ब्रेकिङ न्युज

6/recent/ticker-posts

औषधिले शरीरमा कसरी काम गर्छ ?

टाउको दुख्दा, पेट दुख्दा वा संक्रमणको उपचारमा हामी औषधि खान्छौं,  तर कहिल्यै सोच्नुभएको छ- शरीरमा यो समस्याको उपचार गर्नुपर्छ भनेर कसरी थाहा हुन्छ ? शरीरका सबै अंगहरुलाई छोडेर, औषधिले आवश्यक पर्ने ठाउँमा मात्र काम गर्छ, त्यो कसरी सम्भव भएको होला ?  धेरै मानिसलाई त्यस्ता औषधिले आफ्नो शरीरमा कसरी काम गर्छ भन्ने कुरा सायदै थाहा हुन्छ होला ।

हाम्रो शरीरको प्रणालीले शरीरलाई चाहिएको कुरा आफैं खोजेर निकाल्छ । साथै, चाहिएको स्थानमा त्यसको प्रयोग पनि गर्छ ।

शरीरमा कसरी काम गर्छ ?

औषधि खाँदा सबैभन्दा पहिला यो पेटमा पुग्छ र साना-साना टुक्रामा विभाजित हुन्छ । त्यसपछि यो कलेजोसम्म पुग्छ । यसले औषधिको शरीरलाई आवश्यक तत्त्व हाम्रो रगतमा पठाउँछ । शरीरको सबै अंग तथा मांसपेशीमा रगतको माध्यमबाट नै आवश्यक तत्त्व पुग्छ । औषधि पनि रगतकै माध्यमबाट हाम्रो शरीरभर पुग्ने फेमिली हेल्थ तथा इमर्जेन्सी फिजिसियन डा. रमेश पन्त बताउँछन् ।

‘जुनसुकै औषधि पनि रगतको माध्यमबाट हाम्रो शरीरभर फैलिन्छ । तर प्रत्येक औषधि कुनै निश्चित प्रोटिन मोलिक्युस अर्थात् ग्रहणकर्ताको लागि बनाइएको हुन्छ,’ उनी भन्छन्, ‘हामीले जुन समस्या निवारणका लागि औषधि खाएका हुन्छौं, उक्त समस्या समाधानको लागि त्यो मोलिक्युसले औषधि लिन्छ र रोगविरुद्ध लड्न थाल्छ ।’

औषधि भनेको साँचो जस्तै हो, यो शरीरभरि फैलिन्छ र जहाँ फिट हुनसक्छ, त्यहाँ बस्छ । यसबाट जे प्रयोजनका लागि औषधि खाइएको हो, त्यसको काम पूरा हुने डा. पन्त बताउँछन् ।

‘लक्षित स्थानमा औषधि पुगेपछि यो एक कोषको रुपमा विकास हुन्छ । त्यसैले यसले राम्रो काम गर्न थाल्छ,’ उनले भने ।

उत्सर्जन

मेटाबोलिज्मपछि औषधिले काम गर्ने अन्तिम चरण उत्सर्जन हो । निष्क्रिय औषधि शरीरबाट बाहिर जान्छ । निष्क्रिय औषधिको उत्सर्जन पिसाब वा मल मार्फत हुने डा. पन्त बताउँछन् ।

‘क्लिनिकल फार्माकोलोजिस्टहरूले पिसाब र रगतमा औषधिको मात्रा नाप्छन् । जसबाट व्यक्तिले कसरी औषधि प्रशोधन गरिरहेको छ भनेर गणना गर्न सकिन्छ । उदाहरणका लागि यदि औषधि अपेक्षाकृत छिटो उत्सर्जित हुन्छ भने उच्च खुराक आवश्यक हुन सक्छ । यसरी औषधिले काम गर्छ,’ उनी भन्छन् ।

औषधिमा केही अन्य तत्त्व पनि हुन्छन्

डा. पन्तका अनुसार औषधिले प्रभावित ठाउँका लागि सक्रिय औषधिबाहेक अन्य धेरै सामग्री समावेश गर्छ । औषधिमा अन्य सामग्रीहरू पनि समावेश हुन्छन्, जसले औषधिको स्थिरता, अवशोषण, रंग, स्वाद र अन्य गुण बढाउँछन् । ताकि औषधिले प्रभावकारी रूपमा काम गर्न सकोस् ।

