नेपाली टोपी
प्रज्ञा प्रतिष्ठानको नयाँ शब्दकोशले ‘शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति चुलो र घेरा हाली सिइएको बस्त्र वा शिरपोस’ लाई टोपी भनी परिभाषित गरेको छ। त्यसैले नेपाली टोपी भनेको ढाका टोपी मात्रै होइन। नेपालभरि लगाइने सबै प्रकारका टोपीहरू नेपाली टोपी नै हुन्। नेपालमा प्रयोग हुने विभिन्न प्रकारका टोपी जस्तै भादगाउँले टोपी, नेपाली टोपी, आदिकवि भानुभक्तले लगाउने बिर्के टोपी, मैथली आदिकवि विद्यापतिले लगाउने विद्यापति टोपीलगायत नेपालका विभिन्न जातजातिले प्रयोग गर्दै आएका टोपीहरू नेपाली टोपी नै हुन्।
नेपालमा टोपी लगाउन कहिलेदेखि सुरु भयो वा यसको विकासक्रम के हो भन्ने जानकारी कहींकतै पनि पाइँदैन। यो परापूर्वकालदेखि प्रयोगमा आएको बस्त्र हो। नेपालमा विविध भूगोल, क्षेत्र, जाति वा समुदाय अनुसार आ-आफ्ना प्रकारका टोपी रहिआएका छन्। नेपालमा धेरै प्रकारका टोपी हजारौं वर्षदेखि लगाउने गरिएको छ। ढाका टोपी धेरै प्रकारका टोपीमध्येको एक नेपाली टोपी हो।
ढाका टोपी र बंगलादेशको ‘ढाका’
विकिपिडिया अनुसार नेवारी समुदायमा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई ‘धाका’ भनिन्छ। धाकाबाट बुनिएको टोपीलाई ‘धाका तपुली’ भनिन्छ। डोटेली भाषा (खस भाषा) मा घरमै परम्परागत तरिकाले बनाइएको धागोलाई ‘धाका’ नै भनिन्छ। परम्परागत रुपमा घरेलु धाकाबाट मुख, टाउको छोप्ने मखरल, टोपी र महिलाहरूले टाउकोमा बाँध्ने स्काप पनि बनाइन्थ्यो। त्यसरी बनाइएको टोपीलाई ‘धाका टोपी’ भनिन्थ्यो। त्यो ‘धाका टोपी’ लाई नै आजकाल ढाका टोपी भनिन्छ।
केही मानिस ढाका टोपीको ‘ढाका’ शब्दलाई बंगलादेशको राजधानी ढाकासँग पनि जोड्छन्। तर्क गर्न र विविध कोण वा विचारबाट घटना र वस्तुको विश्लेषण गर्नु सही भए पनि ढाका टोपी चैं नितान्त नेपाली उत्पादन नै हो। केही विश्लेषकहरूले टाउको ‘ढाक्ने’ हुनाले टाउको ‘ढाक्ने टोपी’ लाई कालान्तरमा ‘ढाका टोपी’ भनियो भनेर पनि भनेका छन्।
ढाका टोपीको विस्तार
विकिपिडिया अनुसार ढाका टोपी नेवा समुदायको मौलिीक पहिरन हो। प्राचीनकालदेखि नेपालमण्डल उपत्यकामा ढाका टोपी घरेलु तानमा हातले बुनेको ‘धाका’ धागोबाट बनाइन्थ्यो। समयक्रममा नेवारहरू उपत्यका भन्दा बाहिर पुगेपछि ढाका टोपी पनि उनीहरूसँगै नेपालभर फैलिएको हो। पाल्पाली र पूर्वेली ढाकाटोपी देशका उत्कृष्ट टोपी हुन्।
टोपी दिवस
२०१३ कै नोभेम्बर २६ मा फेसबुकमा नेपाली टोपी दिवसको पेज बनाएर हामी दुईले ‘आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं’ भन्दै २०१४ जनवरी १ मा पहिलो अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन फेसबुक पेजबाट गरिएको आह्वान अहिले दश वर्षको भएको छ।
स्थापनाको पहिलो तीन वर्ष प्रचारप्रसार र यसको अवधारणा मानिसहरूमा स्थापित गर्न नै लाग्यो। अहिलेसम्म आइपुग्दा टोपी दिवस सार्वजनिक पर्व वा दिवसको रुपमा स्थापित भइसकेको छ। मानिसहरूले यसलाई स्वीकार गरी नियमित रुपमा मनाउने गरेका छन्।
