ब्रेकिङ न्युज

6/recent/ticker-posts

अछामदेखि अफगानिस्तानसम्म

अमेरिकन सेनाहरूले छोडेपछि अहिले समय समयमा अफगानिस्तानमा बम बिस्फोट भएको देख्दा म १८ वर्षअघि कसरी त्यहाँ बसेको थिएँ भन्ने सम्झन्छु । तालिबानी सेनाले अब महिलालाई काम गर्न दिने छैन ।

१८ वर्ष अघि म त्यहाँ जाँदा अफगानिस्तानका गाउँहरुमा पनि त्यस्तै भत्किएका घर र कति ठाउँमा रसियनले देश छाडेपछि फ्याँकेका बन्दुकहरु देखिन्थे । हिलो र माटोले गर्दा गाडी भासिएका सडकहरु देखिन्थे, मानिसहरु उदास चुपचाप, मौन र मानौं मसानमा जस्ता देखिन्थे ।

त्यो बेलामा पनि महिलाहरू घर बाहिर निस्कन, पढ्न, बन्देज, विवाहित महिलालाई बाहिरका मानिसहरूसँग कुरा गर्न बन्देज, छक्क पर्ने अवस्था थियो मेरो लागि । ‘तिमीहरुमाथि यस्तो अत्याचार हुँदा पनि किन नबोलेर बसेको ? कसरी यस्तो अत्याचार सहेको होला, कस्ता साहस नभएका मानिसहरु तिमीहरु त,’ मैले अफगानिस्तानमा रहँदा एक डाक्टर सहकर्मीलाई भनेकी थिएँ, ‘किन तिमीहरु यस्तो अत्याचारको विरुद्धमा र आफूलाई परेको पीडाको विरुद्धमा बोल्दैनौ ?’

मेरी सहकर्मी डाक्टर नजिमा, तालिबानको बेलामा दुःख खपेर आएकी एक अफगानी महिला थिइन् । नजिकै बसेका उनका श्रीमान् नजीर पनि डाक्टर थिए । महिला सहकर्मी डा. नजीमा मलाई हेरेर केही बोलिनन्, मुस्कुराइन मात्र, किनभने उनलाई अङ्ग्रेजी भाषा बोल्न आउँदैन थियो, तर उनी भाषा बझ्थिन् । तर डा. नजीर -नजिमाको पति)लाई चाहिं पाकिस्तानमा केही समय बसेकाले अङ्ग्रेजीको बढी ज्ञान थियो । उनले भने- तिमीहरुलाई के थाहा ? हतियार हातमा भएका मानिसहरुको अगाडि बोल्दा कति सतर्क हुनुपर्छ । तालिबानको शासनमा महिलाहरुलाई बाहिर काम गर्न नदिइने भएको हुनाले यसले अफगानी समाजको शिक्षा, राजनीति र स्वास्थ्यलाई नराम्रोसित भत्काइदिएको छ’ ताहिराले भनिन् ।

मलाई एक जना डाक्टर साथीले आफ्नो तीतो अनुभव सुनाए-‘एक पटक म क्लिनिकमा काम गर्दै थिएँ । एक महिला आफ्नो बिरामी बच्चा लिएर मकहाँ आइन् । उनी बाहिर कुरिरहँदा केही तालिबान् पुलिस मेरो क्लिनिकभित्र आएर बाहिर ती महिला के गर्दैछन् भनेर केरकार गरे ।

मैले भनें कि उनको बच्चा बिरामी छ र मकहाँ जचाउन ल्याएकी हुन् । तर उनीहरुले मलाई ती महिलालाई नजाँच्न आदेश दिए र भने कि म एक पुरुष भएको हुनाले मैले उसलाई जाँच्न पाउने छैन ।

म निराश भएँ । मैले ती बच्चा लिएर फर्किन आग्रह गरें । उनी पनि धेरै दुःखी भइन् र मेरो सामु रोइन् पनि । मलाई यति एकदमै बेसहारा र ग्लानी अनुभव भयो कि मैले मेरो डाक्टरी पेशा र अफगानिस्तान नै छोडें ।’

