहुन्छ ।’

प्रदेशमा राप्रपासँग १२० मतभार छ । कांग्रेस महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई ‘बाछो’सँग तुलना गरेका कारण राप्रपाले एमालेलाई समर्थन नगर्ने गठबन्धनको विश्वास छ ।

को-को छन् उम्मेदवार ?

प्रदेश १ मा नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य नैनकला ओझा, अगम बान्तवा र परशुमेघी गुरुङको कार्यकाल सकिएपछि रिक्त रहेको महिला, खुल्ला र अल्पसंख्यक वा अपांगता भएको क्षेत्रमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि नेकपा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ ।

गठबन्धनमा खुल्लातर्फको टिकट पाएको नेपाली काङ्ग्रेसका गोपाल बस्नेत (झापा) र महिलाको टिकट पाएको नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर)को नाम टुङ्गो लगाएको छ । अल्पसंख्यक/ अपाङ्गताको कोटा पाएको माओवादी केन्द्रले उम्मेदवार टुङ्गो लगाएको छैन् ।



from Online Khabar https://ift.tt/3FSf9fD

Post a Comment

0 Comments