उदाहरणका लागि टाउको दुखाइका लागि लिइने औषधि एस्पिरिनमा पनि यस्ता तत्त्व हुन्छन् । जसकारण औषधि ढुवानीका क्रममा बिग्रेको हुँदैन, तर त्यस्ता औषधिहरू मुखमा लिने बित्तिकै पग्लिन थाल्छ ।

कतिपय औषधि सिधै प्रभावित ठाउँमा दिइन्छ

कतिपय औषधिहरू यस्ता हुन्छन्, जो पेटमा पग्लिंदैनन् भने केही औषधि बिस्तारै पग्लिन्छन् । केही कम घुलनशील हुन्छन्, जसकारण तिनीहरूलाई बारम्बार लिनुपर्छ । त्यसैले पेटको पाचन प्रक्रियाबाट बच्न, केही औषधिहरू सिधै रगतमा सुईमार्फत दिइने डा. पन्त बताउँछन् । ‘उदाहरणका लागि ‘मोनोक्लोनल एन्टिबडी’हरूले क्यान्सर ट्युमर कोषिकालाई मार्ने विशेष प्रोटिनहरू समावेश हुन्छ । यदि यो औषधि पेटको माध्यमबाट शरीरमा पुग्छ भने पेटले यसलाई अन्य प्रोटिनबाट छुट्टाउन सक्दैन,’ उनी भन्छन् ।

छालाको लागि क्रिम, आँखाको लागि आईड्रप वा फोक्सोको लागि इनहेलर जस्ता औषधि सिधै प्रभावित क्षेत्रमा पुर्‍याइन्छ । डा. पन्त भन्छन्, ‘मुखबाट खाने औषधि सही समयमा र सही मात्रामा लिनु धेरै महत्त्वपूर्ण हुन्छ । यस्तो अवस्थामा डाक्टरले मात्र बिरामीको अवस्था अनुसार सही खुराक निर्धारण गर्न सक्छन् । कतिपय औषधि बिरामीले आवश्यकता महसुस गरेपछि मात्रै लिनुपर्छ ।’

औषधिको साइडइफेक्ट ?

औषधिलाई विशेषगरी प्रभावित ठाउँमा असर गर्नेगरी डिजाइन गरिएको हुन्छ । तर रगतको माध्यमबाट शरीरका अन्य भागहरूमा पुग्नबाट रोक्न सम्भव नहुन सक्छ । जसकारणले अनावश्यक ठाउँमा जाँदा औषधिको साइड-इफेक्ट देखिने डा. पन्त बताउँछन् ।

‘समयसँगै औषधिको प्रभाव कमजोर हुँदै जान्छ र पिसाबको माध्यमबाट पनि निस्कन्छ, त्यसैले केही औषधि खाँदा पिसाबको दुर्गन्ध आउँछ भने केही औषधि खाँदा पिसाबको रङ पहेंलो हुन्छ,’ उनी भन्छन् ।

कुन औषधि कति बेला खानु बढी प्रभावकारी ?

डा. रमेश पन्त, फेमिली हेल्थ तथा इमर्जेन्सी फिजिसियन

कुनै पनि रोग ठीक पार्नका लागि औषधि सेवन गर्ने समयले पनि भूमिका खेल्छ । किनभने हाम्रो शरीरको अंग, अलग-अलग समयमा सक्रिय हुन्छ । त्यही कुरालाई ध्यानमा राखेर औषधि सेवन गर्नु बढी प्रभावकारी हुन्छ ।

उच्च रक्तचापको औषधि

जब हामी सुत्छौं, हाम्रो रक्तचाप १० देखि २० प्रतिशतसम्म कम हुन्छ । तर सामान्यता उच्च रक्तचाप ५५ वर्षभन्दा बढी उमेर भएकामा घट्दैन । त्यही कारण सुतेको समय स्ट्रोक वा हृदयघातको खतरा बढ्छ । त्यसैले उच्च रक्तचापको औषधि राति सुत्नुअघि सेवन गर्नु बढी प्रभावकारी हुन्छ ।

थाइराइडको औषधि

थाइराइडको औषधि बिहान खाली पेटमा खानुपर्छ । किनभने केही खानेकुरा र पेय पदार्थहरूले औषधिले शरीरमा काम गर्ने तरिका परिवर्तन गर्न सक्छन् ।

