ब्रेकिङ न्युज

6/recent/ticker-posts

रविलाई अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था चुस्त

४ असोज, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

पोखरामा सहकारी पीडित र रास्वपाका नेता-कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । रास्वपाका कार्यकर्ता र सहकारी बचतकर्ता आमने–सामने हुँदा सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाव कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।

रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् ।

शनिबारदेखि रास्वपाको विरोध प्रदर्शनमा माओवादी निकटका कार्यकर्ताहरुको सहानुभूति देखिएको थियो भने सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेकै नेताहरुलेसमेत आह्वान गरिरहेका छन् ।

शुक्रबार पक्राउ पुर्जीमात्रै जारी गरेर रातारात पोखरा ल्याइएको भए पनि भोलिपल्ट शनिबार परेकाले उनलाई आज आइतबारमात्रै अदालत खुलेपछि उपस्थित गराउन लागिएको हो । कास्की जिल्ला अदालतका ६ जना न्यायाधीश शुक्रबार बिदामा थिए । नेपालगञ्जमा रहेका न्यायाधीश कृष्णजंग शाह हतारहतार पोखरा आएलगत्तै पक्राउ पुर्जी जारी गरिएको थियो ।

यसअघि गत असोज ६ गते गोर्खा मिडिया प्रालिकै पूर्वसञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याउँदा नै रविसमेत पक्राउ पर्न लागेको भन्दै रास्वपाका नेता कार्यकर्ताले पोखरामा प्रदर्शन गरेका थिए । सहकारी पीडितले पनि रविलाईसमेत पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै शहीद चोककै जिल्ला प्रशासन कार्यालयबाहिर प्रदर्शन गर्दा केही समय पीडित र समर्थन आमने–सामने भएका थिए ।

शुक्रबार पनि दुवै पक्ष आमने–सामने हुँदा सुरक्षा चुनौती हुनसक्ने भन्दै पीडितलाई कुनै पनि प्रदर्शन नगर्न भनिएको थियो । रास्वपाले मानव अधिकार चोकमा प्रदर्शन गरिरहँदा केही सहकारी पीडित भने जिल्ला प्रहरी कार्यालय कास्की बाहिर जम्मा भएका थिए । तर, आफूहरुकै जाहेरीका आधारमा रवि पक्राउ परेकाले पनि अहिले प्रदर्शन नगर्ने सहकारी पीडितहरुको भनाइ थियो ।

रास्वपाका नेता–कार्यकर्ताले सहकारी ठगीमा प्रत्यक्ष नजोडिएका रविलाई पक्राउ गरी कांग्रेस, एमालेले राजनीतिक प्रतिशोध साँधेको बताइरहेका छन् । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, डिपी अर्याल, सहप्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, तोसिमा कार्कीलगायतले रवि पक्राउको मूल्य सरकारलाई चर्को पर्ने चेतावनी दिएका छन् ।

सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ उठाउन आफूहरुले आवाज उठाइरहेको तर सरकार ५ करोडको पछाडि लागेर संलग्न नै नभएका रविलाई पक्राउ गरेको उनीहरुको भनाइ छ । उनीहरुले एमालेलाई जग्गा दान गर्ने मिनबहादुर गुरुङको मुद्दा विषयान्तर गर्न, सहकारी ठगीमा संलग्न कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाले सांसद ऋषिकेश पोखरेललाई जोगाउन रविलाई पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

सूर्यदर्शन सहकारीबाट रवि पूर्व प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा ५ करोड रुपैयाँ गएको देखिएको छ । रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमासमेत उल्लेख छ ।

सहकारी ठगी प्रकरणमा रविसहित माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए । पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर पीडितहरुले पुरक जाहेरी दिएका थिए ।

 

सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पटक पटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबारमात्र रविसहित १४ जनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।

उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् ।

यसअघि पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाललाई दशैं विदा अघिको १७ गतेलाई आधार मानेर शुक्रबार २० दिन म्याद थप भएको छ । उनी पनि जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमै छन् ।

पहिलो प्रतिवेदनले सहकारी ठगीमा संलग्न अन्य व्यक्तिलाई जोगाएको भन्दै पुरक जाहेरी र चौतर्फी दबाबपछि फेरि विस्तृत अनुसन्धान गरी अर्को प्रतिवेदन तयार गरिएको थियो । गत वैशाख २६ गते पोखरा महानगरका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

२०८० भदौ २१ गतेसम्म संस्थाले प्रयोग गरेको कम्प्युटर लेखा प्रणाली सफ्टवेयरमा उल्लेख भएका कुल १८ हजार ७०० वटा बचत खातामा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रहेको पाइएको प्रतिवेदनले देखाएको छ ।

प्रहरी प्रतिवेदनमा १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । साथै ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।



from Online Khabar https://ift.tt/48KfSlU

Post a Comment

0 Comments