ब्रेकिङ न्युज

6/recent/ticker-posts

राष्ट्रसंघ सुरक्षा परिषद बैठक : गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित

२९ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । सुरक्षा परिषदमा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार रहेको रुसले भने मतदानमा भाग लिएन ।

युद्धविरामको प्रस्ताव अमेरिकाले राखेको थियो । विशाल बहुमतले प्रस्ताव पारित भएपछि अमेरिकी राजदूत लिण्डा थोमस ग्रिनफिल्डले इजरायल र हमास दुवैलाई विनासर्त युद्ध विराम गर्न अपिल गरिन् ।

आठ महिना अघिदेखि इजरायलले गाजा क्षेत्रमा आक्रमण जारी राख्दा त्यहाँ मानवीय संकट उत्पन्न भएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ३१ मेमा युद्धविराम गर्न राखेको प्रस्ताव इजरायलले स्वीकार गरिसकेको छ । तर लागू भएको छैन ।

संयुक्त राष्ट्रसंघका अनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । ती शर्तहरु कतारमार्फत् हमाससमक्ष पुर्‍याइसकिएको छ ।

पहिलो चरणमा बन्धक बनाइएकाहरुलाई रिहा गर्ने र बन्धक भएकै अवस्थामा मृत्यु भएकाहरुको शव फर्काउने उल्लेख छ । इजरायली सेना गाजा क्षेत्रबाट हट्न सुरु गर्ने, युद्धका कारण विस्थापित भएकाहरुलाई आफ्नो घर फर्किन दिने र सुरक्षित रुपमा मानवीय सहायता पुर्‍याउने प्रस्ताव छ ।

दोस्रो चरणमा युद्धको स्थायी अन्त्यको चरण हुने छ । यस चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने प्रस्ताव छ ।

तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम सुरु हुने छ ।



from Online Khabar https://ift.tt/qP37Wdk

Post a Comment

0 Comments