ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार’

२९ असोज, काठमाडौं ।

किन आउँछ दशैं, तिहार किन विदाबार

फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर दीपक कोइरालाले यो गीत त्यसै लेखेका होइनन् । दशैं तिहारमा फौजीले घर जान नपाउँदाको पीडालाई उनले शब्दमा उतारेका थिए । २०६२ सालमा लेखिएको यो गीत सुरक्षाकर्मीको प्रिय गीत हो । दशैं सुरु भएसँगै ब्यारेकमा हरेक वर्ष यही गीत घन्किन्छ, गाउँघर, टेलिभिजन र रेडियोमा पनि बज्छ ।

दशैं, तिहारमा फौजीको दुःख र पीडालाई प्रतिबिम्बित गर्ने यो गीत लेख्ने कोइराला भन्छन्, ‘एउटा फौजी २४ सै घन्टामा ड्यूटीमा रहनुपर्छ, सुरक्षाकर्मीले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गरिदिए भने मात्र अरुले ढुक्कसँग चाडपर्व मनाउन पाउने हो, यसैमा हामीलाई खुशी पनि मिल्छ ।’

वर्षदिनमा आउने चाडमा घर जाने रहर कसलाई हुँदैन र १ तर फौजीका लागि यो अवसर विरलै जुर्छ । आमनागरिक चाडपर्वको वातावरणमा झुमिरहेका बेला फौजीलाई खल्लो नलागोस् भनेर ब्यारेकमै रमाइलो गर्ने प्रबन्ध मिलाइएको हुन्छ ।

तेह्रथुमका सिपाही निर्मल खनाल घरमा नगए पनि सामाजिक सञ्जालबाट भिडियो कल गरेर परिवारसँग भर्चुअल भेट गर्ने सुनाउँछन् । भन्छन्, ‘अहिले त इन्टरनेटले सहज भयो, पहिले जस्तो भए फोनमा आवाज सुन्न पनि हम्मेहम्म पर्थ्यो ।’

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्याल भन्छन्, ‘घर जान नपाए पनि चाडपर्वको वेला खल्लो महसुस हुन दिँदैनौं, ब्यारेकमै पारिवारिक वातावरणमा दशैं मनाउँछौं ।’ तर कर्तव्यका लागि अगाडि सधैँ नतमस्तक हुने फौजीको दशैं अधिकांश समय कार्यक्षेत्रको ड्यूटीमै वित्छ ।

हाकिम नै अभिभावक

तेह्रथुमस्थित नेपाली सेनाको सिद्धिदेवी बक्स गुल्म, म्याङ्लुङ ब्यारेकका सिपाही निर्मल खनाल यसपटक दशैंमा घर जान पाएनन् । सात वर्षे सैनिक जीवनमा उनले कतिपय वर्र्ष आलोपालो गरेर विदा पाउँदा परिवारसँग बसेर दशैं मनाउन पाएका छन् । यसपटक चाहिँ आफू ड्यूटीमा बसेर अरुलाई पालो दिनमा परेका छन् ।

‘सेनामा आवश्यकता अनुसार विदा बस्न वार्षिक क्यालेण्डर नै बनाइएको हुन्छ, यसपालि दशैंमा घर जान नपाउने पहिल्यै टुंगो भइसकेको थियो’ उनले अनलाइनखबरसँग सुनाए, ‘आन्तरिक सुरक्षालाई ध्यान दिएर ड्यूटीमा समस्या नहुने गरी विदा मिलाउनुपर्ने भएकाले सधैँ सबैले विदा पाउँदैनन् ।’

त्यसोे त गणमै कार्यालय प्रमुखबाट टीका र जमरा लगाएर दशैं मनाउने उनी बताउँछन् । ‘हाम्रो लागि ब्यारेक नै परिवार र कमाण्डर नै अभिभावक जस्तो हो’ उनी सुनाउँछन्, ‘कोही पनि सैनिकलाई घर परिवारको न्यास्रो नलागोस् भनेर नाँजगान जस्ता सांस्कृति कार्यक्रम पनि गर्छौं ।’