यो अभियानमा नेपाली वा नेपाली मूलका कलाकार, उद्यमी, व्यापारी, शिक्षक, विद्यार्थी, समाजसेवी, राजनीतिकर्मी तथा वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली र अन्य देशमा बस्ने नेपाली मूलका नागरिकको व्यापक सहभागिता रहने गरेको छ। देश विदेशका विभिन्न स्थानमा मानिसहरूले स्वस्फूर्त र्याली पनि निकाल्ने गर्दछन्।
हरेक वर्ष अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस नेपालका मुख्य शहरका साथै अमेरिका, क्यानाडा, युरोपका विभिन्न देश, मध्यपूर्व, अफ्रिका, जापान, कोरिया, ताइवान, सिंगापुर, म्यानमार (बर्मा), थाइल्याण्ड, अष्ट्रेलिया, मलेसिया, भारतलगायत नेपाली र गोर्खाली मूलका नागरिकको बसोबास भएका ८० वटा मुलुकमा आ-आफ्नो अनुकूलता अनुसार मनाइने गरेको छ।
हामीलाई लागेको छ- अहिले यो अभियान नेपाली मूलका नागरिकबीच पूर्णता स्थापित भइसकेको छ। हामी दुईजनाले दश वर्षअगाडि सामाजिक संजालबाट सुरु गरेको यो अभियानमा अहिले थुप्रै संघ–संस्था र व्यक्ति जोडिन आएका छन्।
टोपी दिवसको पृष्ठभूमि
हामी वा हाम्रो अभियान नै नेपाली टोपी प्रवर्धनको सर्वेसर्वा होइन। हामीले यो अभियान सुरू गर्नुअघि नै पनि छिटफुट रूपमा आ-आफ्नो हिसाबले कहींकतै केही व्यक्तिले नेपाली टोपी लगाउने र यसको प्रवर्धन गर्ने प्रयास गरेका थिए। हामीले अभियान सुरु गर्नुभन्दा केही वर्ष पहिले टोरोन्टो, क्यानाडामा डा. गोविन्दसिंह रावतले महिनाको एकपल्ट नेपाली जम्मा भई स्थानीय कुनै रेस्टुरेन्टमा बसी टोपी लगाउने प्रयास गरेका थिए। उक्त प्रयास अभियान बन्न सकेन र क्यानाडाकै अन्य सहरमा समेत विस्तार हुन सकेन। अहिले डा. रावत पनि हाम्रै अभियानमा छन्।
जनवरी १ र टोपी दिवस
हरेक वर्ष टोपी दिवसको अवसरमा हामीहरूलाई देश–विदेशबाट कार्यक्रमको रूपरेखा, यसको इतिहास र उद्देश्यबारे थुप्रै जिज्ञासा आउँछन्। सामाजिक संजालमा धेरैपटक आउने एउटा जिज्ञासाचाहिंँ विदेशी नयाँ वर्ष जनवरी १ भन्दा नेपाली नयाँ वर्ष वैशाख १ गते गर्दा राम्रो हुन्छ भन्ने हो।
हामीले जनवरी १ लाई धेरै सोचविचार गरेर नै छानेका हौं। हामीले विदेशी नयाँ वर्ष मनाउन खोजेका होइनौं बरू जनवरी १ लाई नेपालीपनको दिन बनाउन खोजेका हौं। अहिले जनवरी १ अंग्रेजी नयाँ वर्षभन्दा पनि नेपाली टोपी दिवसको रूपमा नेपालीमाझ स्थापित भएको छ। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवर्धन गर्न मद्दत गरिराखेको छ।
जनवरी १ मा नेपालमा सार्वजनिक बिदा नभए पनि युवा पुस्तामा उत्सवको मानसिकता हुन्छ। नयाँ पुस्तामा नेपालीपनलाई प्रवेश गराउने यो सबैभन्दा उपयुक्त दिन हो भन्ने हामीलाई लागेको छ। वैशाख १ त नेपालीको मौलिक नयाँ वर्ष हुँदै हो।
टोपी र महिला
सामाजिक संजालमा अर्को जिज्ञासा पनि छ, पुरुषले त टोपी लगाउलान्, महिलाले के लगाउने ? परम्परागत रूपमा टोपी पुरुषकै पोशाक हो। त्यसैले पहिलो वर्ष हामीलाई महिलाले यो दिवसलाई कसरी लिइदेलान् भन्ने लागेको थियो नै।
गजबको कुरा, पहिलो टोपी दिवसदेखि नै यस अभियानमा पुरुष जत्तिकै महिलाको पनि बाक्लो उपस्थिति रहेको छ। फेरि अहिलेको समयमा महिला र पुरुष भनेर किन छुट्यााउनु ? टोपी जसले लगाए पनि हुन्छ। सामाजिक संजालमा फोटाहरू हेर्दा नेपाली टोपीमा नारीहरू झनै सुन्दर देखिएका छन्।
