ब्रेकिङ न्युज

6/recent/ticker-posts

नवीन चौहान : ‘के माया लाग्छ र’देखि ‘चन्द्रमा’सम्म

‘योगः कर्मशु कौशलम् ।’

आफ्नो कामलाई कुशलतापूर्वक सम्पादन गर्नेहरु त्यसको नतिजामा आशक्ति राख्दैनन् । बरु काममै आनन्द खोज्छन् । पूर्वीय दर्शनको यही मान्यतामा अडिए झैं लाग्छ, जब नवीन चौहानको कार्यशैली नियाल्न थाल्छौं ।

कुनै नौलो काम होइन । कुनै ठूलो काम पनि होइन । अरु कसैले नगरेको काम पनि त होइन । काम त उही हो, संगीत र त्यसको दृश्यभाषा निर्माण । तर त्यसलाई उनी कसरी खिप्छन् भने मानौं त्यही नै उनको अन्तिम र एक मात्र काम हो ।

जस्तो ‘के माया लाग्छ र’को कुरा गरौं वा ‘तीनपाते’को, ‘घुमी घुमी’को कुरा गरौं वा त ‘लजाएर’को । हरेक काममा उनको बिछट्टै लगाव र कुशलता झल्किन्छ । त्यसैले त संख्यात्मक गणनामा उनको काम धेरै छैन । थोरै सही, हरेकमा नवीन अभ्यास गरेका छन् ।

नवीनको काम गर्ने तौरतरिका पनि केही पृथक रहेछ । संगीत सिर्जनादेखि त्यसको दृश्यभाषा निर्माणसम्ममा उनको काम फरक ढंगले भएको छ । नवीन भन्छन्, ‘झट्ट सुन्दा त उल्टो काम गरेजस्तो लाग्छ । तर म पहिले गीत रेकर्ड गराएर त्यसको भिडियो बनाउनतिर लाग्दिनँ । बरु सुरुमा कथा तयार गर्छु र बाँकी कामहरु जोड्दै जान्छु ।’

उनीसँग एउटा रमाइलो किस्सा छ, पहिलो म्युजिक भिडियो बनाउँदाको । ‘लुकीछिपी किन मायामा’ गीत लिएर पाँचथरको आफ्नै गाउँ पुगे, भिडियो बनाउन । आफ्नै किशोरवय बितेको ठाउँ, आफ्नै दौंतरीहरुसँग खेलेको ठाउँ, आफ्नै परिवेशमा रमाएको ठाउँ । उनीसँग थुप्रै-थुप्रै अनुभव र अनुभूति थिए त्यहाँको माटोसँग जोडिएका । उनले तिनै अनुभूतिहरुलाई कथानक प्रारुपमा उतारे र भिडियोमा राख्न चाहे ।

तर जम्माजम्मी तीन मिनेटको गीतमा सबै कथा कसरी समेट्न सकिएला ? त्यसबेला उनलाई आफ्नो कच्चापन वोध भयो । म्युजिक भिडियो त तयार भयो तर उनको धीत मरेन । आफूले देखाउन र भन्न खोजेका थुप्रै दृश्यांश थाँती रह्यो ।

‘१२-१५ मिनेटको कथाका लागि थुप्रै फुटेज खिचिएको थियो, जुन एउटै म्युजिक भिडियोमा राख्न सम्भव भएन,’ नवीन सुनाउँछन्, ‘बाँकी फुटेज यत्तिकै रह्यो ।’

कोरोना महामारी सुरु भएपछि सबै कामकाज ठप्प भयो । त्यसमाथि पट्यारलाग्दो लकडाउन । के गरौं, कसो गरौं छटपटी हुने नै भयो ।

त्यही बखत उनले पहिला खिचेर बाँकी रहेका फुटेजमा केही काम गर्न सकिन्छ कि भनेर साथीभाइसँग सल्लाह गरे । उनीहरुले त्यही भिडियो जोडजाड गरे । अनि बोलाए, हर्क साउदलाई ।

ठेट शब्दावली घुसाएर गीत लेख्नमा सिपालु छन् हर्क । उनले सरसर्ती भिडियो हेरे । त्यसैका दृश्यहरुसँग मेल खाने शब्दलहर तयार गरे । अन्ततः यस्तो पंक्ति तयार भयो-

के माया लाग्छ र ?

उखुमै लाग्छ नि

मेरो याद आउँछ र ?