सैनिक प्रवक्ता पौड्यालका अनुसार सामान्यताः कार्यालयको कुल जनशक्तिमध्ये  २० प्रतिशतलाई मात्र घरविदा दिने चलन छ । उनी भन्छन्, ‘जागीरको समय बढ्दै जाँदा धेरैलाई सैनिकको जागिर यस्तै हो भन्ने भइसकेको हुन्छ, त्यसैले धेरै समस्या हुँदैन ।’

सिद्धिदेवी बक्स गुल्मका गुल्मपति विष्णु कार्कीका अनुसार चाडपर्वमा सुरक्षामा अझ बढी चनाखो हुनुपर्ने भएकाले धेरैलाई विदा पठाउन सम्भव हुँदैन । ‘यहीँ हिन्दु धर्म परम्पराअनुसार दशैं मनाउँछौं र मनोरञ्जनका लागि कार्यक्रम पनि गर्छौं’ उनी भन्छन्, ‘यहाँ कसैलाई पनि घरबाट टाढा भएको महसुस नगराउने हाम्रो प्रयास हुन्छ ।’

लमजुङ घर भएका गुल्मपति कार्की आफैं पनि यो वर्ष घर जान पाउने छैनन् । ‘कार्यालय प्रमुख भइसकेपछि विदा बस्न पाइन्न, सबैको अभिभावकत्व लिएर ब्यारेकमै बस्नुपर्छ’ उनी भन्छन् । कार्की गत वर्ष संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि मालीमा थिए, त्यतिवेला मालीमै दशैं मनाए । ‘यसपालिको दशैं ब्यारेकमा सबैसँग बसेर मनाउँदैछु’ उनी भन्छन् ।

सैनिक प्रहरी गण, काठमाडौंकी हुद्दा देवकी लामिछानेले पनि यसवर्षको दशैंमा आलढुंगास्थित घर जान पाइनन् । श्रीमान् पनि सैनिक पेशामै छन्, हाल शान्ति मिसनमा रहेकाले श्रीमान् पनि दशैंमा घर आउने पाउने छैनन् ।

‘छोराछोरीलाई घर पठाइसकेँ, मेरो तिहारमा चाहिँ विदा मिलेको छ’ उनी भन्छिन्, ‘सैनिक पेशाको प्रकृति पनि यही हो, अरुले रमाउने वातावरणको सिर्जना गर्न पनि हामी ड्यूटीमा खटिनुपर्छ ।’ श्रीमान–श्रीमती घरपरिवार साथमा हुँदा नरमाइलो नलाग्ने त होइन । तर उनी भन्छिन्, ‘ब्यारेक पनि घर जस्तै लाग्छ, सबै बसेर रमाइलो गर्छौं ।’

उनका अनुसार सैनिक प्रहरी गणको मन्दिरमा जमरा राखिएको छ, त्यहाँ विधिपूर्वक नियमित पूजा भइरहेको छ । ‘फुलपातीको दिन हुने कार्यक्रममा हाम्रो ड्यूटी थियो, त्यहाँबाट आएर फुलपाती भित्र्याउने कार्यक्रम गर्यौं’ उनले सुनाइन्, ‘ड्यूटीमा जाने आएर प्रसाद खान्छन्, अन्य सबै पुजामा सरिक हुन्छौं ।’ दशमीको दिन कार्यालय प्रमुखबाट टीका थाप्ने लामिछानेले बताइन् ।

ब्यारेकमा लिङ्गे पिङ, प्रविधिले नजिक

शिवपुरीको शमशेर दल गणकी सिपाही कृष्ण सिरीष पनि यो वर्ष दशैंमा घर जान पाइनन् । ‘गत वर्ष घर गएको थिएँ, यसपालि अलिअघि विदा पनि लिनुपर्यो’ उनले भनिन्, ‘त्यसैले यो वर्ष ब्यारेकमै दशैं वित्छ ।’

कार्यस्थलमा पनि परिवारको जस्तै वातावरण भएकाले घर जान नपाउँदा खासै दुःख महसुस नहुने उनी बताउँछिन् । भन्छिन्, ‘ब्यारेकमै बसेर रमाइलो गर्नका लागि पिङ पनि हालेका छौं ।’

