ब्रेकिङ न्युज

6/recent/ticker-posts

एसियन सेन्ट्रल जोन भलिबल : पदक भित्राउने लक्ष्य

५ पुस, काठमाडौं । यसै साता बंगलादेशमा सुरु हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स भलिबल च्यालेन्ज कपमा नेपालको पुरुष टिमले कम्तीमा पनि पदक छुने लक्ष्य राखेको छ । महिला टोलीले भने यसपटक उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ ।

सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो संस्करणको सेन्ट्रल जोनमा तेस्रो हुँदै ऐतिहासिक पदक जितेको पुरुष टोलीले त्यसपछिका दुई संस्करणमा सुखद नतिजा ल्याउन सकेन ।

कोभिड महामारीले गर्दा दुई वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको पुरुष भलिबल टोली यस पटक मेडल भित्राउने लक्ष्यसहित बंगलादेश जाँदैछ ।

बंगलादेश र माल्दिभ्सलाई हराउने लक्ष्य 

मुख्य प्रशिक्षक हान अबिङको नेतृत्वमा करिब एक महिना प्रशिक्षण पश्चात नै नेपालले ठूलो प्रतियोगिता खेल्न लागेको हो । यसअघि पाँचवटै संस्करण खेलेका कप्तान इम राना मगरले दुई टिमलाई हराउन सके मेडल आउने बताए । ‘छोटो समयमा पनि राम्रै तयारी भएको छ । यस पटक टिमहरु थोरै छन् । बलियो टिम भनेका श्रीलंका र उज्वेकिस्तान हुन् । बंगलादेश, माल्दिभ्स र नेपाल उस्तै हुन् । बंगलादेश र माल्दिभ्सलाई हराए हामी एउटा मेडल छुन सक्छौं,’ आइतबार बिदाई कार्यक्रमपछि इमले भने, ‘बाँकी दुई टिम श्रीलंका र उज्वेकिस्तानसँग पहिला पनि खेलेकाले हामी राम्रो फाइट गर्छौं ।’ छोटो समयको तयारीको बाबजुत पनि नेपालले मेडल छुने सम्भावना रहेको कप्तान इमले दोहोर्याए ।

एफआईभिबीको कोचिङ सपोर्ट अन्तर्गत नेदरल्याण्ड्सबाट आएका हान अबिङले नेपाली टिमलाई प्रशिक्षण गराएका थिए । यसअघि सन् २०१९ मा नेपालमै भएको पाँचौ संस्करणमा पनि हान नेपाल आएका थिए । तर त्यसपटक नेपाल पाँचौं हुँदै कुनै मेडल जित्न सकेन ।

कप्तान इमले हान नेपालको लागि नयाँ कोच नभएको बताउँदै यस्ता खालको कोच कम्तीमा एक वर्षका लागि ल्याउनुपर्ने बताए । उनले भने, ‘पहिला पनि आएको कोच हो, नयाँ होइन । यो लेभलको कोच ल्याउँदा भलिबल संघले पनि सोच्नुपर्ने हुन्छ । यो लेभलको कोचलाई थोरैमा पनि एक वर्षको सम्झौता गरेर ल्याए भलिबललाई राम्रो हुन्छ ।’

मान बहादुरको ‘कमब्याक’

यस्तै तीन वर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका मान बहादुर श्रेष्ठले पनि यस पटक मेडल छुने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने बताए । श्रेष्ठले उज्वेकिस्तान बाहेक टिमसँग आफूले खेलिसकेको अनुभव भएकाले धेरै प्रेसर भने नलिएको बताए ।

तर पछिल्लो पटक २०१९ मा नेपाल बंगलादेश र माल्दिभ्सँग हारेकाले पनि मान बहादुर सचेत छन् । १३ औं सागमा नेपाल बंगलादेशसंग त्रिपुरेश्वरस्थित कभर्डहलमै पराजित हुँदा लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहलमा भएको सेन्ट्रल जोनमा माल्दिभ्ससँग पराजित भएको थियो ।

नेपाल भलिबलमा पछिल्लो समय चर्चित रहेका मान बहादुरले दुई वर्ष नेपालमै भएको सेन्ट्रल जोन भलिबल र १३ औं साग खेल्न पाएनन् । विभागीय कारबाहीमा परेर आठौं राष्ट्रिय खेलकुद खेल्न नपाएका उनले राष्ट्रिय टिमबाट दुई प्रतियोगिता गुमाए । १३ औं सागमा बिच भलिबल खेलेका मान बहादुरले पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा एसियन गेम्स खेलेका थिए । तीन वर्षपछि टिममा पुनरागमन गरेका मान बहादुरले आफ्नो पुरानै पोजिसनमा खेल्नका लागि नयाँ खेलाडीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उनले पनि यो कुरा बुझेका छन् । त्यसका लागि मिहिनेत पनि गरेको र आफूले उत्कृष्ट प्रदर्शन दिने उनले बताए ।

दोस्रो पटक नेपाली टिम सम्हालिरहेका प्रशिक्षक हान अबिङले अहिले एक मात्र लक्ष्य बंगलादेशमा सफलता हात पार्नु रहेकाले त्यसमै केन्द्रित हुनुपर्ने बताए ।

नेपालले डिसेम्बर २३ मा उज्वेकिस्तानसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । दोस्रो खेल घरेलु टोेली बंगलादेशसँग डिसेम्बर २४ र तेस्रो खेल माल्दिभ्ससँग डिसेम्बर २५ मा खेल्नेछ । ५ राष्ट्र सहभागी प्रतियोगितामा लिगको अन्तिम खेल नेपालले डिसेम्बर २६ मा श्रीलंकासँग खेल्नेछ ।

लिगपछि शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् भने लिगमा तेस्रो र चौथो हुनेले तेस्रो स्थानका लागि खेल्नेछन् ।

पुरुष भलिबल टोलीसँगै महिला टोली पनि सेन्ट्रल जोन प्रतियोगिता खेल्न बंगलादेश जाँदैछ । डिफेण्डिङ च्याम्पियनसमेत रहेको महिला टोलीले यसपटक उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ ।



from Online Khabar https://ift.tt/3FeJzZ0

Post a Comment

0 Comments