ब्रेकिङ न्युज

6/recent/ticker-posts

महाभूल

समाजले उनीहरूको विजातीय प्रेममा बाधा पुर्‍याएपछि रमेश र मीना एकाबिहानै रमिते भीरबाट तल हाम फाले र सीधै माथि मृत्युलोकमा पुगे। हावामा एउटा पन्ना लेखेर उडाए- ‘जात ठूलो–सानो हुँदैन। हाम्रो प्रेम अमर रहोस्!’

मृत्युलोकमा पुगेपछि एक कर्मचारीले उनीहरूलाई एउटा कोठामा लिएर गए। उनीहरूलाई सोफामा बसाएर ठूलो स्क्रिन देखाउँदै भने– ‘यदि तिमीहरूले आत्महत्या नगरेको भए तिमीहरूको लेखान्त कस्तो थियो, हेर !’

त्यो भव्य पर्दामा रमेश र मीनाको चलचित्र सुरु भो।

चलचित्रमा भीरबाट हाम फाल्नलाई ठिक्क परेका उनीहरू त्यतिकै फर्किए। अर्को दिन रमेशले मीनालाई राजधानी भगायो। उनीहरूले मन्दिरमा गएर विवाह गरे। ज्याला-मजदुरी गर्दै पेट पाले। बाउको हुबहु अनुहार लिएर उनीहरूको एक छोरा पनि भयो। छोरा बढ्दै गयो।

जातप्रथाको विरुद्ध लड्ने एक शिक्षित युवा बन्यो। उसले नाम, दाम, इज्जत सबै कमायो। छोरोको पनि विवाह भयो। उनीहरूका दुई फूल जस्ता नातिनीहरू भए। उनीहरू क्रमशः वृद्ध हुँदै गए, सुखी र सन्तुष्ट देखिए।

चलचित्र सकिन नपाई बीचमै मीना ग्वाँग्वाँ रुन थाली। रमेश पनि पिल्पिल रोइरहेको थियो। रमेशले सोध्यो- ‘हजुर, यदि यो हाम्रो लेखान्त थियो भने हाम्रो शीघ्र मृत्यु कसरी भयो त?’

कर्मचारीले भन्यो, ‘विधाताले नियम बदले, जो आफ्नो यति सुन्दर जीवनको कुनै मूल्य नै देख्दैन र जिन्दगी सिध्याउन लागिपर्छ, उसको मृत्यु स्वीकार गरिदिने !’

पछुतोमा चुर्लुम्म डुबेको रमेशले आँसु पुछ्यो र मतर्फ हेर्दै बोल्यो-

‘प्रिय कथाकारज्यू, धर्तीमा हाम्रो सन्देश लगिदिनुस् है ! आत्महत्या महाभूल हो। सबैलाई पूरा जिउनु भन्दिनुस्, पूरा !’



from Online Khabar https://ift.tt/jUKPzBT

Post a Comment

0 Comments