टोपी दिवस र यसको संचालन
सामाजिक संजालमा थप अर्को जिज्ञासा छ, यो कसले र किन गरिरहेको छ ? ‘यो त पुरानो र प्रतिगामी सोच हो। यो निश्चित जाति वा क्षेत्रका मान्छेको मात्रै पोशाक हो।’ नेपाली टोपीको प्रयोग अहिले भर्खर वा उहिलेका कुनै राजा–महाराजाले चलाएको चलन होइन। यो त पुर्खादेखि नेपालीले लगाउँदै आएको पोशाक हो। स्थानीयस्तरमै बनाएर लगाउने गरिएको नेपाली परम्परागत टोपी त कहिले सुरु भयो भनेर भन्न पनि सकिंदैन।
फेरि विविधता हरेक देशमा आफ्नै किसिमका हुन्छन्। कुनै पनि किसिमको विविधता नभएको कुनै देशै छैन संसारभर। विविधतालाई स्वीकार गर्दै सबैभन्दा चल्तीको एउटा पर्व राष्ट्रिय पर्व हुनु, सबैभन्दा चल्तीको एउटा पोशाक राष्ट्रिय पोशाक हुनु वा सबैभन्दा चल्तीको एउटा भाषा राष्ट्रिय भाषा हुनु संसारभरिको मान्यता हो।
अवश्य पनि सबै विविधतालाई सम्मान गर्दै, तिनलाई सम्वर्धन र विकास गर्नुपर्छ। साथै, सबैलाई एउटा सम्पर्क माध्यमले जोड्नु पनि पर्छ। कुनै एउटा समुदायले आफ्नो पोशाक लगाउँछु भन्दा अर्कोले गुनासो गर्नुभन्दा पनि आफूले पनि आफ्नो मौलिक पोशाकको प्रवर्धन गर्नु राम्रो हुन्छ। आफूलाई मन लागेको पोशाक लगाउन हामी सबै स्वतन्त्र छौं।
हामीले पनि राष्ट्रिय पोशाकको भन्दा ऐतिहासिक र सांस्कृतिक महत्वको नेपाली टोपीको प्रवर्धन गरेका छौं। नेपाली टोपी नेपालमा मात्रै होइन नेपाल बाहिरका लाखौं नेपालीको साझा पोशाक पनि हो। त्यसैले यसको प्रवर्धनमा न प्रतिगमन हुन्छ न त उग्र राष्ट्रवाद नै !
यो अभियान सफल भइैसकेपछि यो अभियानको स्थापनाको जस लिने होडबाजी पनि चल्यो। केही मान्छे वा समूहले यसलाई हामीले सुरु गरेका हौं भनेर केही मिडिया र सामाजिक संजालहरूमा समेत प्रचार गरे। विगत केही वर्षदेखि भने त्यो स्वर अलिक मत्थर भएको छ।
टोपी दिवसको अभियानलाई व्यवस्थित गर्न २०७४ सालमा नेपाली टोपी प्रतिष्ठानको स्थापना गरिएको छ।
टोपी र धोती
केही वर्ष पहिले टोपी दिवस मनाएकै दिन मधेशको एउटा ठाउँमा धोती दिवस मनाएको फोटाहरू पनि देखियो। तथापि विगत ३-४ वर्षमा त्यो अभियान पनि देखिएको छैन तर सामाजिक संजाल वा मिडियामा केही मानिस अझै पनि टोपी व धोती दिवसले पहाडी-मधेशी समुदायको सांस्कृतिक सन्तुलनमा खलबल ल्याउँछ भनेर लेख्ने चैं गर्दछन्। जनवरी १ मै मनाउन सुरु गरिएको धोती दिवस पनि आफ्नो पहिचान स्थापना गर्नको लागि समुदायले गरेको अभियान भएकोले त्यसलाई अन्यथा लिनुहुँदैन।
नेपाल बहुविचार, जाति, भाषा, धर्म, संस्कृति र रहनसहनले भरिपूर्ण एक सुन्दर फूलबारी हो। यस फूलबारीमा सबै फूलले फुल्ने र फैलने अवसर पाउनुपर्छ। टोपी पनि, धोती पनि र बख्खु पनि। कसैले आफ्नोपनको प्रचारप्रसार गर्छ भने उसलाई कुनै पनि बहाना र आक्षेप लगाएर अपमान र विकृत बनाउनुहुँदैन। प्रजातन्त्रको यो सामान्य प्रयोग हो। स्वस्फूर्त रुपमा उठेका विविध अभियान, प्रयास, विचार र क्रियाहरूलाई खुल्ला मनले स्वीकार गर्नुपर्दछ।
