ब्रेकिङ न्युज

6/recent/ticker-posts

मुद्दा दायर गरेपछि संगठित अपराधमा अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गर्दै भन्सार

१८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेपछि बल्ल थप अनुसन्धान प्रहरीले गर्ने भएको छ ।

भन्सारले अनुसन्धान सकेर २६औं दिनमा मंगलबार जिल्ला अदालत, काठमाडौंमा १० जनाविरुद्ध भन्सार ऐन, २०६४ अनुसार मुद्दा दायर गरिएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए ।

भन्सारले यो गिरोहले पटक–पटक गरेर एक अर्ब ४० करोड रुपैयाँ बराबरको १३८ किलो सुन तस्करी गरेको निष्कर्षसहित बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । मुद्दा दायर गरेपछि बल्ल भन्सारले यसमा संगठित अपराधको तत्व पनि देखिएको भन्दै अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गर्ने तयारी गरेको छ ।

प्रमुख भन्सार प्रशासक पाण्डे भन्छन्, ‘भोलि (बुधबार) सीआईबीलाई पत्र लेखेर थप अनुसन्धान गर्न भन्दैछौं ।’

तर, सीआईबीका अनुसन्धान अधिकृतहरुले भने ढिला फाइल प्राप्त हुँदा अनुसन्धानमा कठिनाइ हुने बताउँछन् । ‘विगतमा राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन प्रकरणमा १९ दिनसम्म अनुसन्धान गरेर फाइल बुझाउँदा कतिपय कठिनाइ देखिएका थिए’, ब्यूरोका एक अधिकृतले भने, ‘यसपटक पनि त्यही गल्ती दोहोरिएको छ, संगठित अपराधमा विभिन्न लेयरमा अपराध भएका हुनसक्छन्, यसमा भएको ढिलाइले विभिन्न तहमा पुग्ने बाटो टुट्नसक्छ ।’

चन्द्र घले र उनको साथबाट बरामद भएको १४ किलो सुन

विमानस्थल भन्सारले विशेष सुराकीका आधारमा २१ मंसिरमा मध्यराति यूएईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो । उनको बयानका आधारमा भन्सारले चन्द्रलाई यूएई पठाउने मिनबहादुर घलेलाई पनि समातेको थियो ।

यो मामलामा अनुसन्धानका लागि २२ मंसिरमा भनसारले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुख हेमन्त मल्ल ठकुरी भने अन्तरदेशीय विषय जोडिएको यो मामलामा त्यसबेलै छानबिन समिति गठन हुनु पर्याप्त थिएन ।

‘मैले पहिलो दिनमै भनेको थिएँ, यो विषयमा अनुसन्धान गर्ने हो कि छानबिन गर्ने ? सुन यो यस्तो मामलामा अन्तरदेशीय मात्र नभइ, विभिन्न सरकारी निकायका अधिकारीहरुको संलग्नता पटक–पटक पुष्टि भएको कुरा हो’, मल्लले अनलाइनखबरसँग भने, ‘यसमा संगठित अपराधको भएका सुरुमै अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिनुपर्थ्यो ।’

यद्यपि, सीआईबीकी प्रमुख किरण बज्राचार्य भने भन्सारको टोलीले पनि राम्रो अनुसन्धान गरेको बताउँदै थप छानबिनका लागि पत्र आए अनुसन्धान अघि बढ्ने बताउँछिन् । भन्छिन्, ‘हालसम्म मलाई यो विषयमा कुनै जानकारी छैन । तर, अनुसन्धान गर्न पत्र प्राप्त भए ब्यूरोले थप अनुसन्धान गर्छ ।’

