ब्रेकिङ न्युज

6/recent/ticker-posts

गठबन्धनमा जितको झल्को, एमाले उम्मेदवारलाई अर्को चुनावको आश

२० पुस, पोखरा । नेपाली कांग्रेस बलियो नेकपा एमाले कमजोर मानिएको बेला २०४९ को जिल्ला विकास समिति, कास्कीको सभापतिका उम्मेदवार थिए, पुण्यप्रसाद पौडेल । पौडेलले हार ब्यहोरे । २०५४ सालमा एमाले लहर चलिरहेका बेला फेरि उनले टिकट पाए, जित हात पार्न पनि सफल भए ।

त्यसयताका चुनावहरुमा उनले आकांक्षा राखे, तर टिकट पाएनन् । १२ माघमा हुने राष्ट्रिय सभाको चुनावमा एमालेले गण्डकीबाट उनै पौडेललाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशबाट निर्वाचित ३ राष्ट्रियसभा सदस्यले कार्यकाल पूरा गरेपछि तिनै पदमा हुन लागेको चुनावमा एमालेले उनलाई अन्यतर्फ उम्मेदवार बनाएको हो ।

पौडेल र सिंगो एमालेजनलाई थाहा छ, सत्तारुढ पाँच लीय गठबन्धन बन्दा एमालेको जित धेरै टाढा छ । त्यसैले मंगलबार उम्मेदवारी दर्ता गर्दैगर्दा पौडेल न उत्साही देखिए, न निराश नै ।

गठबन्धनभित्र दरार आयो भने जित असम्भव नरहेको उनी बताउँछन् । तर गठबन्धनमा १/२ जनाले अन्तर्घात नै गरे पनि एमालेको जित सहज देखिँदैन । त्यसैले अहिले जित्नेभन्दा पनि अर्को पटक टिकट दिनेमा आशावादी छन् उनी । एमाले कास्कीको राजनीतिमा पछाडि पारिएका नेताका रुपमा चिनिएका पौडेल भन्छन्, ‘यसपालि जित नहोला, राजनीतिमा हार पनि अर्थपूर्ण हुन्छ । अप्ठ्यारोमा पार्टीलाई साथ दिँदा अर्को पटक सहज अवस्थामा मूल्यांकन हुने छ ।’

पूण्यजस्तै एमालेका महिला उम्मेदवार लीला पोखरेल थनेत र दलित उम्मेदवार अर्जुनकुमार सुनाम पनि जित्नेमा त्यति आशावादी छैनन् ।

नवलपुरकी अखिल नेपाल महिला संघ अध्यक्ष थनेत र विद्यार्थी राजनीतिबाट आएका सुनाम दुबैलाई यस्तो निर्वाचन पहिलो अनुभव हो । ‘यो निर्वाचनले एक त पार्टीभित्र चिनिने अवसर मिल्छ भने अर्कोतर्फ अर्को निर्वाचनलाई दाबी गर्ने र पार्टी मूल्यांकन गर्ने कडी पनि बन्छ,’ सुनाम भन्छन्, ‘निर्वाचन हो यसैभन्दा सकिँदैन, तर यो हाम्रा लागि एउटा अनुभव र अवसर बन्ने छ ।’

अघिल्लो राष्ट्रिय सभाको निर्वाचनमा नेकपाका उम्मेदवारहरु बाजागाजासहित मनोनयन दर्ता गर्न पुगेका थिए । तर यसपटक त्यस्तो भएन ।  पार्टी विभाजन भएर माओवादी, एमालेबाटै फुटेको एकीकृत समाजवादी, कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन बन्दा एमालेका नेताहरु भने औपचारिकता पूरा गर्ने कार्यक्रमका रुपमा मात्रै देखिन्थे । तर पनि एमालेको माहोल कम छैन भन्ने देखाउनकै लागि पनि दलबलसहित पुगेको एक प्रदेशस्तरीय नेताले बताए ।

