ब्रेकिङ न्युज

6/recent/ticker-posts

आरके शर्माले कतारका ५७ संस्थालाई साक्षी राखेर घोषणा गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी

३० भदौ, दोहा (कतार) । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि राजेन्द्रकुमार(आरके) शर्माले कतारबाट औपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

कतारमा आयोजित एक कार्यक्रममा ५७ संस्थालाई साक्षी राखेर शर्माले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।

नेपाल महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभाग समन्वयमा ५७ वटा संघसंस्थाको आयोजनामा भएको तीज कार्यक्रममा शर्माले अध्यक्षमा उम्मेदवारी घोषणा गरे ।

‘कतारमा स्थापित सबै संघसंस्थाले गरेको कार्यक्रममार्फत मैले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ शर्माले भने, ‘१० दिनभित्रमा काठमाडौंमा औपचारिक कार्यक्रम गरेर आफ्नो एजेन्डासहित उम्मेदवारी घोषणा हुनेछ।’

शर्माको उम्मेदवारीले कतारका सबै सामाजिक संघसंस्थाले समर्थन जनाएका छन् ।

उनले आफूले कतारमा श्रमिक हुँदै व्यवसाय गरेर सामाजिक अभियानमा जोडिएको भन्दै एनआरएनए आईसीसीको उम्मेदवारी सम्बृद्ध नेपाल बनाउनको लागि र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नको लागि भएको बताए ।

उनले एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, कतारका अग्रज अभियन्ता तथा पूर्वउपाध्यक्ष सागर नेपालसहितको सपना साकार बनाउन अध्यक्षमा उठ्न लागेको बताए ।

‘गैरआवासीय अभियान अन्तर्गत दोस्रो संघ कतारमा स्थापना भयो, संस्थापक उपाध्यक्ष समेत कतारबाट डा डंगोल बन्नुभयो,’ उनले थपे, ‘त्यसपछि अग्रज सागर नेपाल उपाध्यक्ष बन्नुभयो । नेतृत्वमा लैजानको लागि पूर्वाग्रह राख्ने काम अहिलेसम्म भएको छ,यो पटक त्यो तोडिने छ।’

उनले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकतादेखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको जानकारी दिए ।

उनले अब चाडै काठमाडौँ गएर औपचारिक कार्यक्रम गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताए ।

उनले मध्यपूर्वलगायत विश्वाभरिका सामाजिक अभियन्ताहरुको विचार र मन फरक रहला भए पनि नेपालीका लागि नेपाली भन्ने मूल उद्देश्य अनुरुप साझा रूपमा अगाडि बढ्ने बताए ।

सोही संकल्प बोकेर मध्यपूर्वदेखि, युरोप, ओसियानालगायतका ३५ देश पुगेर त्यहाँ एनसीसी साथै सामाजिक अभियान्ता बुद्धिजिवीहरुसँग साक्षत्कार गर्दै सुझाव संकलन गरिरहेको उनले बताए ।

अमेरिका क्षेत्रका अभियन्ताहरूसँग भेटेर अन्तरक्रिया गर्न क्यानडाको यात्रामा निस्किने तयारीमा रहेको उनले बताए ।

पछिल्ला साता विश्वभरका नेपालीहरूबाट पाएको सल्लाह र सुझावले निकै उत्साहित बनाएको बताए ।

कतारलाई कार्यथलो बनाएर स्वदेश र विदेशका विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका शर्माले प्रवासमा रहेका नेपाली व्यवसायीसँगै श्रमिकहरुको हकहितका लागि सक्रिय रहने बताए ।

शर्माले एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने प्रतिवद्धता जनाए ।२१औं शताब्दी अनुसार प्रविधिमैत्री एनआरएनए बनाउनु पर्ने धारणा उनको छ ।

एनआरएनएको आगामी कार्यकाल सन् २०२३–०२५ का लागि वर्तमान उपाध्यक्ष महेश श्रेष्ठले पनि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

डा.बद्री केसी, रविना थापा, विनय अधिकारी पनि अध्यक्षका आकांक्षी छन् तर उनीहरूले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न बाँकी छ ।

दोहाबाट योगेन्द्र योगीको सहयोगमा 



from Online Khabar https://ift.tt/SXdzInl

Post a Comment

0 Comments