भन्सारले आरोपीहरुको प्राविधिक पक्षको विश्लेषणका लागि भने सीआईबीको सहयोग मागेको थियो । सीआईबीका पूर्वनिर्देशक उत्तमराज सुवेदी संगठित अपराधको अनुसन्धान जति चाँडै गर्न सकियो, त्यति नै नयाँ तथ्य खुल्ने सम्भावना बढी हुन्छ । ‘जति धेरै समय भयो, त्यति लेयरहरु बन्द हुँदै जान्छन्’, उनले भने, ‘त्यसैले यस्ता अपराध अनुसन्धानमा प्रहरीलाई संलग्न गराउन ढिलाइ गर्नु हुँदैन ।’

संगठित अपराध निवारण ऐन, २०७० अनुसार ६० दिनसम्म आरोपीलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ । पक्राउ परेका आरोपीमध्ये घले युवतीहरुलाई वेश्यावृत्तिमा लगाउने कार्यमा समेत संलग्न हुनसक्ने आशंका छ । ‘योसँगै हुण्डी, क्रिप्टो लगायतका विषयमा अनुसन्धान गर्न सीआईबीलाई भन्छौं’ भन्सारका एक अधिकारीले भने ।

विमानस्थलका कर्मचारीको मिलेमतो

भन्सारले गरेको अनुसन्धानका क्रममा यो गिरोहले विमानस्थलभित्र विशिष्ट व्यक्तिका लागि छुट्टयाइएको (कमर्सियल्ली इर्पोन्टेन्ट पर्सन) सीआईपी कक्षको शौचालयमा लुकाएर सुन तस्करी हुने गरेको खुलेको छ ।

सीआईपी कक्ष

पुरुष शौचालयभित्र अपाङ्गमैत्री क्याबिनको भित्रपट्टी पाइप लाइन देखिने गरी ढोका छ । त्यहीँ सुन लुकाएर विमानस्थलका कर्मचारीको मिलेमतोमा सुन बाहिरिने गरेको अनुसन्धानबाट देखिएको छ । पक्राउ परेका चन्द्र घले पनि बयानका क्रममा यो विषयलाई स्वीकारेका छन् ।

यसरी भएको सुन तस्करीमा विमानस्थलमा कार्यरत नागरिक उड्ययन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत् रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको भूमिका खुलेको छ । दुबईबाट सुन पठाउने तयारी नागरिक अंकित अग्रवाललाई भन्सारले फरार प्रतिवादी बनाएको छ ।

सुनका लगानीकर्ता भारतीय नागरिक गुड्डु भन्नेको पनि पूरा विवरण खुलेको छैन । नेपालमा सुन तस्करीको व्यस्थापन गर्ने काम मिनबहादुर, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ र डिबी भनिने दनबहादुर गुरुङले गर्ने गरेको देखिएको छ । राखे/नराखेको जाँच गर्ने जिम्मेवारी विमानस्थलका अर्का कर्मचारी रमेश देउलाले दिएका थिए ।

मिनबहादुर घले

यो गिरोहले शौचालयबाट निकालेको सुन भीआईपी कक्ष हुँदै माथिल्लो तलामा रहेको आपतकालीन ढोका खोलेर बाहिर निकाल्ने गरेका थिए ।

प्रमुख भन्सार प्रशासक पाण्डेका अनुसार, यो ढोका विदेशबाट ल्याइने शव निकाल्न प्रयोग हुने गरेको थियो । तर त्यहाँबाट तस्करीको सुन पास गराउने गरेको पाइएको भन्दै उनले भने, ‘यसमा एसी प्राविधिक अनिल श्रेष्ठले सहयोग गर्ने गरेको देखिन्छ ।’

छानबिन समितिका अनुसार सुन तस्करीमा विमानस्थलका कर्मचारीलाई काममा लगाउने प्रमुख जिम्मेवारी कार्यालय सहयोगी रमेश देउलाले नै गरेको देखिन्छ । झण्डै ७ वर्षअघि अवकाश पाएका उनलाई नागरिक उड्डयन प्राधिकरणले करारमा राखेको थियो ।



from Online Khabar https://ift.tt/awS569C

Post a Comment

0 Comments