मनोनयन दर्ताको समय सुरु भएको एक घण्टामै एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज पद्‍मा अर्यालको नेतृत्वमा एमालेका केन्द्रीय सदस्य, सांसदहरु र जिल्ला तहका नेताहरुसहित मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारको मनोनयनमा भने छुट्टै उम्मेदवार र नेता कार्यकर्ता उत्साही देखिन्थे । पाँचदलीय गठबन्धनको भागबण्डामा गण्डकीका ३ सिटमध्ये एक कांग्रेसले र दुई माओवादी केन्द्रले पाएको छ । मनोनय दर्ता गराउन कांग्रेस, माओवादी केन्द्रसँगै एकीकृत समाजवादी र जनमोर्चाका का नेताहरु पनि उत्साहका साथ निर्वाचन कार्यलय पुगेका थिए ।

कांग्रेसकी महिला उम्मेदवार कमला पन्त र माओवादीले अन्यबाट उम्मेदवार बनाएका सुरेश आले संसदीय प्रतिस्पर्धामा अनुभवी हुन् ।

माओवादीका दलित उम्मेदवार भुवन सुनारका लागि यो पहिलो अवसर हो । बलियो गठबन्धनबाट उम्मेदवार बनेका सुनारले आफू राष्ट्रिय सभाको सदस्य भइसकेको महसुस भएको सुनाए । ‘विद्यार्थीकालमा स्ववियु सभापति भएको हुँ । राष्ट्रिय दलित आयोगको सदस्य सचिव भएर पनि काम गरें,’ मनोनयन दर्तापछि हर्षित हुँदै सुनारले भने, ‘अब पहिलो पटक राष्ट्रिय सभाको सदस्य भएर काम गर्दैछु ।’

उत्पीडित जनताको मुक्तिका लागि ४० वर्षदेखि काम गरेको सुनाउँदै सुनारले अब पनि आवाजविहीनहरुको आवाज बन्ने उत्साह रहेको बताए । २०६४ सालमा गोविन्दराज जोशीलाई हराउँदै संविधानसभामा छिरेका माओवादी नेता ओलेमगर यसपटक राष्ट्रिय सभा छिर्ने अभिलासाले उत्साही देखिए । ‘यो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नेछु,’ आलेले भनेका छन् ।

कांग्रेसले उभ्याएको महिला उम्मेदवार कमला पन्त पनि पूर्वसांसद हुन् । पूर्वकेन्द्रीय सदस्य पन्त हालै सम्पन्न कांग्रेस महाधिवेशनबाट शेखर कोइराला नेतृत्वको प्यानलबाट सहमहामन्त्रीकी उम्मेदवार थिइन् । पार्टीमा हारे ब्यहोरे पनि राष्ट्रिय सभामा फेरि उम्मेदवार बन्न पाउँदा पन्त खुसी देखिन्थिन् । ‘म स्वाभाविकै उम्मेदवार हो । पार्टीले फेरि उम्मेदवार बनायो,’ पन्तले खुसी साटिन् ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा गठबन्धनको सहज जित देखिएकाले पनि नेता कार्यकर्ता उत्साही रहेको बताउँछन् । गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धन एमालेभन्दा ६९६ मतभारले अगाडि छ ।

गण्डकी प्रदेश गठबन्धनको सरकारका मन्त्री बनेका स्वतन्त्र सांसद राजीव गुरुङले पनि सत्तारुढ उम्मेदवारलाई मतदान गरे मतान्तर अझै बढ्ने देखिन्छ । गण्डकीका २ स्थानीय तहमा २ जना राप्रपाका प्रतिनिधि छन् । यदि उनीहरुले एमालेकै उम्मेदवारलाई मत हाले पनि गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने नेताहरुको दाबी छ ।



from Online Khabar https://ift.tt/3JD5xrk

Post a Comment

0 Comments