ब्रेकिङ न्युज

6/recent/ticker-posts

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

१९ पुस, काठमाडौं । दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिइएपछि घटनाको छानबिन सुरु गरिएको त्यहाँका राष्ट्रपतिले बताएका छन् ।

देशको सबैभन्दा पुरानो र दोस्रो ठूलो सहर केपटाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतबार आगलागी भएको थियो । आगलागीको समयमा संसद चलिरहेको थिएन ।

सुरक्षाका लागि गठित केपटाउन मेयर कमिटीका सदस्य जेपी स्मिथका अनुसार आगलागीका कारण पुरानो एसेम्बली हलको छत खसेको छ र पुरानो चेम्बरमा पनि धेरै क्षति पुगेको छ ।

अधिकारीहरुले भवनमा ठूलाठूला चिरा परेको देखिएको र यो चिन्ताको विषय रहेको बताएका छन् । क्षतिको पूर्ण विवरण भने आइनसकेको बीबीसीले जनाएको छ ।

‘अग्नि नियन्त्रण उपकरणले राम्रोसँग काम गरेन’

आगलागीबाट संसद्को सभा हलबाट सुरु भएको थियो । आगलागीको कारण अहिलेसम्म यकिन हुन सकेको छैन ।

सुरक्षाको पर्याप्त प्रबन्ध गरिएको संसद भवनमा जडान गरिएको फायर अलार्मले राम्रोसँग काम नगरेको बताइएको छ ।

आगलागी हुनु अगाडि नै फायर अलार्म बज्नुपर्ने थियो तर बजेन ।

जहाँ आगो लागेको छ, त्यहाँ १२ वटा फायर फाइटिङ उपकरण जडान गरिएको छ । कर्मचारीहरुका अनुसार अलार्म सिस्टम बज्नुभन्दा अगाडि नै आगो लागिसकेको थियो । त्यसपछि मात्रै कर्मचारीहरु घटनास्थलमा पुगेका थिए । यसबाट थाहा हुन्छ अलार्म सिस्टमले ढिलो काम गरेको थियो ।

घटनास्थलको स्थलगत अवलोकन गर्दै राष्ट्रपति सिरिल रामापोसाले भवनमा जडान गरिएका अग्नि नियन्त्रण उपकरणले राम्रोसँग काम नगरेको पत्रकारहरुलाई जानकारी दिए । उनका अनुसार स्पि्रङ्कलरबाट पानी आएको थिएन भने चेतावनीस्वरुप बज्ने अलार्म पनि बजेको थिएन ।

यद्यपि अग्नि नियन्त्रक टोली ६ मिनेटभित्रै घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको भन्दै राष्ट्रपति रामापोसाले उनीहरुको प्रशंसा गरे । ‘समयमै कर्मचारीहरु नपुगेको भए नेशनल एसेम्बली खरानी हुन्थ्यो,’ राष्ट्रपति रामापोसाले कर्मचारीहरुको प्रशंसा गर्दै भने ।

घटनाको छानबिन सुरु

अग्निनियन्त्रक, स्वयंसेवक, सुरक्षाकर्मीलगायतले भवनमा लागेको आगो नियन्त्रणमा लिएपछि छानबिन सुरु भएको छ ।

आगलागीबाट क्षतिग्रस्त संसद् भवन अगाडि पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति रामापोसाले छानबिनका लागि सरोकारवाला उच्च अधिकारीहरूसहितको टोली परिचालन गरिसकिएको र दोषी पत्ता लगाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संसद् भवनमा भएको आगलागीका बारेमा केही व्यक्तिमाथि प्रश्न उठेको र त्यसको उचित उत्तर खोजिने उनको भनाइ थियो । शंकास्पद एक व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको बीबीसीले जनाएको छ ।



from Online Khabar https://ift.tt/3sLElke

Post a Comment

0 Comments