ती साथी अहिले पाकिस्तानमा छन् । ती डाक्टर एक्लो व्यक्ति होइनन्, जसले यस्ता तीता अनुभवहरु संगालेका छन् । अफगानिस्तानमा महिला डाक्टरहरुको पीडा पनि उस्तै थियो र तिनीहरुलाई कडा नियमको पालना गर्नुपर्थ्यो ।

एक जना महिला डाक्टर भन्छिन्- ‘एकपटक ट्याक्सीमा गइरहँदा मलाई अफगानिस्तानको धार्मिक पुलिसले लखेट्यो । तिनीहरुले मलाई रोके र सोधे तिमी किन एक्लै हिँड्दै छौ ? मैले म डाक्टर हुँ र अस्पतालतर्फ जाँदैछु भनें । तिनीहरुले मेरो कुरा विश्वास नगरेपछि मैले मेरो हाकिमलाई बोलाएँ । मेरो आफ्नो बुर्का उतारेपछि हाकिमले मलाई चिनाउनुभयो । तर उल्टो ती तालिबानहरुले मलाई डण्डाले हिर्काए र मेरो शरीरमा घाउ बनाए । यस्ता घटनाहरुले अफगानी महिला तथा पुरुष दुवैलाई कैदमा झैं बस्न बाध्य गराएको थियो । त्यस्तो अवस्थामा मैले कसरी काम गरें हुँला भन त ।’

त्ाालिवानहरुले अफगानिस्तानहरुमा राज्य गर्दा उनीहरुका विरुद्धमा बोल्ने त के कुरा आँखामा आँखा मिलाएर हेर्न पनि सकिँदैनथ्यो । कडा धार्मिक कानून लागू गरेर उनीहरुले देशलाई एउटा जेल बनाएका थिए । कसैले उनीहरुको विरुद्धमा बोल्यो कि गोली या जेल जानुपर्थ्यो । अनि को बोल्ने ? ‘तर अब त बोले हुन्छ नि ।’ मैले भनेकी थिएँ, ‘तालिबानहरु गए अब तिमीहरुकहाँ सुरक्षा गर्ने फौज छ र जुन तिमीहरुको धार्मिक कानून छैन ।

त्यस्तो लाग्छ बाहिरबाट हेर्दा डा.नजिरलेे भने – ‘तर स्थितिमा त्यति धेरै सुधार छैन । तालिबानहरु गाउँ-गाउँमा अझै छन् । उनीहरुको पालामा भनेका कतिपय कानून तोड्न हामीले सकेका छैनौं । अनि फेरि शक्तिशाली भएर उनीहरू आए भने आज हामीले बोलेका गरेका कुरालाई लिएर नै गोली ठोक्न बेर छैन ।’

डा.नजिरका कुरा सुनेर मलाई अफगानीहरुको दशामा दया लागेको थियो । छ महिनासम्म अफगानिस्तानमा बस्दा प्रत्येक दिन कुनै न कुनै घटनाले मलाई उनीहरु यस्तो पीडा सहेर कसरी बसेका होलान् जस्तो लाग्थ्यो । अहिले अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि पुनः त्यही चक्र दोहोरिन लागेको छ ।

अफगानिस्तानको हेरात शहरको एउटा मस्जिदमा महिला भएको कारणले मलाई भित्र पस्न दिइएन । मैले मस्जिदको बाहिरी भागको मात्र फोटो खिचें । मसँगै गएका पुरुष सहकर्मीले चाहिँ मस्जिदभित्र गए, फोटो खिचे ।

महिला भएकै कारणले म अफगानिस्तानमा एक्लै, स्वतन्त्र हिंड्न पाइनँ । ‘बुर्का लगाएर हिँड र कुनै सुरक्षा गार्डलाई साथमा लिएर जाऊ’ मलाई भनिन्थ्यो । दुई वटै कुरा मान्य नभएपछि म घर र अफिस मोटरमा आउने जाने मात्रै गर्थें ।

