ब्रेकिङ न्युज

6/recent/ticker-posts

जाँदाजाँदै खेलकुमन्त्री गहतराजले तेक्वान्दोसहित तीन खेल संघ विघटन गरे

५ पुस, काठमाडौं । खेलकुद मन्त्रालयमा आफ्नो करिव १५ महिने कार्यकालको लगभग अन्तिम समयमा रहेका मन्त्री महेश्वरजंग गहतराजले जाँदा-जाँदै तीनवटा खेल संघ विघटन गरेका छन् ।

राखेपका अध्यक्षसमेत रहेका गहतराजको निर्देशनमा राखेपले मंगलबार तेक्वान्दो, उसु र शारीरिक शुगठन संघलाई पुनर्गठन गरेको हो । राखेपले पुनर्गठित समितिका सबै सदस्यलाई पत्र पठाएको छ ।

पुनर्गठित नेपाल तेक्वान्दो संघको अध्यक्षमा संघका पूर्व उपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहेका प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेबारी दिइएको छ ।

उसु संघमा राखेप सदस्य जनक बर्तौला अध्यक्ष र नवराज ढुंगानालाई महासचिवको जिम्मेबारी दिइएको छ ।

नेपाल शारीरिक शुगठन संघमा भने विवादित दुवै संघका प्रतिनिधिको सहमतिमा कार्यसमिति पुनर्गठन गरिएको हो । अध्यक्षमा राजेशबाबु श्रेष्ठ र महासचिव अजय महर्जनसहितको तदर्थ समिति बनाइएको हो ।

गत वैशाख ९ गते बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११३औं बोर्ड वैठकले उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा संघसंस्था विवाद समिति गठन गरेको थियो ।

विवाद समाधानका लागि तेक्वान्दो र उसु संघका विवादितमध्येको एउटा कार्यसमितिका कुनै पनि प्रतिनिधि वार्तामा नआएका कारण समितिले ऐनअनुसार आफ्नो निर्णय राखेप अध्यक्षसामू पेश गरेको समितिका संयोजक कोइरालाले जानकारी दिए ।

उल्लेखनीय कुरा के छ भने तेक्वान्दोका विवादित दुई संघमध्ये एउटा संघका अध्यक्ष कोइराला स्वयम् थिए । राखेपका तत्कालीन सदस्यसचिव युवराज लामाले २०६९ सालमा राष्ट्रिय तेक्वान्दो संघ गठन गरेसँगै नेपालमा एकै प्रकृृतिका दुई खेल संघ अस्थित्वमा आएको थियो ।

२०७७ असार १७ गते जारी भएको खेलकुद ऐनमा एकै प्रकृतिका दुई खेल संघ अस्थित्वमा रहेको अवस्थामा तीन महिनाभित्र एक हुनैपर्ने बाध्यबारी व्यवस्था छ । तर, ऐन जारी भएको साढे दुई वर्ष भइसक्दा पनि कार्यान्वयन भइरहेको छ ।

विवाद समितिको सुझावअनुसार मन्त्री गहतराजले मंसिर २४ गते तीनवटा संघ विघटन गर्ने निर्णय गरेका हुन् । मन्त्रीको निर्देशनअनुसार राखेप सदस्यसचिव टंकलाल घिसिङले राखेपको खेलकुद विकास विभागमार्फत संघसंस्था समन्वयन शाखामार्फत तदर्थ समितिका सबै सदस्यलाई नियुक्तिपत्र पठाइएको हो ।

तीनै संघका तदर्थ समितिले नयाँ खेलकुद ऐनअनुसार तीन महिनाभित्र स्थानीय तह, प्रदेश हुँदै केन्द्रसम्मको निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै देशमा नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको छ । अर्को सातासम्म नयाँ सरकार गठन हुँदैन । प्रतिनिधिसभा निर्वाचनमा बाँके १ बाट पराजित भएपछि गहतराज पुनः मन्त्री हुने छैनन् ।



from Online Khabar https://ift.tt/IMa6gLc

Post a Comment

0 Comments