हुरहुरी आउँछ नि

कोरोनाले स्तब्ध माहोललाई यो गीतले तंग्राइदियो । प्रेम भावनाका ठट्यौली भाकाले तन्नेरी पुस्ताको मनमा उथलपुथल नल्याउने कुरै भएन । गीतसँगै भाकामा भाका मिलाउनेहरु बढ्दै गए र गीतले अनपेक्षित चर्चा कमायो ।

‘खासमा यो गीत र भिडियो बाइप्रोडक्ट थियो, अघिल्लो म्युजिक भिडियोको,’ नवीन सुनाउँछन्, ‘तर यही गीतले हामीलाई थप काम गर्न हौसायो ।’

अब कुरा गरौं, ‘तीनपाते’को । ‘देखेर तिमीलाई, हेरेर तिमीलाई’ गीत लेखिएकै थिएन, जतिबेला नवीन १०-१५ जनाको टोली लिएर काठमाडौंबाट इलामको मंगलबारे पुगे । त्यहाँ पुगेर उनी धमाधम छायांकन गर्न थाले । कहिले स्थानीय हाटको, कहिले बिहेको । अनि कहिले वैदेशिक रोजगारीबाट युवा गाउँ फर्कंदै गरेको ।

खासमा नवीनसँग एउटा खाका थियो, युवा उद्यमशीलताको । घरगाउँमै आफ्नो इलम गरेर सफलता र सन्तुष्टिको ग्राफमा उक्लिएको । यो उनको आफ्नै अनुभवसँग जोडिएको कथा पनि थियो । त्यसबेला नवीन काठमाडौंमा बसेर छुर्पी, घिउ आदि व्यवसाय गर्थे । उनका सहपाठी मिलन खत्री गाउँमै डेरी उद्योग चलाउँथे ।

दुवैको इलमसँग मिल्दो कथालाई उनले प्रेम सम्बन्धको प्रसंग घोलेर दृश्य खिचे अनि काठमाडौं फर्किए । तिनै दृश्य हेर्दै हर्क साउदले गीत लेखे । सुजन चापागाईं र विद्या तिवारीले गीत गाए । यसरी तयार भयो ‘तीनपाते’ ।

‘खासमा कथा भन्ने हुटहुटीले मलाई तीनपाते बनाउन उक्सायो,’ नवीन भन्छन्, ‘यो म्युजिक भिडियो नभई म्युजिकल भिडियो थियो ।’

यसपछि उनले सीमावर्ती क्षेत्रको जनजीविकामाथि ‘बाफ’, मानवीय सम्बन्धमाथि ‘धागो’, अन्तरजातीय प्रेममाथि ‘लिम्बूनी कान्छी’, बसाइँसराइमाथि ‘घुमी घुमी’ बनाए । अनि बनाए, ‘चन्द्रमा’ ।

‘यो चाहिं मेरो पछिल्लो र सम्भवत म्युजिकल भिडियोको अन्तिम प्रोजेक्ट हो,’ नवीन भन्छन्, ‘त्यसैले यसलाई मैले सबैमा समर्पणभाव प्रस्तुत गर्न खोजेको छु ।’ यस भिडियो निर्माण पनि उनले आफ्नो पूर्ववत् शैलीमा गरेका हुन्, दृश्यांश खिच्ने र पछि गीत-संगीत भर्ने ।

‘अरुबेला मैले क्यामेरा पछिल्तिर उभिएर अरुको कथा भनिरहेको थिएँ,’ नवीन भन्छन्, ‘यसपालि आफैंतिर फर्काएका छौं ।’

भिडियो छायांकनका क्रममा जुन गाउँ-ठाउँ पुगिन्छ, त्यहाँका वासिन्दासँग हार्दिक सम्बन्ध स्थापित हुन पुग्छ । छायांकनका लागि आफ्नै घर खाली गरिदिनेदेखि आवश्यक सरसामान तुरुन्तै जुटाइदिनेसम्मको काम गरिदिन्छन् । त्यहाँ रहँदा बस्दा उनीहरुसँग घनिष्ठता अरु बढ्छ, जुन छुट्नेबेला बढी महसुस हुन्छ । ‘यसरी छायांकन गर्ने क्रममा त्यस भेगमा वासिन्दाले कसरी सहयोग गर्छन्, कसरी माया पोख्छन्, उनीहरुसँग सुटिङ युनिट कसरी घुलमिल हुन्छन् भन्ने कुरा देखाउने रहर थियो,’ नवीन भन्छन्, ‘चन्द्रमामा त्यही धोको पूरा गरेको छु ।’

यस किसिमको शैली चाहिं उनले चिनियाँ फिल्ममेकर झाङ यीबाट प्रभावित भएर तयार गरेको बताउँछन् । नवीन भन्छन्, ‘उनी मलाई असाध्यै मनपर्ने निर्देशक हुन् र यो भिडियो उनलाई पनि अर्पण गर्न चाहन्छु ।’

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर



from Online Khabar https://ift.tt/6SqPOYA

Post a Comment

0 Comments