त्यो देशमा छ महिनाको लागि मात्र आएकी मलाई उनीहरुको कानून र संस्कृतिको विरुद्धमा बोल्नु जरुरी थिएन । त्यसैले झण्डै छ महिना म केबल मोटरमा ओहोर-दोहोर गर्ने व्यक्ति बनें । नेपाल आउनु भन्दा एक दिन अघि चाहिँ काबुल शहरको केही भाग हेर्नुपर्यो भन्ठानें । मैले मेरो ‘एक्लै हिंड्न नपाउने भए नहिंड्ने भन्ने’ आत्मसम्मानलाई केहीछिन् बिर्सेर एउटा गार्डलाई लिएर हिँडे ।

मेरो हातमा भएको रेडियोबाट मैले बारम्बार आफ्नो अफिसको खबर हुनुपर्थ्यो । एक घण्टाजति हिँडेपछि र तालिबानको पालामा नष्ट गरिएका मात्र, छोडेर हिँडेका महिला, धूलो र उजाड काबुल देखेपछि मलाई अरु कतै जान मन लागेन ।

अफगानिस्तानमा म हुँदा नेपालमा पनि माओवादीहरूले दुःख दिइरहेका थिए । उनीहरूले नेपालका कति गा.वि.सहरू खतम पारेका थिए । माओवादीले राजनीतिको नाममा र तालिबानले धर्मको नाममा नष्ट गरे ।

अफगानिस्तानको गाउँहरुमा पनि त्यस्तै भत्किएका घर र कति ठाउँमा कसैले फ्याँकेका पुराना बन्दुक देखिन्थे । हिलो र माटोले गर्दा गाडी भासिएका सडकहरु देखिन्थे । मानिसहरु उदास, चूपचाप मौन र मानौं मसानमा छन् जस्ता देखिन्थे । अब त्यस्तै दिनहरु शुुरु हुनेछन् । जसरी माओवादीको पालामा डरले गाउँका मानिसहरू रात नपर्दै घर छिर्थे ।

अफगानिस्तानमा यी सबै देखेपछि ‘नेपाल पनि माओवादी युद्धको कारणले यस्तै अवस्थाबाट गुज्रिरहेको’ भन्ने विचार गरेकी थिएँ । तर अफगानीहरु त भागेर जान पनि नसक्ने ।

मैले अफगानिस्तान बसुन्जेल ‘अफगानी विचराहरू त जेलमा नै बसेका रहेछन् त’ भन्ने ठानें । त्यहाँ बस्दा लेख्न र बोल्न डर लाग्यो अफगानिस्तानको बारेमा । तालिबानको हातमा बन्दुक र गोली भएकाले उसले जे चाहन्छ । त्यही नै हुन्छ । अफगानिस्तानमा कसैले तालिबानको आलोचना गर्ने सहस गर्दैन । शायद अब अफगानिस्तान १०० वर्षपछि जान्छ होला ।

अफगानिस्तानमा अस्पताल, औषधिहरु प्राय पाइँदैन थियो । नेपालमा पनि अछामका जनताहरु औषधि नपाएर तड्पिन्छन् । अफगानिस्तानका स्वास्थ्यचौकी, अछाम र कर्णाली पुग्दा अस्पतालहरु प्राय डाक्टरविहीन र औषधिविहीन देखिन्छन् । त्यहाँका महिलाहरु बोक्सी र बलात्कारको शिकार भए पनि स्थानीय सरकार मौन हुुन्छ । अझ कति ठाउँमा त नेताहरु नै बलात्कारी हुुन्छन् ।

अफगानिस्तानमा जस्तै नेपाली महिला कुसंस्कारको कारण दुःखी छन् । अफगानी महिलाहरु सबै कुरा सहेर बस्छन् । म काबुल र अफगानिस्तान घुम्दा त्यहाँका महिलाहरुले बुर्का लगाएको देखेर दुःख लाग्यो । अहिले नेपाली महिलाहरु पनि भोक, शोक सबै आत्मसात गरेर केही भएको छैन जस्तै गरेर बस्नु परेको छ, अफगानी महिला जस्तै ।

त्यहाँ कति महिलाहरु प्रसूतिको बेला मर्छन्, तथ्यांक छैन । नेपालमा तथ्यांक त छ, तर विश्वास गर्न लायक छैन । तथ्यांक के छ भने अफानिस्तानमा बोल्न पाइन्न, नेपालमा धन्य बोल्न पाइन्छ ।



from Online Khabar https://ift.tt/3yVSPhF

Post a Comment

0 Comments