नेपाली टोपी दिवसमार्फत सुरु भएको नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानको स्थापना गर्ने यो अभियान मन नपराउने केही मानिसको लागि भने यो टोपी दिवस टाउको टुखाइ बनेको छ। त्यस्ता व्यक्तिहरूलाई जनताले नै सजाय दिन्छन्।
जहाँसम्म धोतीको कुरा छ। धोती हाम्रो समाजमा एक पवित्र वस्त्र हो। पूजापाठ गर्दा, मन्दिर र पवित्र स्थानहरूमा कार्य गर्दा त झन् धोती नभई हुँदैन। पूजा/होम आदि गर्दा धोती नभईै हुँदैन। त्यसैले धोती मधेशमा मात्रै होइन, पहाडमा पनि उत्तिकै सम्मानित पोशाक हो। धोती मधेशको मात्रै पोशाक होइन नेपाली सबैको पोशाक हो। यो हाम्रो जीवनको एउटा अभिन्न वस्तु नै हो। यसलाई हेलाको ध्येयले हेर्नु वा चित्रित गर्नुहुँदैन।
टोपी र राष्ट्रिय पोशाक
हामीले पहिलो अन्तर्राष्ट्रिय टोपी दिवस मनाएको तीन महिनापछि झापा, बिर्तामोडमा आर्ट अफ लिभिङको नेतृत्वमा नेपाली टोपी दिवस भनेर र्याली समेत गरिएको थियो। हामीले अन्तर्राष्ट्रिय टोपी दिवसमार्फत नेपाली महाजातिको पहिचानको अभियान चलाउँदै गर्दा नेपालमै राष्ट्रिय पोशाकलाई पुन:स्थापित गर्ने प्रयास हुनुलाई पनि टोपी अभियानको सफलताको संकेतको रुपमा लिइएको छ। जुनसुकै अभियान वा कार्य होस्, नेपाल र नेपाली जातिीको भलो हुने कार्य छ भने त्यसलाई सहयोग र समर्थन गर्नुपर्दछ।
हामीले गर्ने गरेको अभियानमा कुनै पनि राजनीतिक वा धार्मिक व्यक्तिको संलग्नता छैन। हामी विशुद्ध नेपाली टोपी त्यो पनि राष्ट्रियता भन्दा धेरै पर सम्पूर्ण नेपाली महाजातिको पहिचानको चिह्नको प्रवर्धन गरिरहेका छौं।
हामी सबैलाई थाहा छ, नेपाल वा नेपाल बाहिर पनि नेपाली वा नेपाली मूलका नागरिकबीच नै धर्म, क्षेत्र, जातजाति, भाषा, पोशाक, संस्कृति, रीतिरिवाज, पर्व र ऐतिहासिकता आदिमा विविधता छ। यो जति विविध छ त्यति नै एकाकार पनि छ।
टोपी लगाउनु, दशैं मनाउनु, तिहारमा टीका लगाउनु वा भैलो र देउसी खेल्नु, सेलरोटी खानु अधिकांश नेपालीले गर्ने काम हुन्। तीमध्ये टोपी नै एउटा पोशाक हो जुन कुनै पनि अवसरमा प्रयोग गर्न सकिन्छ।
अन्त्यमा, नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन्। त्यसबाहेक विभिन्न जातजातिको आफ्नै टोपी पनि छन्। नेपाली आदिकवि भानुभक्तले लगाएको बिर्के टोपी, मैथली आदिकवि विद्यापतिले लगाएको टोपी उतिसारो चलनचल्तीमा नभए पनि चर्चित छन्।
अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आ–आफ्नो क्षेत्र, जाति-जनजातिले आफ्नै टोपी वा टाउकोमा आ-आफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो चाड/दिवस हो।
यसै दिवसको समयमा कसैले टोपीसँगै दौरा–सुरुवाल लगाउँछु वा कसैले धोती वा बख्खु लगाउँछु भने पनि ऊ स्वतन्त्र छ। हाम्रो अनुरोधचाहिं, जीउमा जे लगाउनुस् तर टाउकोमा भने टोपी लगाउनुस् भन्ने मात्रै हो। अनुरोध स्वीकार गर्ने–नगर्ने त व्यक्तिमा भर पर्ने कुरा हो। नेपाली भनेर जुनसुकै पोशाक लगाए पनि विदेशमा भने नेपाली भनेर टाढैबाट चिनाउने नेपाली टोपीबाहेक कुनै अर्को वस्तु छैन।
डा. काफ्ले पिंगतुग, ताइवान बस्छन् भने बन्जाडे काठमाडौं निवासी हुन्।
from Online Khabar https://ift.tt/WqUp85b
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।