शिवपुरी राष्ट्रिय निकुञ्जको सुरक्षा गर्ने जिम्मा लिएको गुल्मका प्रमुख उमेश श्रेष्ठ चाडपर्व नभनी कार्यक्षेत्रमा खटिने सैनिकले अफ्ठ्यारो महसुस गर्नु नपरोस् भनेर मनोरञ्जनका लागि ब्यारेक परिसरमै लिङ्गे पिङ हालिएको बताउँछन् । ‘नाँजगानको कार्यक्रम पनि गर्छौं’ उनी भन्छन् ।

सिपाही सिरीष पेशा नै फरक किसिमको भएकाले परिवारले पनि सधैँ विदाको अपेक्षा नगर्ने बताउँछिन् । ‘घरमा आइदिए हुन्थ्यो भन्ने त भइहाल्छ’ उनले सुनाइन्, ‘तर यसपालि विदा मिलेन, अर्को साल आउँछु भन्दा केही भन्नु भएन ।’

तेह्रथुमका सिपाही खनाल चाहिँ घरमा नगए पनि सामाजिक सञ्जालबाट भिडियो कल गरेर परिवारसँग भर्चुअल भेट गर्ने सुनाउँछन् । भन्छन्, ‘अहिले त इन्टरनेटले सहज भयो, पहिले जस्तो भए फोनमा आवाज सुन्न पनि हम्मेहम्म पर्थ्यो ।’

वैदेशिक रोजगारीमा जाने कयौं नेपालीको दशैं विदेशमा काम गर्दै वित्ने सुनाउँदै खनाल भन्छन्, ‘कम्तिमा हामी त आफ्नै मुलुकमा आफ्नै दाजुभाइसँग छौं भन्ने हुन्छ ।’ सात वर्ष सैनिक पेशमा विताएका उनी समस्या परे ‘एकदिनमै घर पुग्न सक्ने’ अवस्था रहेकाले पनि आफू सन्तुष्ट रहेको बताउँछन् ।

यस्तो हुन्छ सेनाको दशैं

–श्यामलाल कँडेल, हुद्दा पुजारी, समरजित गुल्म, स्याङ्जा 

नवरात्र घटस्थापनासँगै दुर्गाभगवती श्री महाकाली महालक्ष्मी महासरस्वती इष्टदेवता स्वरुप भगवती दुर्गाको घटस्थापनका दिन घट थापेर त्यही दिन जमरा राख्छौं । नवरात्रको सुरु भएसँगै ब्यारेकमा नवकन्याको पुजा गर्छौं । यसरी दशैं प्रारम्भ भएपछि ब्यारेकमा प्रत्येक पुजारी र गुल्मको प्रमुख वा सिनियर कमाण्डरबाट दैनिक पुजा हुने गर्दछ ।

सप्तमीको दिनमा बाहिरको दुर्गा मन्दिरबाट फुलपाती ब्यारेक घरमा भित्र्याइन्छ । र, नवमीको दिनमा पल्टन घर अथवा नेपाली सेनाकै आत्यजगत शक्ति निशान भगवती मातालाई बाहिर मौलोमा अथवा नजिकमा आफ्नो पुजास्थलमा निकालेर पुजा आजा गर्ने गरिन्छ । यो सनातन वैदिक हिन्दु धर्म परम्परा अनुसार हुने गर्दछ ।

दशैंमा विदा जाने विषयमा नवरात्रसँगै बडाभोज पारेर छाड्ने गरिन्छ । तिहारमा जाने टोली अहिले दशैंमा यहीँ बसेको हुन्छन् । जतिले विदा पाउँछन्, उनीहरुलाई काममा असर नपुग्ने गरी मिलाइएको हुन्छ ।

म अहिले कार्यरत समरजीत गुल्म हो, यसमा ११७ जना सैनिक हुन्छन् । त्यसमध्ये थोरै मात्र दशैंमा घर जान पाउँछन् । म चाहिँ पुजारी भएकाले दशैंमा मैले कहिल्यै विदा लिन पाउँदिन । यहीँ पल्टन घरमा मनाउँछु । तिहारमा चाहिँ लक्ष्मी पूजा र गाई पुजापछि मनाउन घर जाने गरेको छु ।



from Online Khabar https://ift.tt/3p5pb7G

Post a Comment

0 Comments