ब्रेकिङ न्युज

6/recent/ticker-posts

डोटीमा रोकिएन असुरक्षित गर्भपतन, ५१ जना २० वर्षमुनिका

५ साउन, डोटी । डोटीको आदर्श गाउँपालिकाकी मन्धरी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अस्पतालमा पुगिन् ।

उनले आफूले गर्भपतन गराउने औषधि सेवन गरेको तर रक्तश्राव नरोकिएको समस्या सुनाइन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निरञ्जन श्रेष्ठले उनलाई चेकजाँच गर्दा उनको शरीरमा होमोग्लोविनको मात्रा धेरै कम भएको पाइयो । ‘उहाँलाई तत्काल रगत दिनु पर्ने भयो । रक्तदाता कोही नपाईएपछि हामी स्वास्थ्यकर्मी आफैले रगत दियौं’ श्रेष्ठले आफ्नो अनुभव सुनाए । उनले महिलाको बच्चा पूर्ण रुपमा नखसेको कारण समस्या भएको बताए ।

उनले औषधि पसलबाट औषधि किनेर खाएकी थिइन् । जब उनलाई समस्या पर्‍यो उनी अस्पताल आइन् । मन्धरी मात्रै हैन यस्ता धेरै महिलाहरु अस्पताल आउने गरेको डा श्रेष्ठ बताउँछन् ।

प्रजनन् उमेरका महिलाहरुलाई उचित चेतना र परामर्श नभएका कारण असुरक्षित गर्भपतन हुने गरेको उनको बुझाइ छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवती महिलाले चाहेमा १२ हप्तासम्मको गर्भ सुरक्षित रुपमा गर्भपन गराउन पाउने व्यवस्था छ । त्यसका लागि डोटी जिल्लामा २१ वटा स्वास्थ्य संस्थाहरू सूचीकृत रहेका र तालिम प्राप्त स्वास्थ्यकर्मीहरू पनि रहेका स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशी बताउँछन् ।

जिल्ला अस्पताल डोटीलाई १२ हप्तासम्मको गर्भ पतन गराउने अधिकार छ भने अन्य स्वास्थ्य संस्थाहरूमा १० हप्तासम्मको गर्भपतन गराउने अधिकार रहेको छ । तर पनि असुरक्षित गर्भपतन रोकिएको छैन ।

‘पहिलेको तुलनामा धेरै सुधार भएको छ, पहिलेको जस्तो परम्परगत हानिकारक अभ्यास गरेर गर्भपतन गराउँदैनन्’ स्वास्थ्य कार्यालय प्रमुख जोशी भन्छन् ‘तर अहिले पनि अवधि लुकाउने, बाहिरबाट औषधि किनेर खाने घटनाहरु छन् ।’  उनले स्वास्थ्यमा जटिल समस्या आएपछि मात्रै स्वास्थ्य संस्था आउने गरेको बताए ।

परिवार नियोजनका स्थायी र अस्थायी साधनहरूको बारेमा समुदायमा नकारात्मक धारणा रहेका कारण पनि असुरक्षित गर्भपतन गराउने गरेको जोशी बताउँछन् । उनी भन्छन्, ‘सुरक्षित यौन सम्पर्क गर्दैनन्, अनिच्छित गर्भ रहन्छ ।’ सुरक्षित गर्भपतन सेवा लिन लाज लागेपछि असुरक्षित उपाय अपनाउने गरेको जोशीले बताए ।

प्रजनन् स्वास्थ्यको बिषयमा महिलाहरूले अहिले पनि खुलेर कुरा गर्न नसकेका कारण यस्तो समस्या आइरहेको बताउँछिन् सुरक्षित गर्भपतन सेवाको क्षेत्रमा काम गरिरहेको संस्था सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक मधु पोखरेल । उनी भन्छिन्, ‘अहिले पनि गाउँतिर परिवार नियोजनका अस्थायी साधनहरूको विषयमा कुरा गर्दा लजाउने, कार्यक्रमबाटै भाग्ने गर्छन् ।’

उनले श्रीमान्लेसमेत महिलाहरूलाई अस्थायी साधनहरूको प्रयोग गर्न नदिएको बताइन् । उनी थप्छिन्, ‘विभिन्न निकायले चेतनामूलक कार्यक्रम सञ्चालन गर्दा बिगतको भन्दा अलि सहज भएका छ ।’

डोटीमा आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ८४३ जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।

जिल्लाका सूचीकृत स्वास्थ्य संस्थाबाट उक्त संख्याले गर्भपतन सेवा लिएको बोहराले बताए । गर्भपतन गराउनेहरूमा ५१ जना २० वर्षमुनिका रहेका समेत बोहराले बताए ।



from Online Khabar https://ift.tt/A2EY3p4

Post a Comment

0 Comments