हाइ कोलेस्टेरोलको औषधि

कलेजोमा कोलेस्टेरोलको उत्पादन दिनमा भन्दा रातमा बढी हुन्छ । त्यसैले राति सुत्नुअघि कोलेस्टेरोलको  औषधि सेवन गर्दा बढी प्रभावकारी हुन्छ ।

ग्यास्ट्रिकको औषधि

खाना खानुभन्दा आधा घण्टाअघि ग्यास्ट्रिकको औषधि खानु प्रभावकारी हुन्छ । किनकि आधा घण्टाअघि ग्यास्ट्रिकको औषधि शरीरभित्र पुगेर ग्यासको स्राव नियन्त्रण गर्छ । त्यो खाना खाँदा त्यो सजिलै पच्ने र ग्याससम्बन्धी समस्या कम हुन्छ ।

आस्टियो आर्थराइटिसको औषधि

यस किसिमको रोगीलाई अलग-अलग समयमा दुख्ने, सुन्निने लगायतको समस्या हुन्छ । फ्रेन्च शोधकर्ताले गरेको अध्ययनअनुसार आस्टियो आर्थराइटिसमा लिइने औषधि दुख्नु भन्दा ६ घण्टाअघि लिनुपर्छ । त्यसैले यदि मध्यान्हको समय धेरै दुख्छ भने बिहान औषधि सेवन गर्नुपर्छ । यदि रातको समय बढी पीडा हुन्छ भने मध्यान्हमा औषधि सेवन गर्नुपर्छ ।

एलर्जीको औषधि

एलर्जीको लागि लिइने एन्टिहिस्टामाइन्स ट्याब्लेट खाएपछि निद्रा लाग्छ । यस्तो अवस्थामा दिउँसो औषधि सेवन गर्दा काम गर्न झर्को लाग्न सक्छ । त्यसैले एलर्जीको औषधि राति नै सेवन गर्नुपर्छ ।

डिप्रेसनको औषधि

डिप्रेसन र चिन्ता हटाउने औषधि एन्टिडिप्रेसन सेवन गरेपछि निद्रा लाग्छ । यसकारण यो औषधि पनि राति सुत्नुअघि सेवन गर्नु राम्रो हुन्छ ।

उपभोग्य मिति सकिएको औषधि खाए के हुन्छ ?

डा. छिरिङ वाङ्दी शेर्पा, पेट तथा कलेजो रोग विशेषज्ञ

प्रायः औषधिमा कुनै न कुनै प्रकारका रसायन हुन्छन् । सबै रासायनिक पदार्थहरूको विशेषता भनेको समयसँगै तिनको प्रभाव परिवर्तन हुन्छ । औषधिमा पनि यस्तै हुन्छ । धेरै पटक हावा, आर्द्रता, गर्मीका कारण समयसँगै औषधिको प्रभावकारिता क्रमशः घट्दै जान्छ । यसकारण यसको साइड-इफेक्ट पनि हुनसक्छ ।

त्यसैले म्याद सकिएको औषधि सेवन गर्नुहुँदैन । म्याद नाघेका औषधि सेवन गर्नु जोखिमपूर्ण पनि हुनसक्छ । तर एक्सपायरी डेट भनेको त्यो मितिपछि औषधि विष बन्ने भन्ने पटक्कै होइन । आज औषधिको उपभोग्य मिति सकियो भोलिपल्ट त्यसलाई प्रयोग गर्दा नकारात्मक असर गरिहाल्ने होइन । एक्सपायरी डेटपछि औषधिको प्रभावकारिता कम हुने हो । औषधिको काम गर्ने क्षमता कम हुने हो ।

जस्तो- उदाहरणका लागि नराम्रो ब्याक्टेरिया मार्न एन्टिबायोटिक औषधि खान्छौं । तर यदि हामीले उपभोग्य मिति सकिएको एन्टिबायोटिक औषधि खायौं भने त्यो औषधिको प्रभावकारिता कम भएको कारण ब्याक्टेरिया मर्दैन ।

ब्याक्टेरिया नमरेपछि एउटा त बिरामी समयमा ठीक हुँदैन र अर्को ‘एन्टिबायोटिक रेजिस्टन्स’ संक्रामक जीवाणुको औषधि प्रतिरोध गर्ने क्षमता विकास हुन्छ । त्यसैले उपभोग्य मिति सकिएको औषधि उपभोग नगर्नु नै राम्रो हुन्छ ।



from Online Khabar https://ift.tt/uJD8vFc

Post a Comment

0 Comments